‘बीपीको जस्तोसुकै व्यस्त समयमा पनि किताब पढ्ने बानी रहेछ’
‘भारतीय स्वतन्त्रता संग्राममा लागेका नेताहरूबाट पढ्ने संस्कार सिक्नुभयो। जेल जीवनलाई कसरी सिर्जनात्मक बनाउने भन्ने कुरा सिक्नुभयो र त्यसलाई आफ्नो बानी बनाउनुभयो।’
बीपी कोइरालाले जेलमा बस्दा लेखेको डायरीमा आधारित भएर नयाँ पुस्तक आएको छ, जेल डायरी। यसअघि प्रकाशित चर्चित पुस्तक जेल जर्नल पनि बीपीको डायरीमै आधारित थियो।
नयाँ प्रकाशित पुस्तकको शंकर तिवारीले सम्पादन गरेका छन्। यो पुस्तकसँगै बीपीको लेखनमा केन्द्रित भएर हिमालखबरको पाक्षिक प्रस्तुति किताबका कुराका लागि जेल डायरीका सम्पादक तिवारीसँग अनिता भेटवालले गरेको कुराकानीः
बीपी कोइरालाले जेलमा बस्दा लेखेको डायरी पुस्तकका रूपमा प्रकाशित भएको छ। त्यसलाई तपाईंले सम्पादन गर्नुभएको छ। डायरी कति महत्त्वपूर्ण हुँदो रहेछ?
डायरी व्यक्तिको निजी चिज हो। धेरै डायरी मानिससँगै हराएर जान्छन्। राजनेताहरूको चाहिं सार्वजनिक वृत्तमा जाओस् भन्ने हुन्छ। विदेशमा पनि धेरै लेखकका डायरी प्रकाशित छन्, ती रोचक पाठ्य सामग्री मानिएका छन्।
डायरी लेखन काँचो लेखन हो। व्यक्तिले कसरी सोच्छ भन्ने बुझ्न डायरीले सघाउँछ। त्यस्तै, ऊ बाँचेको कालखण्ड थाहा पाउन, एकान्तमा सोचेका तथा लेखेका कुराले व्यक्तिलाई चिन्नजान्न अझ महत्त्वपूर्ण हुन्छ।
बीपीको जेल जर्नल र जेल डायरीको स्रोत एउटै भएको उल्लेख गर्नुभएको छ। तर एउटै समयमा दुई डायरी किन र कसरी लेखिए?
बीपीले सन् १९५१ देखि नियमित डायरी लेख्ने गरेको पाइन्छ। जसको आधाभन्दा धेरै अंश प्रकाशित भइसकेका छन्। सन् १९५६ सम्मको छापिएको छ, त्यसयताको बाँकी छ। त्यसपछिको पहिलो खण्ड बीपी कोइरालाले नै गणेशराज शर्मालाई दिएको नेपाली अनुवादको खण्ड छ।
बीपीलाई मेरा डायरी पछि छापिनेछन् भन्ने अनुमान थियो होला। सन् १९६२ मा उहाँले ‘यो डायरी मेरी आमाकहाँ पुर्याइदिए हुन्थ्यो’ भन्नुभएको रहेछ। यसरी बीपीका डायरी एक ठाउँबाट अर्को ठाउँमा सर्दै गए। सुन्दरीजल जेलबाट गौशाला, जयबागेश्वरीको उहाँको डेरामा आयो। त्यसपछि बनारस पुग्यो र फेरि काठमाडौं आइपुग्यो।
उहाँको डायरी बनारसमा बरमानन्द र शैलजा आचार्यले सम्पादन गर्नुभएको अनुमान गर्न सकिन्छ। हामीले यो डायरी भारतको नेहरू संग्रहालयबाट लिएका हौं, जहाँ यो ‘बरमानन्द पेपर्स’ शीर्षक अन्तर्गत संगृहीत थियो। बरमानन्दलाई बीपीले हेर्न दिनुभयो र बरमानन्दले त्यहाँ लगेर दिनुभयो। भारतमा विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिको डायरी नेहरू संग्रहालयमा दिने चलन छ। भोला चटर्जीका डायरी पनि त्यहीं छन्।
बीपीसँग भएका सामग्री यत्रतत्र छरिए। नेपालभित्र जोसँग थियो, तिनले सार्वजनिक गर्न आनाकानी गरिरहेका थिए। प्रदीप गिरिले पनि यो डायरी निकालेको र पदमबहादुरको संयोजनमा नेहरू मेमोरियल म्यूजियम एन्ड लाइब्रेरीबाट ल्याएको डायरी प्रकाशन गर्न १५ वर्षभन्दा धेरै लाग्यो।
बीपीले लेखेको र गणेशराजजीले निकालेको डायरी नेपालीमा छ, यो चाहिं अंग्रेजीमा छ। यसका सामग्री फरक छन्। त्यसैले यी दुई डायरीको तत्त्व भेदन गर्न प्रदीप गिरीलाई पनि समय लाग्यो। मलाई पनि अब ढिलो गर्न हुँदैन भन्ने लाग्यो।
यो डायरी बीपीले अंग्रेजीमा नै लेख्नुभएको हो। तर जेल जर्नल बीपी आफैंले साफी गर्नुभएको हो। बीपीको वास्तविक प्राञ्जल भाषा छ, त्यसमा। बाँकी हामीले त्यसमा र यसमा पनि भाषाको फरक पाउन सक्छौं। यसमा घटनाहरू अझै मसिनो गरी केलाइएका छन्।
जेल जर्नलमा भन्दा जेल डायरीमा पाइने बीपीको छवि अलि पृथक् छ नि, होइन?
जेल जर्नल बीपी आफैंले साफी गरेको भएर त्यसमा भाषाको लालित्य र लयात्मक छ। त्यसमा खुद्रा कुरा छैनन्। त्यसमा गौंथली वा बारुला, माहुरीको घार हटाउँदाको कुरा होस् वा काठमाडौंको प्रकृतिको वर्णनको होस्, सबैको जोड छ।
यसमा शुरूको दुई वर्ष आफूले पढेका टिपनटापन कुरा बढी छन्। त्यसपछि सिंघदरबारको बिलियड हलमा राखिंदा, पाककलाको किताब पढेर बसेका कुरा पनि छन्। उहाँमा पढ्ने शोख र ‘प्यासन’ देखिन्छ।
.jpg)
राम्रो कविता, उपन्यासका लाइन सार्ने गर्नुभएको रहेछ। थोरै छानिएका पुस्तक पढ्ने र हरेकको टिपोट गर्नुहुँदो रहेछ। जेल जर्नलमा उहाँका खुद्रा कुरा पाइँदैनन्, यसमा चाहिं खुद्रा कुरा पनि छन्। यसमा उहाँको मन पर्ने कविता, मन पर्ने साहित्य, कविताको रचनागर्भ, लेखनको रचनागर्भ र सबैको संगठित तत्त्व पाइन्छ। यसमा उहाँको छवि र उहाँलाई थप बुझ्न सकिने कुरा छ।
सभ्यताको कुरा लेखिरहँदा बीपीले राजा महेन्द्रलाई व्यङ्ग्य गरे जस्तो देखिन्छ। ‘तिमीले जुन बिन्दुमा प्रजातन्त्रको हत्या गर्यौ, समाज त्यहींबाट अघि बढ्छ है’ भन्ने उहाँको लेखनको संकेत छ।
जेलमा उहाँले केकति किताब पढ्नुभयो होला?
मैले टिपेको त छु तर गणना गरेको छैन। अर्को, पढेको सबै किताबको उल्लेख डायरीमा नभएको पनि हुन सक्छ। जस्तोसुकै व्यस्त समयमा पनि पढ्ने गर्नुहुन्थ्यो।
जसरी दार्शनिक बर्टेन्ड रसेल पढेकोपढ्यै गर्ने व्यक्ति थिए, बीपी पनि त्यस्तै देखिनुहुन्छ। रसेल पनि रेलको यात्रामा पढेकोपढ्यै गर्ने। ओभरकोटको बाहिरी खल्तीमा पनि किताब, भित्री खल्तीमा पनि किताब हुन्थ्यो। एउटा किताब नसकुन्जेल पढ्यो, अनि केही बेर झकायो। फेरि अर्को पढ्यो।
रसेल जस्तै बीपी पनि जस्तोसुकै व्यस्त समयमा पनि पढ्ने। भारत, नेपाल जहाँ हुँदा पनि अलिकति फुर्सद भयो कि पढ्ने। उहाँ त बाग्लुङ, स्याङ्जा वा पूर्वी पहाड जहाँ जाँदा पनि किताब पढ्नुहुन्थ्यो।
जेलभित्र होस् वा बाहिर, उत्तिकै अध्ययन गर्नुहुन्थ्यो। जेलमा भने कालजयी पुस्तक बढी पढेको पाइन्छ। जेलमा संस्कृत पनि पढ्नुभएको देखिन्छ। दिनमा ५० वटा संस्कृत शब्द सिक्ने उहाँको लक्ष्य थियो। समाजवादको पुस्तक लेख्नुभएन तर समाजवादको निष्कर्षमा पुग्न के पढ्दै हुनुहुन्थ्यो भन्ने जानकारी डायरीमा पाइन्छ।
जेलमा पढ्नलेख्न मात्र व्यस्त भएको पाइन्छ। उहाँको जेल जीवन कठिन देखिंदैन नि, हैन?
बीपी आफैंले जेल बसाइलाई शौखीन बनाउनुभएको हो। बन्दी भएको पहिलो दिन नै सिंहदरबारमा उहाँलाई भेट्न तुलसी गिरी आएछन्। गिरीले सोधेछन्- राजाले पाँच-दश वर्ष जेलमा राखे के गर्नुहुन्छ?
बीपीले भन्नुभएछ- म त आनन्दले बस्छु।
त्यति मात्रै होइन, बीपीले उनलाई ‘जेलबाट निस्किएका दिन हामी नै विकल्प हौं, राजा असफल भइसके’ भन्नुभएको रहेछ। त्यसकारण जेल रहुन्जेल दिमागी हिसाबले ताजा रहनुपर्छ, विश्वव्यापी अवस्था बुझेर जनतालाई के दिने भन्नेमा उहाँको सुझबुझ रहेको पाइन्छ। त्यही भएर गम्भीर अध्ययनमा लाग्नुभएको देखिन्छ।
भारतमा अंग्रेज विरुद्ध ‘भारत छोडो आन्दोलन’ मा सहभागी भएर कारावासमा बस्नुपर्दा नै जेल जीवनबारे थाहा पाउनुभएको थियो। त्यति खेर भारतमा उहाँलाई लगाइएको आरोप ‘आतंकवादी गतिविधिमा संलग्न भएको’ भन्ने थियो। सन् १९४२ अर्थात् १९९९ सालमै बनारसमा जेलमा पर्नुभएको थियो। त्यस वेला उहाँलाई ‘ए क्लास’ को कैदी करार गरिएको थियो। त्यो नै बीपीको जीवनको ‘टर्निङ पोइन्ट’ थियो। यदि ‘बी’ वा ‘सी’ क्लासको कैदी करार गरिएर जेल पठाइएको भए राजनीतिक चेत भएका भारतीय नेताहरूसँगको संसर्गमा आउनुहुन्नथ्यो। त्यहाँ उहाँको सम्पर्क डा. राजेन्द्र प्रसाद, रफी अहमद किदुवाई जस्ता नेताहरूसँग भयो।
भारतीय स्वतन्त्रता संग्राममा लागेका नेताहरूबाट उहाँले पढ्ने संस्कार सिक्नुभयो। जेल जीवनलाई कसरी सिर्जनात्मक बनाउने भन्ने कुरा सिक्नुभयो र त्यसलाई आफ्नो बानी बनाउनुभयो। जेलमा बस्दा बाहिरभन्दा लेखन र अध्ययनको बढी चिन्तन गर्नुभएको देखिन्छ।
.jpg)
बीपीले जेल जीवनलाई लेखपढको अवसरमा परिणत गर्नुभयो?
रूसी उपन्यासकार फ्योदोर दोस्तोएभ्स्कीले जस्तै बीपीले जेलमा बस्दा बाहिरी घन्चमन्चभन्दा पनि आफ्नैबारे ज्यादा सोचेको, लेखपढको संसारमा लागेको जस्तो देखिन्छ। त्यो वेलासम्म नोबेल पुरस्कार पाएका सबै साहित्यकारका कृति पढेको देखिन्छ। अमेरिकी उपन्यासकार पर्ल एस बकको गुड अर्थसँगै ५-६ वटा किताब पढ्नुभएको रहेछ। अमेरिकी लेखक अर्नेस्ट हेमिङ्ग्वेका पनि सबै कृति पढ्नुभएको रहेछ।
बीपी आफू राजनीतिमा पूर्ण रूपमा होमिनुअघि नै एउटा सशक्त कथाकारका रूपमा स्थापित भइसक्नुभएको थियो। जेल परेपछि एकान्तमा रहँदा आफूले आफैंलाई समीक्षा गर्न पाउनुभयो। त्यही भएर बीपीले ‘म दर्शन दिनका लागि साहित्य लेख्छु’ भन्नुभएको छ। त्यही भएर उहाँका हरेक उपन्यासमा अलग अलग दर्शन छ।
बीपीले आफूलाई ‘क्रान्तिकारी होइन, विद्रोही हुँ’ भन्नुभएको पाइन्छ। यसलाई तपाईंं कसरी व्याख्या गर्नुहुन्छ?
म बीपीलाई मध्यमार्गी भन्न रुचाउँछु। त्यो कसरी भने अनशन बसेर मोहनशमशेर जबराको जेलबाट निस्कनुभयो। २९ दिन अनशन बसेर मुक्त भएपछि फेरि महाराजलाई भेट्नुपर्यो भनेर बिन्ती हालेर भेट्न जानुभयो। मोहनशमशेरले अपमान गर्छन् भन्ने त थाहा छ।
भेट्न जाँदा मोहनशमशेरले बीपीलाई भने, “तिमी मेरो गाथगादी ताक्ने। मेरो गद्दी ताक्ने तिमी। पुर्पुरोमा लेखेर आउनुपर्छ।”
बीपीले जवाफ फर्काउनुभयो, “हैन, महाराज जनताका अधिकारहरू दिनुस्। भोट हाल्ने अधिकार दिनुस्। पढ्ने अधिकार दिनुस्। मैले भनेको त्यत्ति हो। बाँकी राजकाज त तपाईं नै चलाउनुस्।”
बीपीले उनलाई त्यसो भनेको आठ-नौ महीनापछि बीपी र उनी सम्मिलित मन्त्रिपरिषद् बन्यो।
यो सन्दर्भ यहाँ किन उल्लेख गर्न चाहेको हुँ भने आफ्नो विरोधी पक्षलाई भेटेर उसको मन पगाल्न सकिन्छ, उसलाई ‘कन्भिन्स’ गर्न सकिन्छ, उसको आत्मा परिवर्तन गर्न सकिन्छ भन्ने विश्वास बीपीमा थियो।
तर उहाँ विद्रोही किन हो भने क्रान्तिकारीले सत्ता परिवर्तनको मात्र कुरा गर्छ, त्यसले ठूलो अस्थिरतामा पुर्याउँछ। विद्रोहीले क्रमिक सुधार र विकासलाई पुट दिन्छ। त्यो परिवर्तन चाहिं दिगो हुन्छ। हामीले जस्तोसुकै ठूलो परिवर्तन र क्रान्ति भयो भने पनि ती सबै क्रान्ति सम्झौतामा गएर टुंगिएका छन्।
जेलमुक्त भएपछि सशस्त्र क्रान्तिको पक्ष लिएको देखिन्छ। पञ्चायतकालमा बीपीको नेतृत्वमा भएको सशस्त्र क्रान्ति असफल भयो। पछि राष्ट्रिय मेलमिलापको नीति लिएर फर्कनुभयो। यसलाई कसरी विश्लेषण गर्नुहुन्छ?
यसको रुचिकर पक्ष के छ भने नेपाली कांग्रेसले तीन पटक हतियार उठायो। एक पटक मात्र सफल भयो। यस सन्दर्भमा प्रदीप गिरिको टिप्पणी मलाई सटीक लाग्छ।
गिरिले भनेका छन्- सुवर्णशमशेर र बीपी सँगै हुँदाको सशस्त्र क्रान्ति मात्र सफल भएको छ, अलग हुँदाको क्रान्ति सफल भएको छैन। २००७ सालमा दुवै जना सँगै हुनुहुन्थ्यो, त्यो क्रान्ति सफल भयो। पछि २०१८ सालमा सुवर्णशमशेरको नेतृत्वमा भएको सशस्त्र क्रान्तिका वेला बीपी जेलमा हुनुहुन्थ्यो, त्यो सफल भएन। पछि बीपीले २०२९/३१ सालमा गर्नुभएको क्रान्तिमा सुवर्णशमशेर हुनुुहुन्नथ्यो, बीपी असफल हुनुभयो।
२०२५ सालतिर बीपी राजासँग वार्ता गर्न चाहनुहुन्थ्यो। बीपी निस्कँदा राजालाई पहिलो हृदयाघात भइसकेको थियो। बीपीले डायरीमा राजा तीन वर्षभन्दा बढी बाँच्दैनन् भनिएको छ भन्ने लेख्नुभएको छ। बीपीले आफ्नो आयु पनि तोक्नुभएको, म पनि अब १५ वर्ष मात्र बाँच्छु होला भन्नुभएको छ।
आफूलाई क्यान्सर लागेको कारण समय थोरै छ भन्ने ज्ञात भएर मैले राम्रोसँग काम गर्नुपर्छ भन्ने चेत बीपीलाई थियो। राजा पनि उपचार गरेर बम्बैमा गएकोे वेला र बीपी पनि उपचार गर्न बम्बै गएको वेला भएको भेटघाटमा राजाबाट राम्रो जवाफ आएन। बीपीले राजालाई धेरै पटक भेट्ने प्रयास गर्दा पनि भेट्न पाउनुभएन।
संवादहीनताको त्यो वातावरण बन्नुमा सूर्यबहादुर थापाको पनि भूमिका छ। किनभने बीपीले राजालाई भेट्ने बित्तिकै राजनीतिक प्रणाली नै फेरिन सक्छ, त्यसो हुँदा मौका पाइरहेका मान्छेले मौका पाउने गुन्जायस रहँदैन। त्यही भएर बीपी र राजाबीच संवाद हुने वातावरण जानाजान बनाइएन भन्ने आरोप सूर्यबहादुर थापा लगायतलाई लाग्ने गरेको छ।
त्यसकारण हतियार उठाउनुको बीपीको कारण ‘राजालाई देखाइदिन्छु’ भन्ने सोच र युवाको जोशलाई सम्बोधन गर्नुपर्ने बाध्यताको कारक हो जस्तो बुझिन्छ। तर त्यो राजनीतिक कदम असफल भयो, अनि आफूलाई तत्कालै सच्याएर राष्ट्रिय मेलमिलापको नीति लिएर फेरि स्वदेश नै फर्कनुभयो।
.jpg)
बीपीले हतियार उठाउन वा क्रान्तिका कार्यक्रम गर्न अलि ढिलो गर्नुभएको हो कि?
त्यो सन्दर्भमा के भन्न सकिन्छ भने बीपी यहाँ हुँदा राजनीतिक क्रियाकलाप र घटनाक्रम चाँडो चाँडो विकास भएका छन्। त्यो हिसाबले हेर्दा त्यहाँ बीपीको कमजोरी रह्यो कि भन्न सकिन्छ तर त्यस वेलाको अन्य विकल्प थियो त भन्ने पनि हेर्नुपर्छ।
अब प्रसंग बदलौं, किताबमा प्राध्यापक कृष्ण खनालले कांग्रेस बीपीको बाटोमा नलागेको टिप्पणी गर्नुभएको छ। बीपीबारे अध्ययन गरेका आधारमा भन्नुपर्दा कस्तो कांग्रेसको परिकल्पना गर्नुभएको थियो जस्तो लाग्छ?
२००७ सालमा गृहमन्त्री हुनुभयो। तर पछि राजीनामा गर्नुभयो। कांग्रेसकै मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा पनि प्रजातन्त्रको मूलभूत सिद्धान्तसँग सम्झौता नगरी सुर्वणशमशेर, सूर्यप्रसाद उपाध्याय, गणेशमान सिंहलाई मन्त्रिपरिषद्बाट राजीनामा गर्न लगाएर राजाका अधिकार बढाउने फाइलहरूलाई सदर गर्ने कार्यबाट विमति जनाउनुभएको थियो। यसर्थ, के देखिन्छ भने सत्ताप्राप्तिको लागि जे पनि गर्ने कुरा नकार्नुभयो।
बीपीले सधैं सत्तामा बस्नेले देशको स्पन्दन बुझ्नुपर्ने कुरा मनन गर्नुभएको देखिन्छ। त्यस्तै, प्रतिपक्षमा बस्दा पनि आफ्नो जिम्मेवारी बुझ्नुभएको देखिन्छ।
बीपीको जस्तो सैद्धान्तिक अडान अहिलेका कांग्रेसीमा छ कि छैन?
छैन। यसलाई कसरी बुझ्नुपर्छ भने राजनीतिका दुई पक्ष हुन्छन्, एउटा दैनन्दिनिक पक्ष र अर्को आदर्श। दैनन्दिनिक पक्षमा व्यावहारिक राजनीतिको कुरा हुन्छ भने आदर्श पक्षमा सिद्धान्त र दीर्घकालीन लक्ष्यको कुरा हुन्छ। बीपीको अधिक समय आदर्श पक्षमा मात्र बित्यो। हो, एकातिर सशस्त्र क्रान्तिको कुरा छ भने अर्कातिर राष्ट्रिय मेलमिलापको कुरा पनि छ। धार परिवर्तन देखिन्छ तर त्यस वेलाको तात्कालिक अवस्था र व्यवस्था अनुसार नै भएको देखिन्छ।
तर अहिले २०४८ सालपछिको कांग्रेसलाई हेर्नुहुन्छ भने सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाउँदा होस् वा जतिखेरै पनि सत्तामुखी मात्र भइरहँदा विचलन देखिन्छ। बीपीलाई पनि आजीवन प्रधानमन्त्री बन्ने अवसर थियो नि। राजा महेन्द्रसँग सम्झौता गरेको भए अवस्था अर्कै हुन्थ्यो।
धरणीधर कोइरालाले ‘राजासँग मिल’ भनेर दार्जीलिङबाट पहिलो चिठी जेलमा पठाउँदा बीपीले ‘आफ्नो कुरामा नबाँधिने, कानूनका अधीन नहुने राजासँग म कसरी मिल्न सक्छु’ भन्नुभयो।
जसरी बीपीले राजा आफूले दिएको संविधान पालना गर्न सक्दैनन् भन्ने मिल्ने ठाउँ रहँदैन भन्नुभयो। राजा कानूनमा बाँधिंदैनन् भने सहकार्यको गुन्जायस रहँदैन भने जस्तै आजका सांसदहरू संविधान निर्माता हुन्, संविधान दिने मानिसले संविधानको पालना गर्नुपर्छ। अहिलेका नेता पनि संविधान निर्माता हुन्। त्यो संविधानको निर्माता नै हरणकर्ता बन्न, प्रधानमन्त्री हुन, लाभको पदमा बस्न जे पनि गर्नु हुँदैन। अहिले संविधानका आभारभूत कुरामा प्रहार गरिराख्नुभएको छ।
बीपीले आफ्नो पालामै कार्यकर्ताहरू अल्छी भएको, अध्ययनमा, चिन्तनमा अग्रसर नभएको टिप्पणी गर्नुभएको रहेछ? अहिले कस्तो छ, कांग्रेस अल्छीहरूकै पार्टी भएको त छैन?
सुवर्णशमशेरलाई लेखिएको एउटा महत्त्वपूर्ण चिठीमा यो कुरा आएको छ। डायरीको अन्तिमतिर पनि यो कुरा लेखिएको छ। भूमिगत र खुला राजनीतिको कार्यशैली बेग्लै हुन्छ। खुला राजनीतिमा शत्रुको सबैभन्दा बलियो पक्षमा प्रहार गर्नुपर्छ भनिन्छ। त्यो भनेको ‘आइडियल फाइट’ आदर्शको कुरा हो। त्यसका लागि आफ्नो विचार स्पष्ट हुनुपर्यो र प्रतिपक्षको विचार पनि बुझ्नुपर्यो। पार्टीमा र कार्यकर्तामा कुन समस्या आउँछ भन्ने बीपीले २०१५ सालमै लेखिसक्नुभएको थियो।
अन्त्यमा, बीपीमा त पठन चिन्तन थियो। पठन स्वभाव नै थियो। त्यस वेलाका अरू नेतामा पनि पढ्ने बानी रहेको देखिन्छ। अब राजनीतिक दल तथा संगठनमा आबद्ध युवालाई कसरी अध्ययनतिर आकर्षित गर्न सकिन्छ?
एउटा प्रसंग याद आयो। सामाजिक सञ्जाल चलाउने एक युवा साथी विद्यार्थी संगठनको अध्यक्षको घरमा जानुभएछ। पूरै घरमा तलमाथि गर्दा एउटा पनि किताब नदेखेपछि ‘त्यस्तो मान्छे कसरी विद्यार्थी नेता हुन्छ’ भन्ने प्रश्न गर्नुभयो। त्यो सुन्दा बढो विस्मित भएको थिएँ।
बीपीको समय भनेको पत्रिका, रेडियोको युग थियो। अहिले सामाजिक सञ्जालको युग छ। यसले मान्छेको अध्ययनलाई न्यून बनाएको छ। अध्ययनको विचलन अन्त पनि आएको हो तर हाम्रो जत्तिको त होइन। अध्ययनको विस्मयकारी गिरावट जुन आएको छ। जुन अध्ययनको संस्कृति हराएको छ, त्यो कहालीलाग्दो छ।
त्यसलाई पार्टीको मूल नेतृत्वले सम्बोधन गर्नुपर्ने हो, त्यो हराएको छ। प्रशिक्षण शिविर चलाएको छ तर नेता आएर ताइ न तुइको भाषण गरेको छ। अब के कुरा गर्नु, कांग्रेसले बुलेटिन निकाल्न बन्द गरेको छ, त्यसमा हुने विचार प्रदान गर्ने सामग्री जान बन्द भयो। एमालेले नवयुग पत्रिका निकाल्न छोडेको छ। माओवादीले २०६२/६३ को आन्दोलनपछि यति धेरै म्यागेजिन निकालेका थिए, सांस्कृतिक फ्रन्टमा, त्यो पनि अत्यन्तै न्यून भएको छ। सत्तामा भएको माओवादीको म्यागेजिन नै छैन, बुलेटिन नै छैन। सत्ता बाहिरका केही वामपन्थी पार्टीको छ। बाँकी रहेका पार्टीले केही पनि चलाइरहेका छैनन्।
हामीले विचारविशेष निकाल्ने प्रयास गरेका थियौं। केही अंक निकाल्यौं। तर निरन्तरता पाएको छैन। तसर्थ के लाग्छ भने पठन संस्कृतिका विकासका लागि पार्टी नेतृत्वले जोड दिनुपर्छ।
(सम्पादन: महेश्वर आचार्य, भाषा: प्रद्युम्न खनाल)
किताबका कुराका थप सामग्री: