‘हजुरआमा पुस्ताले संघर्ष नगरेको भए नातिनी पुस्ताले यत्तिको स्वतन्त्रता पाउँदैनथ्यो’
‘पहिलाका हजुरआमा दुःखसँग भाग्ने होइन, जुध्ने गरेको पाइन्छ। महिला घर, परिवार र समाजका अनेक बाधाअड्चन छिचोलेर आजको अवस्थासम्म पुगेका हुन्।’
अमृता लम्सालको हजुरआमाका कथा पुस्तकले पाठकलाई फरक स्वाद दियो। हजुरआमाका अनुभव समेटिएको यो पुस्तकले लम्साललाई लेखन क्षेत्रमा छुट्टै पहिचान दिलायो।
यो पुस्तकका पात्रहरू लैङ्गिक समानता, वर्गहीन समाज र समावेशी सिद्धान्तको वकालत गर्छन्। उसो त लेखक लम्साल पनि यिनै विषयमा कलम चलाउँदै आएकी छन्।
सन् १९९५ मा बेइजिङमा भएको चौथो विश्व महिला सम्मेलनका लागि नेपालको तयारी समितिमा सदस्य-सचिव भएर काम गरेकी उनी सन् १९९६ मा दर्ता भएको सञ्चारिका समूह नेपालको संस्थापक सचिव हुन्। पुस्तक हजुरआमाका कथासँगै लेखन र समसामयिक विषयमा केन्द्रित भएर हिमालखबरको पाक्षिक प्रस्तुति किताबका कुरामा लेखक लम्सालसँग अनिता भेटवालले गरेको कुराकानीः
कसैको अनुभव लेख्दा सार्वजनिक रूपमा चर्चित व्यक्ति रोजिन्छ। तपाईंले त सार्वजनिक पहिचान नपाएका हजुरआमाका अनुभव नै रोज्नुभयो, किन?
हरेक आमासँग कथा हुन्छ तर त्यो कथालाई कहिल्यै कसैले महत्त्व दिएन। अर्को, सामान्य र असामान्य व्यक्ति भनेर कसरी छुट्याउने? जस्तो, मैले छानेकामध्ये दुई जना हजुरआमा राधादेवी जोशी र रत्ना राई लामिछानेको कुरा गर्दा सामान्य लाग्ला तर उहाँहरूको आफ्नै परिचय छ।
राधा इतिहासविद् सत्यमोहन जोशीकी श्रीमती हुनुहुन्छ। मैले ‘तपाईंको श्रीमान्ले तीन पटक मदन पुरस्कार पाउनुभयो। किन हो थाहा छ?’ भनेर सोधेकी थिएँ। उहाँले ‘खै किन पायो? थाहा छैन। हिमाल चढ्न गयो होला, अनि दियो होला’ भन्नुभयो।
एकातिर, सत्यमोहन जोशीको त्यति ठूलो नाम, अर्कातिर, राधाको अवस्था त्यस्तो थियो। २०१८/१९ सालतिर सत्यमोहनसँगै राधा पनि चीन जानुभयो। त्यति वेला चिनियाँ भाषा पनि सिक्नुभयो। यस बाहेक पनि उहाँका धेरै अनुभव थिए।
रत्ना साहित्यकार शंकर लामिछानेकी श्रीमती हुनुहुन्छ। शंकर लामिछानेकी श्रीमतीबारे नभई रत्नाकै विषयमा लेखेपछि आफ्नै पहिचान दिएको भनेर आज पनि कृतज्ञ हुनुहुन्छ। त्यसैले जानेर वा नजानेरै कसैलाई पहिचान दिन सकिएछ भन्ने लाग्छ।
यस्तै, बन्दीपुरकी देवकुमारीको पनि कथा बेग्लै छ। बन्दीपुरको इतिहासको कुरा गर्नुभएको छ। खासमा यस्ता कुरा महिलालाई सोधिंदैन।
माओवादी द्वन्द्वका कारण बन्दीपुर छोडेर काठमाडौंमा बस्नुपर्यो। एक दिन काठमाडौंमा छोराको घरबाट बिहानै उठेर हिंड्नुभएछ। घर फर्किनुभएन, त्यसपछि परिवारले पत्तो नै पाएन। त्यस्ती महिलासँग पनि कुरा गरें। किताब निस्किएपछि उहाँकी नातिनी रोशनी अधिकारी हजुरआमाको पुस्तक आयो भनेर खुशी हुनुभयो।
यो पुस्तक त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र संकायको पहिलो सेमेस्टरमा पढाइ हुन्छ। समाज अध्ययनमा महिलाको भूमिका कस्तो हुँदो रहेछ? त्यो कति आवश्यक हो? यसले प्रमाणित गरेको छ।
हजुरआमाका कुराकानी लेखिरहँदा त्यस वेलाको समाज कस्तो पाउनुभयो?
महिलाहरू घर बाहिर निस्कनै हुँदैन भन्ने थियो। तर त्यस वेलाका महिलाले ‘पढ्न पाए कति कुरा गर्थें’ भन्ने सोचेको देखिन्छ।
महिलामाथिको हिंसा पनि धेरै थियो। छोराको बालविवाह गर्न खोज्दा रत्नादेवी तुलाधरले ससुरासँग विद्रोह गर्नुभएछ। त्यसपछि बाँचुन्जेल ससुरा बोल्नुभएन रे। त्यो मानसिक यातना थियो। हरेक दिन बिहान उठेर ससुरालाई ढोग्नैपर्ने हुन्थ्यो तर एक्लै जान डर लागेपछि सबै बुहारी मिलेर जानुहुन्थ्यो रे।
महिलाले परिवारका सदस्यको कुटपिट सहनुपर्थ्यो। एक जना हजुरआमालाई नौ वर्षमा विवाह गरेर ल्याए। राति नव-दुलहादुलही खाटमा सुतेछन्। भुइँमा जेठी श्रीमती सुतिन्। अर्को बिहान उठेर जेठी श्रीमतीले आफ्नी सौताको कल्ली बजेर सुत्न नपाएको ससुरासँग गुनासो गरिछन्। त्यसपछि ससुराले मचानमा सुत्न पठाएछन्।
फेरि कामको चटारो पनि उस्तै हुन्थ्यो। त्यति वेला थाल हुन्थे तर कचौरा हुँदैनथे। छोरा मान्छेको थालमै तरकारी नहाल्न चलन थियो। त्यसैले हजुरआमाहरू रातभरि दुना बनाएर बस्नुहुन्थ्यो रे!
जस्तो- इन्द्रमाया पौडेललाई गीता पाठ गरेकै आरोपमा गाउँनिकाला गर्न खोजिएको थियो। यति हुँदा पनि कसरी त्यही घर र समाजमा बस्नुहुन्थ्यो होला?
इन्द्रमाया पौडेलको कथा त्यति मात्र होइन, धेरै संघर्ष गर्नुभएको छ। पढ्ने भोक थियो। पढ्छु भन्दा गाउँबाटै निकाल्ने धम्की आयो। तर पढ्न छोड्नुभएन।
दोस्रो विश्वयुद्धको समयमा बंकरमा बस्नुभयो। ४५ वर्षको उमेरमा बर्मा छोडेर आउँदा बाटामै श्रीमान् बित्नुभएछ। एक वर्ष बाटोमै बसेर नेपाल आउनुभयो। त्यस्तो संघर्ष गर्नुभएको थियो।
पहिलाका हजुरआमा दुःखसँग भाग्ने होइन, जुध्ने गरेको पाइन्छ। महिला घर, परिवार र समाजका अनेक बाधाअड्चन छिचोलेर आजको अवस्थासम्म पुगेका हुन्। अहिले नारीवादको वकालत गर्ने युवा पुस्ता सबै आफूले परिवर्तन ल्याए जस्तो ठान्छ। तर त्यो हजुरआमा पुस्ताले बनाएको गोरेटो हो। हजुरआमा पुस्ता त्यो बाटो नहिंडेको भए आज महिलाले यत्तिको स्वतन्त्रता पाउँदैनथे।
हजुरआमा पुस्तामा लेखपढको भोक देखिन्छ। पुस्तकमा पनि धेरै पटक ‘पढ्न पाएको भए’ भन्ने छुटाउनुभएको छैन। त्यो निषेधबीच पनि हजुरआमाहरूले कसरी पढ्ने गर्नुभएको थियो?
केही हजुरआमाले खरानीले लेखेर, आफ्ना दाजुभाइले पढेको सुनेर लेखपढ गर्न सिक्नुभएको थियो। कति हजुरआमाले त आफ्नो पढ्ने भोक श्रीमान्ले भए पनि पढेर पूरा गरिदिऊन् भन्ने चाहनुहुन्थ्यो। एक जना हजुरआमाले आफ्ना श्रीमान् संस्कृत मात्र पढ्ने भएकाले अंग्रेजी पनि जानून् भन्ने इच्छा राख्नुभएछ। तर श्रीमान्ले अंग्रेजी पढ्नै खोज्नुभएनछ।
एक दिन कागजमा किरिङमिरिङ गरेर तकियामुनि राखिदिनुभएछ। श्रीमान्ले हेर्दा केही बुझ्नुभएनछ। अनि गुरुलाई सोध्नुभएछ। गुरुले केरमेट मात्र गरेको हो भन्नुभएछ। त्यसपछि घरमा श्रीमतीलाई सोध्नुभएछ, “यसमा केही लेखिएको रहेनछ, किन केही लेखेको छ भनेको?”
हजुरआमाले भन्नुभएछ, “हो, त्यही जान्न अंग्रेजी पढ्नुस् भनेकी हुँ।” त्यसपछि अंग्रेजी पढ्नुभएको रहेछ। पछि ती हजुरआमाका श्रीमान् नेपाल सरकारको सचिवसम्म पुग्नुभएछ।
अर्को, प्रसङ्ग जोडौं। जस्तो- शान्ति ठटालले दार्जीलिङमा गीत गाउन पाउनुभयो। रजिया बेगमको राम्रो स्वर थियो र गायिका बन्ने सपना पनि थियो तर नेपालमा गीत गाउन पाउनुभएन। त्यस वेला नेपाल र दार्जीलिङमा यति धेरै सामाजिक असमानता थियो?
हो, असमानता रहेछ। दार्जीलिङको मात्र होइन, बर्माको मान्छेले पनि पढ्न पाएका रहेछन्। तर नेपालमा पढ्न पाइँदैनथ्यो। शान्ति ठटालले आफूले चाहेको कुरा गर्न पाउनुभयो। राम्रो ठाउँमा सङ्गीत सिक्न पाउनुभयो। तर रजिया बेगमको जीवनमा त्यो अवसर भएन।
अर्को, श्रीमान्ले अर्की श्रीमती लिएर हिंडेपछि रजिया बेगमको सम्बन्धविच्छेद भएछ। त्यसपछि छोराले पाँच मोहर माग्न दिनभरि श्रीमान्को पसलमा ढुकेर बस्नुपर्थ्यो। त्यति हुँदा पनि श्रीमान् विरुद्ध आवाज उठाउने स्थिति थिएन। जीवनभर श्रीमान् कुरेर बस्नुभयो। केही गर्न पाउनुभएन।
राजा त्रिभुवनले सङ्गीत सिकाउने ‘अफर’ गरेका पनि थिए। तर स्विकार्न सक्नुभएन। त्यति वेला श्रीमान्को साथ गुमाउँदा अरू धेरै कुरा गुमाउनुपर्नेे समाज थियो।
यसरी दार्जीलिङ र नेपाली समाजमा धेरै फरक हुनुमा शिक्षा नै कारण हो। त्यति वेला भारतमा आएर ब्रिटिशले गरेको ठूलो काम शिक्षाको व्यवस्था हो। यातायातको पनि व्यवस्था भयो। सञ्चारको पहुँच भयो। जसले गर्दा धेरै अवसर सिर्जना भए।
त्यसैले त शान्ति ठटालका बुबाले छोरीहरूलाई बनारसमा राखेर पढाउनुभयो। तर नेपालमा त्यस्तो भएन।
हजुरआमा पुस्ताबाट नातिनी पुस्तासम्म आइपुग्दा अहिलेको नेपाली समाजको चरित्र कस्तो देखिन्छ?
अहिले महिला धेरै ‘भोकल’ भएका छन्। हामीभन्दा पनि पछिल्लो पुस्ता अझ ‘भोकल’ आइसक्यो।
म पनि त्यस्तो धेरै पढ्न पाएको मान्छे होइन। तैपनि हाम्रो पुस्ताका महिलाले पढ्न पाए। तर पढाइले मात्र नहुने रहेछ। पढाइसँगै चेतना पनि हुनुपर्छ। घरभित्रै बसेको मान्छे र घर बाहिर निस्किएको मान्छेमा फरक हुन्छ। घर बाहिर निस्किएको मान्छे नै व्यावहारिक हुन्छ।
महिलाका विषयमा समाज अझै उदार बन्न सकेको छैन। पहिला पँधेरोमा हुने गफ अहिले सामाजिक सञ्जालमा हुन्छ। महिलाले केही बोल्दा गाली र अपशब्दको चाङ लाग्छ। यसबाट पनि महिलाप्रति समाजको धारणा अझै नराम्रो छ भन्ने बुझिन्छ।
केही परिवर्तन पनि आएको छ। अलिकति हिम्मतिलो भएर केही गर्छु भन्दा परिवारले साथ नदिए पनि बाहिरबाट सहयोग हुने वातावरण छ। त्यसैले अहिलेको समाज त्यति धेरै उदार पनि भएको छैन र विगतको तुलनामा केही नभएको पनि हैन।
अहिले महिला अघि त बढेका छन् तर घरको भान्साले छाडेको छैन। बाहिर पनि उस्तै प्रतिस्पर्धी हुनुपर्ने भएकाले झन् परिश्रम गर्नुपर्छ। अहिले दोहोरो काम भयो, पहिला बरु एकतर्फी घरकै काम हुन्थ्यो भन्ने पनि सुनिन्छ नि?
त्यो चलन नै ठीक थियो भन्दिनँ। अहिले धेरै युवती हार्वर्ड लगायत विश्वका राम्रो विश्वविद्यालयमा पढ्न गएका छन्। अझ काम गरिरहेका छन्। आफूले कमाएको पैसा आफ्ना लागि खर्च गर्न पाएका छन्।
नेपाल राष्ट्र ब्यांंकमा काम गर्दा पाएको पहिलो तलबको खुशी आज पनि बिर्सन सक्दिनँ। त्यसले मलाई बलियो बनाएको थियो।
अर्को, पहिला ३५ वर्ष नपुगेका महिलाले राहदानी पनि बनाउँदा श्रीमान्, बुबा, दाजु वा आफूभन्दा कान्छो भाइ भएको भए पनि अनुमति लिनुपर्थ्यो। त्यो जमाना त ठीक छँदै थिएन।
अहिले घरभित्र र बाहिरको कामको बोझले यस्तो धारणा बन्न पुगेको पो हो कि?
हजुरआमा पुस्ताको पालामा जस्तो कामको बोझ अहिले छैन। हिजो दिनभर लुगा धुने, ढुङ्ग्रो फुकेर खाना पकाउनुपर्ने जस्तो काम आज वाशिङ मशिन, इन्डक्शन चुलोले सजिलो भएको छ। तुलनात्मक रूपमा सुविधा धेरै छन्। त्यसलाई हामीले कसरी लिने भन्ने कुरा पनि हो।
यही सन्दर्भमा आजका महिलालाई घरभित्र र बाहिरको कामको बोझ कम गर्न पुरुषले कसरी सहयोग गर्न सक्छन्?
पहिलो, घरमा कामको बाँडफाँड हुनैपर्छ। पुरुषले कम्तीमा आफ्नो काम आफैं गरिदिए पनि महिलालाई आधा काम कम हुन्छ। घरमा पुरुषले मोजा, जुत्ता र लुगा कहाँ छ मात्र नभन्दा पनि महिलाको आधा काम कम हुन्छ।
यति कुरा पुरुषले नबुझेको पनि होइन। बुझ्दाबुझ्दै पनि महिलालाई गराउन लगाउँछन्। किनकि समाज जसरी चल्दै आयो, त्यसरी नै चलिरहोस् भन्ने ठानियो।
पुरुषले बच्चा हुर्काउनेदेखि घरको ससाना काममा मात्र सघाउने हो भने पनि महिलालाई धेरै बोझ हुँदैन। म त बुबाले घरमा सबै काम गरेको देखेर हुर्केकी थिएँ। विवाह भएर जाँदा ठीक उल्टो पाएपछि छक्क परें। त्यो ‘ग्याप’ मिलाउन गाह्रो हुँदो रहेछ।
फेरि लेखनमै फर्कौं। नेपाली साहित्यमा महिला पात्रको प्रस्तुतिमा पहिला र अहिले केही फरक पाउनुहुन्छ?
लेखनमा पहिला पुरुष हावी थिए। पुरुष पात्र मात्र ठीक भनेर देखाइन्थ्यो। तर अहिले महिला पनि लेखनमा आइरहेका छन्। उनीहरूले महिला पात्रलाई बलियो रूपमा प्रस्तुत गरेको पाइन्छ। जस्तो- परित्यक्ता, डुमेरो, कारा, छोरीले जन्माएका आमाहरू, कुमारी प्रश्नहरू लगायत पुस्तक प्रकाशित छन्। जसमा महिला पात्र बलिया छन्।
चित्रा बेनर्जीले लेखेको पुस्तक छ- द प्यालेस अफ इलुजन। यसमा द्रौपदीलाई बलियो पात्रका रूपमा प्रस्तुत गरिएको छ। हामीले त जहिल्यै दुःशासनले नङ्ग्याएको र कपाल तानेको मात्र पात्रका रूपमा देख्यौं र पढ्यौं। चित्रा बेनर्जीले फरक ढङ्गले लेख्नुभएको छ। त्यो किताब पढ्दा महिलाका गुणबारे थाहा भयो।
समकालीन पुरुष लेखकहरूले महिला पात्रलाई कसरी प्रस्तुत गरेका छन्?
अहिले पनि महिला पात्रलाई एकातिर आँसु देखाएर कठै भन्ने पात्र बनाउने र अर्कातिर, यौनको वस्तु बनाउने गरिएको छ। पुस्तक पढ्दापढ्दै ‘ह्या, के लेखेको होला’ भन्ने जस्तो लाग्छ। त्यस्तै किताबले पुरस्कार पाउँदा भने मन खिन्न हुन्छ।
नयाँ आइरहेका पुरुष लेखकमा केही सुधार देखिन्छ। पहिलाभन्दा अलिक फराकिलो सोचले महिला पात्रलाई केही सशक्त देखाउन थालेका छन्। जस्तो- नवीन विभासको पुस्तकमा महिला पात्रलाई बलियो गरी उभ्याइएको छ।
खुशीको कुरा, अहिले जुन महिला लेखक आएका छन्, उनीहरूले महिला सौन्दर्य, आँसु र यौनको वस्तु बाहेक पनि महिला पात्रलाई सशक्त बनाएका छन्। त्यसलाई लेखनमा फड्को मान्नुपर्छ।
आज पनि महिलामाथि हिंसा भइरहेको छ। महिलामाथि हुने हिंसाका घटना र त्यसपछिको अवस्थामा केही फरक आएको देखिन्छ कि?
महिलामाथि हिंसाका घटना पहिले पनि हुन्थे, अहिले पनि भइरहेका छन्। पहिला महिलाको कुमारित्व सामाजिक प्रतिष्ठा बनाइएको थियो। त्यसैले जे पनि लुकाएर राखिन्थ्यो। तर त्यो भ्रम आज तोडिएको छ। महिलाको इज्जत भनेको उसको कुमारित्व होइन।
अझै पनि मान्छेले बुझ्न नसकेको कुरा, महिलाको मात्रै चरित्र हत्या गरिन्छ। त्यहाँ पुरुष पनि छ भन्ने बुझ्नुपर्छ। महिलालाई यौनवस्तु बनाएर दुरुपयोग गर्दा जहिल्यै पुरुष जोडिन्छ। तर त्यो पाटो कहिल्यै आउँदैन।
अहिले पनि बलात्कारमा पुरुषको नाम आउँदा त्यो राष्ट्रको गहना र कलाकार भन्ने गरिन्छ। त्यस्तो भनेर महिलालाई सधैं दाउमा राखिएको छ। सँगै किन हिंडिन् भनेर प्रश्न गरिन्छ। पुरुषसँग हिंड्नासाथ बलात्कार नै गर्नुपर्ने हो? यस्तो भन्नेहरूको शिक्षा र चेतना हजुरआमा पुस्ताका पुरुषको जस्तै लाग्छ।
प्रविधिका कारण हिंसाका घटनामा पनि फरक आएको छ। सामाजिक सञ्जालमा महिलालाई झनै प्रहार गरिन्छ, अनेक थरी आरोप लगाइन्छ। उहिले महिला चूपचाप सहन्थे, अहिले प्रतिरोध गर्छन्, आफ्नो वकालत गर्न सक्षम पनि छन्।
महिला हिंसा र बलात्कारका घटना कसरी रोक्न सकिएला?
आदिकालदेखि नै महिलालाई वस्तु मात्र बनाइयो। पहिला पनि राजाहरूले नगरवधू बनाएर राख्थे। त्यो मानसिकताले बनेको समाज अहिले पनि महिलाप्रति सकारात्मक देखिंदैन। महिलालाई हेर्ने दृष्टिकोण पूर्ण रूपमा परिवर्तन भए जस्तो लाग्दैन।
जुन देशमा वैवाहिक बलात्कारको कानून छ। श्रीमान्ले श्रीमतीसँग जबर्जस्ती यौनसम्बन्ध राख्न पाउँदैन। त्यस्तो देशमा जबर्जस्ती गर्यो भनेर कुनै युवतीले उजुरी दिंदा उसैलाई पिरोलिन्छ। प्रहरीले जाहेरी लिन मान्दैन। लिइहाले पनि पीडकले पैसामा मिलाउन दबाब दिन्छन्।
के बलात्कार भएको भनेर प्रमाण दिन महिलाको ज्यानै जानुपर्ने हो? पाँच वर्षअघि कञ्चनपुरकी निर्मलाको बलात्कारपछि हत्या भयो। राज्य नै उर्लिएर लाग्यो। तर खै त न्याय? त्यसैले राज्यले कानूनको मात्र पालन गरे पनि छोरीहरू धेरै सुरक्षित हुन्छन्। कानूनी राज्यको पालन मात्र भए पनि यस्ता धेरै घटना रोकिन सक्छन्।
यस्ता विषयमा बोल्दा नारीवादको कुरा पनि आउँछ। तपाईंको बुझाइमा नारीवाद वा महिलावाद भनेको के हो?
लैङ्गिक आधारमा विभेद नहोस् भन्नु नै नारीवाद हो। नारीवादी भन्दैमा पुरुषलाई घृणा गर्ने भन्ने पनि होइन। यत्ति हो, लैङ्गिकताका आधारमा विभेद हुनु भएन। काममा बराबरी हुनुपर्छ, राजनीतिक, आर्थिक, सामाजिक अधिकार समान हुनुपर्छ भन्ने हो।
पछिल्लो समय केही परिवर्तन आएको पनि देखिन्छ। छलफलमा पनि महिलाको उपस्थिति र स्थान मनासिब ठानिन थालिएको छ।
यो एकाएक भएको त होइन। यतिका लागि पनि लामो संघर्ष गरिएको छ, होइन?
नेपालमा महिला समानताको कुरा योगमायाको पालामै उठेको हो। योगमायाले ‘सर्व धर्म हिताय नमः’ भनेर कसैप्रति अत्याचार नहोस् भन्नुभयो।
पछि दिव्या कोइरालाहरूले लिखित रूपमै उठाउनुभयो। बिस्तारै चन्द्रकान्त मल्लहरूले शिक्षाको माग गर्नुभयो। प्रजातान्त्रिक आन्दोलनका मीटिङमा महिलाको पनि उपस्थिति हुन थाल्यो। रेवन्तकुमारी आचार्य, शान्ता श्रेष्ठ, स्नेहलता श्रेष्ठ, मंगलादेवीहरू सबै अघि बढ्नुभयो। महिला संगठन खोल्नुभयो।
महिलाको पढ्ने र भोट हाल्न पाउने अधिकारका लागि सहना प्रधानहरूले आन्दोलन गर्नुभयो। यसरी बिस्तारै केही प्रगति भएको देखिन्छ।
पञ्चायतकालमा पनि महिला संगठन थियो। त्यही बीचमा केकस्तो भयो भन्ने स्पष्ट इतिहास भेटिंदैन।
पत्रकार मञ्जुला गिरीले राससमा ६ वर्ष काम गर्नुभयो। त्यो वेला इन्दिरा गान्धीको अन्तर्वार्ता लिनुभयो। पीएचडी गरेको मान्छे अहिले पनि सिरहाको गाउँमा एफएम चलाएर बस्नुभएको छ। उहाँ कांग्रेस नेता स्वर्गीय प्रदीप गिरीकी बहिनी हुनुहुन्छ। त्यति वेलै उहाँले महिलाको हकअधिकारबारे कुरा उठाउनुभएको थियो।
योगमायादेखि अहिलेसम्म हेर्दा प्रजातन्त्र आएपछि नै महिला अधिकारका विषयमा बोल्न थालिएको देखिन्छ। कांग्रेस र कम्युनिस्ट पार्टी खुलेपछि महिलाले आफ्नो अधिकारका लागि लड्न थालेका हुन्।
लामो समयदेखि महिला लड्दै त आएका छन् तर अहिलेसम्म विभेद अन्त्य र समान अधिकार प्राप्त किन हुन सकेन?
तीतो सुनिएला तर शुरूदेखि नै महिलाहरू पनि छुट्टिए। एकजुट भएर आफ्ना मुद्दालाई स्थापित गर्न सकेनन्। जस्तो- महिला संघ र महिला संगठन फुट्यो। २०४६ सालतिर सबै पार्टीमा आबद्ध महिला जुमुराए। फेरि बिस्तारै फाटो आयो। पार्टीगत विभाजनले पनि महिलाको विषय एक स्वरमा आउन सकेन।
अहिले बलात्कार र महिला हिंसाका घटनामा सबै राजनीतिक दलमा आबद्ध महिला एक ठाउँमा आउन सकिराखेका छैनन्। समस्या यही हो।
अब पुस्तकमै फर्कौं। हजुरआमाका कथा लखेको चार वर्ष भइसक्यो। फर्केर हेर्दा कस्तो लाग्छ?
पुस्तक निकाल्छु भन्ने सोचेकी थिइनँ। धेरैले ‘यस्तो पुस्तक पनि निकाल्ने हो र!’ भन्ने प्रतिक्रिया दिए। तैपनि हजुरआमा पुस्ताको संघर्ष लेखें। त्यति वेलाको समाजको प्रतिनिधित्व गर्ने महिलालाई पहिचान दिन सकेकोमा सन्तुष्टि लाग्छ।
अन्त्यमा, आगामी योजना के छ, अर्को पुस्तक कहिले पढ्न पाइन्छ?
मेरो अर्को पुस्तक ‘महिला, मिडिया र म’ आउँदै छ। पुस्तकको सबै काम पूरा भइसकेको छ। यसमा महिला आन्दोलन, मिडिया र माओवादी आन्दोलनमा गरेको रिपोर्टिङको अनुभव समेटिएको छ। २०५५ सालमा रोल्पा, गोर्खा र रुकुम तथा २०५७ सालमा रोल्पा, रुकुम, जाजरकोट पुगेर रिपोर्टिङ गरेकी थिएँ। त्यो रिपोर्टिङको अनुभव लगायत विषय पुस्तकमा छन्।
(सम्पादन: बच्चु विक, भाषा: प्रद्युम्न खनाल)
किताबका कुराका थप सामग्री: