‘बुद्ध जातिवाद विरोधी थिए, समान आर्थिक अधिकार हुनुपर्छ भन्ने मान्यता राख्थे’
‘गृहस्थ जीवनमा बस्न उनलाई असजिलो लाग्यो, गृहस्थ जीवन दुःखको घर र सन्न्यासी जीवन पन्छीका लागि स्वतन्त्र आकाश जस्तै लागेर सिद्धार्थले गृहत्याग गरेका हुन्।’
आध्यात्मिक सामग्रीको पठनमा चाख राख्ने पूर्व ब्यांकर हुन्, उमाकान्त पौड्याल। ब्यांकिङ क्षेत्रबाट अवकाश पाएपछि ५२ वर्षको उमेरमा ज्ञानको तिर्खा मेट्न लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्नातकोत्तर पढे। अध्ययनका क्रममा गौतम बुद्ध र बौद्ध धर्मदर्शनबारे नेपाली भाषाका पुस्तकको अभाव देखे।
त्यसै क्रममा आफैं कस्सिएर तीन वर्षको प्रयासमा उनले लेखेको पुस्तक हो, बुद्धकालीन समाज (पाली त्रिपिटकको साक्ष्यमा)। यसै पुस्तकको सन्दर्भमा हिमालखबरको पाक्षिक प्रस्तुति किताबका कुरामा लेखक पौड्यालसँग सागर बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंशः
तपाईं त ब्यांकिङ क्षेत्रको मान्छे, बुद्धको बारेमा किताब लेख्न कसरी रुचि जाग्यो?
मलाई पहिल्यैदेखि आध्यात्मिक विषयप्रति झुकाव थियो। हिन्दू धर्मग्रन्थहरू पढ्थें। गौतम बुद्धको विषयमा केही लेखरचना पढेपछि यस विषयमा पनि मलाई चासो बढ्दै गयो। त्यसपछि बुद्धबारे लेखिएका किताबहरू खोजीखोजी पढ्न थालें। धेरै किताब पाली भाषामा हुन्थे। त्यसमा मेरो ज्ञान नभएकाले हिन्दी र अंग्रेजी भाषामा लेखिएका किताब पढें।
किताब पढ्दै जाँदा बौद्ध धर्मदर्शनको विषयमा औपचारिक अध्ययन नै गर्न मन लाग्यो। लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्नातकोत्तर पढ्न भर्ना भएँ। त्यति वेला म ५२ वर्षको थिएँ।
बुद्धका विषयमा व्याख्या विश्लेषण गरेर नेपाली भाषामा लेखिएका किताब कमै पाइन्छन्। एक चोटि म किताब किन्न भारतको बनारस गएँ। त्यहाँ पुगेर एक सहपाठीलाई ‘तपाईंलाई केही किताब चाहिन्छ कि’ भनेर सोधें। उहाँले ‘नेपाली भाषामा लेखिएका किताब पाइन्छ कि पाइँदैन’ भनेर सोध्नुभयो। अंग्रेजी र हिन्दी भाषाका मात्र पाइन्छन् भन्दा उहाँले ‘म यी दुवै बुझ्दिनँ’ भन्नुभयो। त्यो कुराले मलाई खिन्न बनायो।
विश्वविद्यालयमा आएपछि मैले त्यहाँका प्राध्यापकहरूलाई बुद्धका बारेमा व्याख्या विश्लेषण गरेर किताब लेख्न/लेखाउन आग्रह गरें। उहाँहरूले कुरा सुन्नुभयो, तर त्यसका लागि पहल गर्नुभएन। त्यसपछि म आफैं अघि सरेर यो किताब लेखेको हुँ।
किताबको भूमिकामा तपाईंले बुद्धको जन्मको विषयमा हङकङको व्यापारीसँग विवाद भएको उल्लेख गर्नुभएको छ। त्यस घटनालाई पनि यो किताब जन्मनुको कारक मान्नुहुन्छ?
विपश्यना ध्यान गर्न कहिलेकाहीं म विभिन्न शिविरमा जान्थें। त्यसै क्रममा एक पल्ट बिहारको बोधगयामा रहेको धम्म बोधि शिविरमा गएको थिएँ। त्यहाँ आएका एक व्यापारीले गौतम बुद्ध अर्कै देशमा जन्मेको भनेर पढेका रहेछन्। बुद्ध नेपालमा जन्मेको भन्दा उनले पत्याएनन्। बुद्धबारे जानकार भएकाले मैले उनलाई पछि कुरा त बुझाएँ, तर त्यस घटनाले बुद्धबारे मानिसहरूमा भ्रम रहेछ भन्ने महसूस भयो। बुद्धबारे आममान्छेले बुझ्ने गरी लेख्न उक्त घटनाले मलाई थोरबहुत प्रेरणा दिएकै हो।
त्रिपिटकका आधारमा यो किताब लेख्नुभएको छ। तीन वटा पिटकका अनेकौं भाग जुटाउन कति हैरानी भयो?
त्रिपिटक ग्रन्थको लगभग १४०/५० वटा मोटा ठेली छन्। पाली भाषा रहेको त्यसका केही खण्डको नेपाली अनुवाद बजारमा पाइए पनि सेट नै पाइन्न। देवनागरी लिपिको मूल त्रिपिटक बजारमा उपलब्ध छैन। त्रिपिटकका ठेली धार्मिक संघसंस्था र यो विषय पढाइ हुने विद्यालयमा हुन्छन्। त्यसैले यो पुस्तक पढ्न ती संघसंस्थामै पुग्नुपर्छ। तर, दुई-चार वटा संस्थामा पुगेर अनुरोध गर्दा सहयोग भएन। पछि, मलाई पढाउने गुरु भिक्षु श्री वजिरबाट त्रिपिटक पाएँ र यो किताब लेख्न सजिलो भयो।
त्रिपिटक बाहेक अरू ग्रन्थलाई पनि सन्दर्भ सामग्रीका रूपमा उल्लेख गर्नुभएको छ। ती जुटाउन र जुटाइएका सामग्री अध्ययन गर्न केकस्ता अप्ठ्यारा आए?
त्रिपिटकलाई मात्र आधार बनाएर लेखेको भए किताब त्यसको मात्र एकोहोरो वर्णन हुन्थ्यो।त्यसैले तुलनात्मक अध्ययन गर्न अन्य सन्दर्भ सामग्रीको अध्ययन आवश्यक थियो। गीता, ऋग्वेद, धर्मशास्त्रका कुरा प्रसंगवश आउँछन्। यस बाहेक भारतीय र पश्चिमा विद्वान्ले यस विषयमा के लेखेका छन् भनेर जान्न पनि आवश्यक थियो। त्यस्ता किताब खोज्न तीन पल्ट बनारस गएँ। त्रिपिटक बाहेक अधिकांश अंग्रेजी र हिन्दी भाषाका किताबलाई सन्दर्भ सामग्री बनाएका कारण भाषागत जटिलता खासै भएन।
अब किताबको विषयवस्तुतिर पसौं। गौतम बुद्धको अस्तित्वअघि त्यस क्षेत्रको धार्मिक अवस्था कस्तो थियो?
गौतम बुद्ध इसापूर्व ५६३ मा जन्मिए। त्यसभन्दा अगाडि हेर्दा, भारतीय उपमहाद्वीपमा भेटिएका शास्त्रीय ग्रन्थहरूका अनुसार वैदिक कालको शुरूआतमा अग्नि, प्रजन्य, बादल, सूर्य, पृथ्वी आदि प्राकृतिक देवताहरूलाई मानिन्थ्यो। वैदिक कालको पछिल्लो खण्डमा इन्द्रको बढी स्तुति गरिएको देखिन्छ। त्यसपछि यज्ञ र कर्मकाण्ड विकसित हुँदै गए। इसापूर्व ६०० देखि एक हजारको बीचमा मुख्य उपनिषद्हरूको रचना भयो। ती उपनिषद्को विश्लेषण गर्दा वैदिक कर्मकाण्डबारे असहमति बढ्यो र ब्रह्माको चिन्तन गर्ने परम्परा विकसित हुँदै गयो।
सिद्धार्थ गौतमको जन्म सम्बन्धी शास्त्रीय विवरण र हालसम्म प्रचलित मान्यतालाई अस्वाभाविक र अतिरञ्जित भन्नुभएको छ। यसको आधार के हो?
शास्त्रीय आधार त केही पनि छैन, तर ती कुरा पत्याउन कठिन जस्तो लाग्छ। जस्तो-सिद्धार्थ गौतम सालनालरहित जन्मिए, देवताहरू आएर उनलाई सुनको जालमा थापे, देवताले उनलाई पहरा दिए, उनी जन्मिने बित्तिकै सात पाइला हिंडे लगायत प्रचलित कथन सामान्य बुद्धि र विवेकले हेर्दा समेत असम्भव लाग्छन्। त्यति वेलाको समाजमा ती कुरा सहज र सुपाच्य थिए होलान्, अहिलेको समाजमा अतिरञ्जित लाग्छन्। मैले स्वविवेक प्रयोग गरेर तिनलाई अस्वाभाविक भनेको हुँ।
शास्त्रमै लेखिएको विवरणलाई अतिरञ्जित भन्दा बौद्ध धर्मका परम्परावादीले केही प्रतिक्रिया जनाए होलान् नि!
एक-दुई जनाले ‘शास्त्रमा लेखिएको कुरालाई चुनौती दिने तँ को होस्’ भनेका छन्। सामाजिक सञ्जालमा पनि यस्ता केही प्रतिक्रिया देखेको छु। शास्त्रमा लेखियो भन्दैमा अस्वाभाविक कुरा मान्नुपर्छ भन्ने हुँदैन।
सिद्धार्थ गौतमले गृहत्याग गर्नुको कारणबारे शङ्का गर्दै फरक कोण अघि सार्नुभएको छ। यसबारे यसअघि अरू विद्वान्ले पनि प्रश्न गरेका छन् कि?
सिद्धार्थले वृद्ध, रोगी, मृत मानिस र सन्न्यासी देखेर विरक्ति जागेर २९ वर्षको उमेरमा सुटुक्क घर त्यागे भन्ने मानिंदै आएको छ। यस विषयमा पश्चिमा विद्वान्हरूले प्राथमिकतासाथ अध्ययन गरेका छन्। तीमध्ये थोमस विलियम रिज् डेभिड्स र विलहेम गाइगरले गृहत्यागको कारणबारे शङ्का गरेका छन्। हाम्रा पूर्वीय विद्वान्हरू भीमराव अम्बेडकर, धर्मानन्द कोसन्दी र गोविन्द चन्द्र पाण्डेय लगायतका विद्वान्ले पनि शङ्का गरेका छन्।
सिद्धार्थले वृद्ध, रोगी, सन्न्यासी आदि देखेर २९ वर्षमा घर त्यागे भन्ने तर्क अलि अस्वाभाविक छ। किनकि उनी २९ वर्षको उमेरसम्म कोठाभित्रै कैद भएर त पक्कै बसेनन्। त्यो उमेरसम्म उनको परिवार र छरछिमेकमै कसैको मृत्यु भएन भनेर भन्न कठिन हुन्छ।
गृहत्यागको विषयमा विद्वान्हरूले दिएको तर्क के हो?
सिद्धार्थले चार प्रकारका मानिस देखेर मध्यरातमा गृहत्याग गरे भनेर बुद्धको मूल उपदेश मानिने त्रिपिटकमा उल्लेख छैन। बुद्धको उपदेशलाई व्याख्या, वर्णन र पृष्ठभूमि व्याख्या गरिएको शास्त्र अट्ठकथामा भने यो लेखिएको छ। विभिन्न गृहस्थी, भिक्षु र बुद्ध स्वयंले भनेका कुराको आधारमा बलियो तर्क के देखिन्छ भने, उनले परिवारका सबैले थाहा पाएको अवस्थामा घर छाडेका हुन्। बुद्धका आफ्नै काकाका छोरा आनन्द भिक्षु, जो बुद्ध जन्मेकै दिन जन्मिएको भनिएको छ।
एउटै खलक, एउटै नगर र एउटै उमेरका दाजुभाइ भएका हुनाले आनन्दले सिद्धार्थको विषयमा थाहा पाएका थिए। उनले सिद्धार्थले गृहत्याग किन र कसरी गरे भन्ने विषयमा भनेका छन्, ‘गृहस्थ जीवनमा बस्न उनलाई असजिलो लाग्यो, गृहस्थ जीवन दुःखको घर र सन्न्यासी जीवन पन्छीका लागि स्वतन्त्र आकाश जस्तै लागेर सिद्धार्थले गृहत्याग गरेका हुन्।’ उनले चार प्रकारका मानिस देखेर मध्यरातमा घर छाडेको भए आनन्दले त्यही कुरा नै बताउँथे। तर, आनन्दले त्यस्तो कतै भनेका छैनन्।
उति वेला कुटदन्त स्वर्णदण्ड भन्ने प्रभावशाली ब्राह्मण थिए। उनले बुद्धको प्रशंसा गर्ने क्रममा बुबाआमाले रोक्दारोक्दै गेरुवस्त्र लगाएर सन्न्यासी भए भनेका छन्।
बुद्ध स्वयंले पनि ‘गृहस्थ जीवन कठिन हुन्छ, यसमा रहेर सुखको बाटो अवलम्बन गर्न सकिंदैन। मानिसहरू धनवस्तु, स्त्री र राज्यका लागि भिडेको देखेर मलाई वैराग्य उत्पन्न भयो र मैले गृह त्यागें’ भनेका छन्। यी विभिन्न स्रोतका आधारमा मैले बुद्धले चार प्रकारका मानिस देखेर गृहत्याग गरेका होइनन् भन्ने निष्कर्ष निकालेको हुँ।
बुद्धको गृहत्यागको विषयमा त्रिपिटकमा हुँदै नभएको कुरा अट्ठकथामा कसरी आयो?
कुनै पनि समाजमा महापुरुषको जन्म भयो र तिनले ख्याति पाए भने तिनका विषयमा थपथाप र बढाइँचढाइ गर्ने चलन हुन्छ। बुद्धको परिनिर्वाणपछि उनीबारे यस्तो थपथाप गर्ने काम भए। अट्टकथा बुद्धभन्दा पछि नै अस्तित्वमा आएको मानिन्छ। उनलाई पछ्याउनेले भावुकता र श्रद्धावश यस्ता कुरा राखेका हुन सक्छन्।
तपाईंले आर्यलाई आगन्तुक भन्नुभएको छ, यसका आधार के हुन्?
यस सम्बन्धी प्रस्ट पुरातात्त्विक प्रमाण छैन। इसापूर्व १४५०/६० तिर हालको टर्कीमा पर्ने बोगाजकोई भन्ने ठाउँमा मितन्य र कशसाइट भन्ने राजाको सन्धि भएको थियो। किलाक्षर लिपिमा लेखिएको उक्त सन्धिको एउटा अभिलेख भेटिएको छ। जसमा मित्र, वरुण र नासत्वेउ तीन देवतालाई साक्षी राखिएको छ। यी आर्यका देवता हुन्। त्यस क्षेत्रमा उक्त अभिलेख भेटिएको हुँदा आर्यहरू त्यही वरिपरिका बासिन्दा थिए भन्ने अनुमान गरिन्छ। यद्यपि त्यस बाहेकको प्रस्ट आधार र प्रमाण भेटिएको छैन।
अर्को, हिन्दूहरूको सबैभन्दा प्राचीन ग्रन्थ ऋग्वेदमा आएका केही शब्दले आर्य आगन्तुक हुन् कि भनेर आकलन गर्न सकिन्छ। ऋग्वेदमा आर्यहरूले आफ्ना प्रतिपक्षलाई असुर, दास, काला इत्यादि शब्द प्रयोग गरेका छन्। आफ्ना सधर्मीलाई यी शब्द प्रयोग गरिंदैन। यस्तै, असुरलाई मृदवाच (नबुझिने भाषा बोल्ने), अदेयवयू (देवता नमान्ने), अयजवन (यज्ञ नगर्ने), सिस्नदेवा (लिङ्गपूजक) भनिएको छ। यी कुराले आर्य र असुरको भाषा र संस्कृति अलग थियो भन्ने देखाउँछन्।
तर, आर्य कहाँका बासिन्दा हुन् भन्नेमा अझै पनि निकै मतान्तर छ। कसैले रूसको साइबेरियाबाट आएका भन्छन्, कसैले क्यास्पियन सागर र कसैले रोमानियाबाट। कतिपय भारतीय विद्वान्हरूले यहींको रैथाने हुन् भन्छन्। आर्यहरू खाडी क्षेत्र र क्यास्पियन सागर वरिपरिका बासिन्दा हुन् कि भन्ने आधार भाषाविज्ञानको साक्ष्य हो। फारसी धर्मग्रन्थमा वैदिक भाषासँग मिल्दाजुल्दा केही शब्द छन्। जस्तो- वैदिक भाषामा यज्ञ भन्छौं, उता यस्न भनिन्छ। हामी विश्व भन्छौं, उता विश्प भनिन्छ। क्रियापदमा पनि वैदिक भाषामा भवती भन्छौं, उता भवइती भनिन्छ। यस्ता समानता देखिएकाले आर्यहरू त्यस क्षेत्रका हुन् कि भन्ने अनुमान गर्न सकिन्छ।
गौतम बुद्धको समयमा अरू पनि धार्मिक सम्प्रदाय भएको लेख्नुभएको छ। बुद्ध र ती धार्मिक संगठनको सम्बन्ध कस्तो थियो?
त्यस वेला वैदिक धर्मको फरक सम्प्रदाय थियो। यस्तै, मक्खली गोशाल भन्ने आचार्यको आजीवक सम्प्रदाय थियो। यो नास्तिक सम्प्रदायले कर्म केही होइन, जस्तो कर्म गरे पनि फल आउँदैन भन्ने मान्यता राख्थ्यो। ती सम्प्रदायमा लागेकाहरू आफूले गर्ने यज्ञ, जप, तप जस्ता कर्मले शुद्धि हुन्छ भन्थे।
बुद्धकै समयमा अजित केशकम्बल नामका आचार्य चार्वाक् दर्शनका अगुवा थिए। उनी भौतिकवादी थिए, जसले मानिसको हत्या, व्यभिचार, चोरी, डकैती गरे पनि त्यसको फल भोग्नु पर्दैन भन्ने सिद्धान्त बोक्थ्यो।
उनीहरूभन्दा बुद्ध फरक थिए। बुद्धले दुःख कसरी हुन्छ र त्यसबाट कसरी निस्कने भन्ने किसिमका उपदेश दिन्थे। त्यसमा अरू धार्मिक सम्प्रदायको पहुँच थिएन। उनीहरूले बाहिरी आडम्बर र तपस्यालाई बढी प्राथिमकता दिन्थे भने बुद्ध कर्ममा विश्वास गर्थे। उनीहरूले बुद्ध र उनले अपनाएको मार्गको धेरै खेदो खनेको शास्त्रहरूमा उल्लेख छ।
अन्य धार्मिक सम्प्रदायको भन्दा फरक मत राखेकै कारण बुद्ध विभिन्न षड्यन्त्रको शिकार भएका रहेछन् है!
मानिस प्रसिद्ध हुँदै गएपछि उसका विरोधी जन्मनु स्वाभाविक हो। बुद्धत्व प्राप्त गरेपछि गौतम बुद्धले विभिन्न ठाउँमा उपदेश दिए। त्यसलाई भिक्षु र गृहस्थीहरूले अभ्यास गर्दै गए र उनीहरू मुक्तिको बाटोमा अग्रसर भए। छोटो समयमै बुद्धको प्रभाव बढ्दै जाँदा अन्य धार्मिक सम्प्रदायका अनुयायी घट्न थाले।
त्यसको बदलामा अन्य सम्प्रदायका व्यक्तिहरूले बुद्धलाई गालीगलौज गर्ने, उनको दुष्प्रचार र चरित्रहत्या गर्ने क्रम बढ्न थाल्यो। बुद्धले एउटा सन्न्यासी युवतीलाई मारेको, अर्की सन्यासीलाई गर्भिणी बनाएको जस्ता दुष्प्रचार पनि गरिएका थिए। तर, उनी विरुद्धका षड्यन्त्र सफल भएनन्। ती षड्यन्त्रबारे मानिसहरूले तत्कालै थाहा पाए। यस्ता घटनाले बुद्धप्रति झन् सहानुभूति बढ्यो।
हिंसा विरोधी बुद्ध माछामासु खान्छन् भनेर पनि उनलाई होच्याइँदो रहेछ नि!
भिक्षुहरूको मागेर खाने संस्कृति थियो। सामान्यतया बुद्धले माछामासु खाँदैनथे। अहिले भिक्षु भिक्षा माग्न आएमा अन्न र पैसा दिन्छौं। उति वेला भिक्षामा पैसा दिनु निषेध थियो। माग्न जाँदा मानिसहरूले जे दिन्छन् त्यही खानुपर्थ्यो। क्रममा कहिलेकाहीं भिक्षामा मांस भोजन पनि पर्थ्यो। मागेर खानेले ’यो खान्छु र त्यो खान्नँ’ भनेर नकार्न हुँदैनथ्यो।
कसैले भोजन गर्न आमन्त्रण गर्यो र मांस भोजन दियो भने बुद्ध खाँदैनथे। किनकि, त्यो उनैलाई भनेर पशुहत्या गरेर पकाइएको हुन्थ्यो। तर, भिक्षामा आएको कुरा नकार्न मिल्दैनथ्यो।
गौतम बुद्ध महिलाद्वेषी थिए भनेर त्रिपिटकमा भएको प्रसङ्गलाई तपाईंले नकार्नुभएको छ, यस्तो कुरा त्रिपिटकमा कसरी घुसाइयो?
बुद्धले आफ्नो सानी आमा प्रजापति गौतमीलाई भिक्षुणी हुन खोज्दा स्वीकृति दिएनन्, पछि करकाप गरिएपछि मात्रै स्वीकृति दिए भन्ने प्रसङ्गमा यो कुरा आएको छ। यसलाई विभिन्न कोणबाट हेरिनुपर्छ।
त्यस वेला अरू धार्मिक सम्प्रदायमा पनि महिलाको प्रवेश वर्जित थियो। केही असुविधा र बेथिति देखेर शुरूआतमा बुद्धले महिलालाई भिक्षुणी हुन नदिएको हुन सक्छ। बुद्धको संघमा भिक्षुणी हुन राखेका आठ वटा शर्त कडा देखिन्छन्। यी शर्त बुद्धको स्वभाव र गुणभन्दा विपरीत छन्। जसले सम्पूर्ण प्राणीलाई करुणाभावले हेर्छन्, तिनले महिलालाई होच्याए भनेर कसरी पत्याउने? बुद्ध त सबै किसिमका असमानता र भेदभाव हट्नुपर्छ भनेर मानिसलाई सुसूचित गर्दै हिंड्थे।
तत्कालीन समाजमा महिलाको अवस्था खस्कँदो थियो, पुरुषप्रधान समाजले महिलालाई धेरै किसिमले दोस्रो दर्जामा राखेको थियो। महिलाहरू लगभग घरधन्दामै सीमित थिए। बुद्धको प्रेरणाले केही महिलाले भिक्षुणी भएर लाभ पाएका थिए। महिलाद्वेषी मानसिकता भएका कुनै भिक्षुले त्रिपिटकमा थपथाप गरेको हुन सक्ने शङ्का केही विद्वान्ले गरेका छन्। बुद्धका उपदेश शुरूमा मौखिक रूपमा आएका थिए। बुद्ध परिनिर्वाण भएको तीन महीनापछि बुद्धका उपदेश सङ्कलन, सम्पादन र वर्गीकरण गरिए। त्यसपछि ती उपदेश सुनाउँदै कण्ठस्थ पार्दै गइयो। त्यसबीचमै कसैले यी कुरा थपथाप गरेको हुन सक्छ।
चलिआएको गलत परम्परा र अभ्यासमाथि प्रश्न गर्नेलाई वर्तमान समाजबाट पनि आक्रमण हुन्छ, त्यस वेला प्रचलित मान्यता विपरीत जाँदा बुद्धलाई आक्रमण हुन्थ्यो कि हुँदैनथ्यो?
प्रशस्तै हुन्थ्यो। विशेष गरी ब्राह्मणहरूले हेलाहोचो गर्ने र अपशब्द बोल्ने गरेका कुरा प्रशस्तै छ। किनकि बुद्ध जातिवादका विरोधी थिए, लैङ्गिक समानताको पक्षमा रहेर समान आर्थिक अधिकार हुनुपर्छ भन्ने मान्यता राख्थे।
जातिवादको विरोधी रहेका बुद्धले उतिवेला समाजमा आफ्नो प्रभाव हुँदाहुँदै जातभातको जरो उखेल्न किन सकेनन्?
त्यस वेला जातिवादको प्रभाव मानिसको मानसिकता र संस्कारमा थियो। जातिवाद बुद्धभन्दा करीब १२/१५ सय वर्षअघिदेखि चलिआएको धारणा थियो, समयक्रममा संस्कारका रूपमा घुल्यो। मन र दिमागमा बसेको संस्कार छोड्न बुद्धले भन्दैमा मान्ने अवस्था थिएन। उनले जातिवादमा भएका नराम्रो कुराको तार्किक विरोध गरेर जनतालाई ससूचित गर्ने काम भने गरे। त्यस वेला समाजमा ब्राह्मण र क्षेत्रीको बाहुल्य थियो। जात प्रथा एकै पटक हटाउन खोज्दा समाज खलबलिन पनि सक्थ्यो।
अर्को, बुद्ध सामाजिक अभियन्ता होइन आध्यात्मिक अभियन्ता थिए। उनको संघमा चाहिं जातजन्य कुनै भेदभाव थिएन। उनले सबै मानिसलाई समान व्यवहार गरे।
बुद्धलाई विष्णुको अवतार भनेर प्रचार गरिएको पाइन्छ, यस पछाडिको कारण के हो?
विभिन्न पुराणमा बुद्धलाई विष्णुको अवतारका रूपमा नकारात्मक ढङ्गले चित्रण गरिएको छ। वैदिक धर्म नमान्ने मानिसलाई मोहमा पारेर नर्कमा लैजान बुद्धले विष्णुको नवौं अवतार लिएको भनेर पुराणमा उल्लेख छ। बुद्धको प्रभाव निस्तेज पार्न केही गर्दा पनि नसकिएपछि उनलाई तुच्छ देखाउन निर्माण गरिएको भाष्य हो यो।
अन्त्यमा, आगामी लेखनको योजना के छ?
मान्छेको आस्था र भावनासँग जोडिएको कुरा भएकाले धर्मको विषयमा लेख्ने काम संवेदनशील हो। शास्त्रमा लेखिएका सबै हुबहु सही ठान्ने मान्छेलाई मैले लेखेको कुराले रिस उठ्छ। त्यसले गर्दा धार्मिक विषयमा लेख्न मलाई दुविधा छ। तर, बुद्धबारे नै केही लेख्ने योजनामा छु।
हामीकहाँ धार्मिक विषयमा दुई अतिवाद देखिन्छन्। एउटा, धर्मकर्मका किताब वाहियात हुन् र दोस्रो, शास्त्रमा लेखिएका कुरा जस्ताको तस्तै कट्टर रूपमा अपनाउनुपर्छ भन्ने धारणा। मेरो सोचाइ अलिक फरक छ। आफूले पुज्ने देवताबारे अतिरञ्जित कुरा भनिए/लेखिए, ती कुरा विचार गरेर, छानेर सार मात्र ग्रहण गर्नुपर्छ भन्ने मेरो आशय हो। यो किताबले पनि करीब करीब त्यस्तै दिशा देखाउँछ।
(सम्पादन: जीवन कार्की, भाषा: प्रद्युम्न खनाल)
किताबका कुराका थप सामग्री: