‘काठमाडौंको सभ्यता जोगाउने श्रेय ज्यापू समुदायलाई दिनुपर्छ’
‘नेपालभरका जात्रा, मठमन्दिर र अभिलेखहरूको अध्ययन र खोज बढाए नेपालको इतिहास अझै बलियो बन्छ।’
दिल्ली विश्वविद्यालय तथा हवाई विश्वविद्यालयबाट वास्तुकला सम्बन्धी अध्ययन गरेका प्राध्यापक सुदर्शनराज तिवारीले त्रिभुवन विश्वविद्यालयको इन्जिनीयरिङ अध्ययन संस्थामा ३५ वर्षभन्दा बढी अध्यापन गराए। २०४४ देखि २०४८ सालसम्म त डीनको कार्यभार नै सम्हाले।
लुम्बिनी, स्वयम्भू, चाँगुनारायण तथा पाटन दरबार क्षेत्र लगायत विश्व सम्पदास्थलमा काम गरेका तिवारीका नेपालका तले शैलीका मन्दिरबारे ‘टाइरेड टेम्पल्स अफ नेपाल’ र काठमाडौं उपत्यकाका प्राचीन बस्तीहरूबारे द एन्सियन्ट सेटलमेन्ट अफ द काठमाडौं भ्याली पुस्तक प्रकाशित छन्।
त्यस्तै, २०६० सालमा अंग्रेजी भाषामा प्रकाशित उनको द ब्रिक एन्ड द बुल पुस्तकको मणीन्द्र श्रेष्ठले गरेको अनुवाद हाँडीगाउँ : प्राचीन नेपालको राजधानी गत वर्ष प्रकाशन भयो। यही पुस्तकमा केन्द्रित रहेर लेखक तिवारीसँग हिमालखबरको पाक्षिक प्रस्तुति किताबका कुरामा लेखक तिवारीसँग अनिता भेटवालले गरेको कुराकानी:
हाँडीगाउँ भन्नासाथ एउटा उखान पनि सँगै आउँछ, ‘कतै नभएको जात्रा।’ यो उखानले हाँडीगाउँको खिल्ली उडाएको हो कि प्रशंसा गरेको?
हाँडीगाउँकै सन्दर्भमा लियौं भने यसलाई खिल्ली भन्न मिल्दैन। तर कसैले यो नाम लिएर मजाक बनाउँछ भने त्यो संस्कृतिको बढावा होइन। यो उखान कसरी बन्यो भन्ने हेर्नुपर्छ। मल्लकालमा काठमाडौं, पाटन र भक्तपुरका राजधानीमा उस्तै उस्तै खालका जात्रा हुन्थे। तर हाँडीगाउँमा ती राजधानीमा नभएका नौला जात्रा हुन्थे। त्यसैले ‘कतै नहुने जात्रा हाँडीगाउँ’ मा भनिएको हो।
नेवार समुदायमा मोक्षका लागि काठमाडौं उपत्यकामा हुने/देखाइने चार वटा जात्रा हेर्नैपर्छ भनिन्थ्यो। तीमध्ये एक थियो- हाँडीगाउँको गहना खोज्ने पोखरीको जात्रा।
त्यसैले यो उखानले हाँडीगाउँको सांस्कृतिक र सामाजिक महत्त्व देखाएको छ। यो उखानलाई सकारात्मक ढंगमा पर्यटक आकर्षण गर्ने भनाइका रूपमा प्रयोग गर्न सक्छौं।
तपाईंले हाँडीगाउँलाई नेपालको प्राचीन राजधानीका रूपमा चिनाउनुभएको छ। त्यसका आधार के हुन्?
अहिलेसम्म हाँडीगाउँमा दुई पटक पुरातात्त्विक उत्खनन भएको छ। एक पटक मनमानेश्वरीमा उत्खनन गर्दा लिच्छविकालीन प्रमाण भेटियो। त्यसपछि हाँडीगाउँकै सत्यनारायणमा पनि केही पुरातात्त्विक सामग्री पाइएका थिए। वंशावलीहरूमा हालको विशालनगरलाई लिच्छविहरूको राजधानी भनेर लेखिएको छ।
अध्ययनका क्रममा हाँडीगाउँमा गहनापोखरीको जात्रा लगायत जात्रा किन मनाइयो होला भनेर खोजें। त्यहाँ भएका लिच्छवि शिलालेखका आधारमा हाम्रा प्राचीन शहरहरू कहाँ र कस्ता थिए भन्ने लेखें। मल्लकाल शुरू भएपछि मात्रै भक्तपुर राजधानी बनेको हो। त्यसअघि विशालनगर नै राजधानी थियो भनिएको थियो।
त्यो नगर कहिलेदेखि कहिलेसम्म अस्तित्वमा थियो भन्ने पनि खोजें। सबै अध्ययनले अंशुवर्माले बनाएको कैलाशकूट भवनतिरै देखाउँछन्। त्यो भवनबारे सबैभन्दा धेरै चिनियाँले लेखेका छन्।
सातौं शताब्दीमा भृकुटीलाई विवाह गरेर पठाएपछि चीनका राजदूत बाङ बे चे काठमाडौं बस्न आएका थिए। उनले आफ्नो डायरीमा कैलाशकूटको वर्णन गरेका छन्।
त्यस्तै, हाँडीगाउँको डबलीमा रहेका दुई वटा शिलालेखमा पनि कैलाशकूट भवनको बयान गरिएको छ। त्यो शिलालेखमा ‘स्वयम् आज्ञा’ भनेर अशुंवर्माले आफ्नै आज्ञाले राखेको देखिन्छ। यी वर्णन अनुसार कैलाशकूट भवन साततले थियो। माथिबाट झरना जसरी पानी झरिरहन्थ्यो। मुनि मकरका चार वटा मुखबाट पानीको फोहोरा निस्किन्थ्यो। ती चिनियाँ राजदूतले त कैलाशकूट जस्तो भवन अन्यत्र नदेखेको लेखेका छन्।
हाँडीगाउँको डबलीमा रहेको शिलालेख अध्ययनकै क्रममा कैलाशकूट भवनका चार वटा ढोका रहेको पनि थाहा भयो। दक्षिणद्वार, मानगृहद्वार, पश्चिम र उत्तरद्वार रहेको उल्लेख छ। लिच्छविकालका शिलालेखमा स्थानको वर्णन गर्दा उत्तर-पूर्वबाट घडीको सुई घुमे जसरी स्थानहरू बताइएको हुन्छ। यसमा पनि त्यही नियम लागू भएको देखिन्छ।
कैलाशकुट भवनको पूर्वमा ढोका छैन। लिच्छवि नियमअनुसार, पूर्वमा ढोका भएको भए, पहिला पूर्वको र त्यसपछि मात्रै दक्षिण ढोकाको चर्चा गरिन्थ्यो। यहाँ त शुरूमा दक्षिणको ढोकाको चर्चा गरिएको छ।
दक्षिणपछि घडीको सुई घुमाइमा जाँदा मानगृह द्वार, पश्चिम द्वार, मध्यम द्वार र उत्तर द्वारको चर्चा गरिएको छ। यस हिसाबले उत्तर द्वार उत्तरमै थियो, दक्षिण द्वार दक्षिणमा र पश्चिम द्वारमा तीन वटा ढोका (मानगृह, पश्चिम र मध्यम) थिए। यसबाट मानगृह जाने ढोका पनि कैलाशकूट भवनको पश्चिमपट्टि रहेको अनुमान गर्न सकिन्छ। यी सबैबाट कैलाशकूट भवनको पूर्वमा ढोका थिएन, दक्षिणमा मूलद्वार र पश्चिममा तीन वटा ढोका थिए भन्न सकिन्छ।
चिनियाँ राजदूतले कैलाशकूट दरबारमा सात तलाबाट झरनासरि पानी झरिरहेको थियो भन्ने लेखेका छन्। यो वर्णनले त्यति वेला पम्पिङ गर्ने प्रविधि भएको संकेत गर्छ। हुन पनि सातौं शताब्दीमा त्यो प्रविधि थियो। नक्सालमा भएको ढुंगेधारामा त ‘सलिल्लो उत्पादन यन्त्रको प्रयोग गरियो’ भनेर लेखिएकै छ।
त्यस्तै, कैलाशकूट माटो र निगालाले बनाइएको थियो भन्ने पनि थाहा भयो। यो पनि सातौं शताब्दीको आगो निरोधक प्रविधि हो।
पुरातात्त्विक अध्ययनहरूबाट त्यहाँ लिच्छविकालीन इँटाहरू पनि पाइएका छन्। सत्यनारायण मन्दिर क्षेत्रमा त लिच्छविकालभन्दा अघि तेस्रो शताब्दीका इँटा पनि पाइए। त्यस्तै, मानदेवभन्दा पनि पुराना राजा जयवर्माको मूर्ति पनि फेला पर्यो जसले किरातकाललाई पनि संकेत गर्छ।
त्यस वेलाका आधुनिक मानिने प्रविधि प्रयोग गरेर संरचना, पुरातात्त्विक अध्ययनले दिएका निष्कर्ष सबैका आधारमा हाँडीगाउँमा प्राचीनकालमा निकै चहलपहल हुने गरेको पाइयो। यिनै आधारमा त्यस स्थानलाई लिच्छविकालको राजधानी भनिएको हो।
हाँडीगाउँ लिच्छविकालमा मात्रै राजधानी भएको हो कि त्योभन्दा पनि प्राचीन नगर हो?
काठमाडौंमा लिच्छविहरू प्रवेश गर्नुअघि इसापूर्व ४०० का इँटाहरू पनि हाँडीगाउँमा पाइएको छ। मञ्जुश्रीको समयमा उपत्यकाको पहिलो शहर मञ्जुपत्तन बनेको मानिन्छ। त्यो ठाउँ अहिलेको स्वयम्भू र गुह्येश्वरीको बीचमा भएको अनुमान छ।
पशुपति पुराणमा भाटभाटेनी देवता आएर बस्ती बनाएको उल्लेख गरिएको छ। पुराण अनुसार उनीहरूले पहिलो शंखमूल र बूढानीलकण्ठको बीचमा पहिलो बस्ती विशालनगर बनाए। स्वयम्भू र गुह्येश्वरीको बीच तथा शंखमूल र बूढानीलकण्ठको बीच एकै ठाउँमा पर्छ। त्यो हो, हाँडीगाउँको सत्यनारायण मन्दिर क्षेत्र। त्यसैले पनि हाँडीगाउँलाई प्राचीन राजधानी क्षेत्र भन्न सक्छौं।
प्राचीन राजधानी हाँडीगाउँका कुन कुन प्राचीन जात्रा, पर्व र परम्परा अहिले पनि अभ्यासमा छन्?
मुख्य दुई वटा जात्रा अहिले पनि प्राचीन स्वरूपमा नै मनाइँदै आइएको छ। सत्यनारायण मन्दिरमा रहेको एउटा सातौं शताब्दीको अभिलेखमा कैलाशकूट दरबार वरिपरि हुने जात्राका लागि कैलाशकूट भवनले के के दिनुपर्छ भन्ने सूची छ। त्यसमा ‘अण्डी पि यात्रा ग्राम’ लाई एक हजार पुराण, २२ वटा तामा घडा, पैसा लगायत देऊ भनिएको छ।
यो वास्तवमा अण्डीपृङ हो जसलाई लिच्छविहरूले ग्राम बनाएका हुन्। यो टुँडालदेवीको जात्रा हो। अहिले पनि टुँडालदेवीको जात्रामा हाँडीगाउँलेहरू २२ वटा घडा बोकेर जान्छन्। त्यो अभ्यास लिच्छविकालभन्दा अघिको हो।
त्यस्तै, ‘देवःछें’ जात्रा प्रायः सबै किसान परिवारले मनाउँछन्। यसका प्रक्रिया पनि पुरानै छन्। हाँडीगाउँका जात्राहरू ज्यापू समुदायले सञ्चालन गर्दै आएका छन्।
अण्डीपृङ्ग विशालनगर हुनुभन्दा अघि विस्तारित किरात क्षेत्र थियो। कृष्ण मन्दिरदेखि हाँडीगाउँ क्षेत्रमा नै लिच्छविकालभन्दा अघिका ऐतिहासिक प्रमाणहरू फेला परेका छन्। काठमाडौंका निम्ति हिन्दू र बौद्ध धर्म बाहिरबाट आएका हुन्।
यी दुई धर्म बाहेकका अभ्यास हाँडीगाउँमा भेटिन्छन्। जस्तै- हाँडीगाउँमा मंसीरमा राँगा काटेर पूजा गर्ने जात्रा छ। सत्यनारायणको जात्रा सातौं शताब्दीको हो भने गहना खोज्ने जात्रा त्योभन्दा पनि पुरानो हो। यी दुवै जात्रा लिच्छविकालभन्दा अघिका हुन्।
खट उल्टो पार्ने सत्यनारायणको जात्रा पनि पुरानै हो। त्यही जात्रा हेरेर कहीं नभएको जात्रा हाँडीगाउँमा भन्ने उखान पनि बन्यो। त्यो खटलाई उल्टो भनिन्छ तर त्यो कमलको फूल हो।
चौखटनारायणको जात्रा पनि नरेन्द्रदेवको पुनः आगमनमा शुरू गरिएको थियो। भृकुटीलाई बिदा गरेर पठाएको २० वर्षपछि नरेन्द्रदेव फर्किएका थिए। त्यसपछि यो जात्रा शुरू भएको हो।
तपाईंले प्राचीन जात्रालाई जोगाउने श्रेय ज्यापू समुदायलाई दिनुपर्छ भन्नुभएको छ। त्यसको आधार के हो?
काठमाडौंको नेवार संस्कारको चलनको मुख्य श्रेय ज्यापू समुदायलाई नै दिनुपर्छ। हाँडीगाउँको ज्यापू समाजमा रहेका सबै चलन प्राचीन नै छन्। ज्यापूहरूको प्राचीन बस्ती विस्तार हुँदै गर्दा जम्मा ६ थर थिए- प्रजापति, महर्जन, डंगोल, मानन्धर, खड्की र तेपे।
पूजा गर्ने क्रममा उनीहरूले काम बाँडे। देउता बनाउने प्रजापति, पूजा सामग्री ल्याउने डंगोल, पूजा गर्ने महर्जन, बत्ती र तेल ल्याउने मानन्धर, बलि दिने खड्गी र साग चढाउने तेपे भनेर बाँडियो।
हाँडीगाउँमा आज पनि ६ थरहरू आआफ्नै ठाउँमा बस्छन्। ती घरहरू विस्थापित पनि भएका छैनन्। लिच्छवि राजाहरूको होडबाजी चल्दा कहिले काठमाडौं, कहिले पाटन र कहिले भक्तपुरबाट राज्य चलाउने गरे। यसरी नै करीब ४०० वर्ष बित्यो।
१२औं शताब्दीमा मल्लकालमा भक्तपुर राजधानी भयो। हाँडीगाउँ छोडियो।
त्यसपछिका ७००-८०० वर्ष हाँडीगाउँको विकास रोकियो। त्यसैले सबै थोक बचे। ज्यापूहरूको बस्ती, संस्कार, संस्कृति, जात्रा, पर्वहरू रहिरहे। कतैबाट पनि हस्तक्षेप भएन। विकासका कार्यहरूबाट पनि टाढा भएकाले संरचनाहरू उस्तै रहिरहे।
राणा शासनकालमा आएपछि मात्र भीमशमशेरले टंगाल दरबार बनाए। अहिलेको बालमन्दिर भएको दरबार बन्यो। त्यति वेला मानन्धरको बस्ती हटाएको पनि भनिन्छ। तर अन्य केही फेरबदल भएन। त्यसैको परिणाम ४०-४५ वर्ष अघिसम्म पनि हाँडीगाउँमा ७० प्रतिशतभन्दा धेरै ज्यापूहरू बस्थे। कतै कतै बेचबिखन भए पनि ज्यापूहरूको बस्ती अहिले पनि छ।
अहिले पनि लिच्छविकालभन्दा अघिको इतिहास खोज्ने हो भने हाँडीगाउँको देवःछेंको छेउछाउमा पुरातात्त्विक अध्ययन गर्नुपर्छ।
लिच्छविकालमा बनेका संरचना पनि अहिलेसम्म जोगिएका छन्। ती कसरी जोगिए?
वास्तुकलाले जोगाएको छ भने संस्कृतिको पालनाले पनि। जस्तै- अहिले पनि किरातकालीन संरचना हेर्न सत्यनारायण मन्दिर क्षेत्र जान सक्छौं। कतै कतै त अंशुवर्माको छाप भएका इँटा पनि पाइएका छन्। मल्लकालका संरचना अझ धेरै छन्। यस्ता पुराना संरचना जोगाएको श्रेय पनि ज्यापू समाजलाई नै दिनुपर्छ।
धर्ममा जतिसुकै परिवर्तन भए पनि उनीहरूले एकअर्काको संस्कार मेटाएनन्। एउटा ढुंगो देखे भने पनि चलाएनन्। बरु त्यसलाई जोगाउन छानो हालिदिए।
कुनै स्थानमा पहिल्यैदेखि शिवको मूर्ति थियो भने चलाएनन्। बरु गणेशको मूर्ति पनि ल्याएर राखिदिए। हाँडीगाउँको कृष्ण मन्दिरमा कुन देवताको मूर्ति नहोला? यस्तै अभ्यासले गर्दा नै किरातकालीन ढुंगा पनि बचेका हुन्। ती भगवान्हरू बचिरहँदा शहरको संरचना पनि बिग्रिएन।
संस्कृतिले शहर जोड्ने र जोगाउने काम पनि गरेको छ। मुकुट लिएर दौड्ने जात्राले दुई शहर जोडेको हुन्छ। एक ठाउँको देवताको मुकुट लिएर अर्को ठाउँ पुग्नुपर्छ। यो पनि किराती परम्परा हो जहाँ मुकुट लिएर हिंड्ने मूलबाटो जहिल्यै एउटै हुन्छ। यसलाई ‘देउता जाने बाटो’ भनिन्छ। देउतासँग जोडिएकाले यसरी निर्धातिर बाटोहरूको पुन:संरचना भएन। बस्तीहरू पनि उस्तै रहे। डोजर पनि पसेन। अभिलेखहरू पनि बचे।
नेवारहरूले एक शहरमा तीन थरी जीवन बिताएकाले पनि धेरै सम्पदा जोगिएका छन्। एक, उनीहरू आमजीवन बाँच्छन्। अर्को, पूर्वजको जीवन बाँच्छन् जसमा बाउबाजेको श्राद्धमा धेरै दिन बिताउँछन। तेस्रो, उनीहरूले भगवान्को जीवन बाँचिरहेका हुन्छन्। जात्राहरूमा मुकुट लगाएर देउता नै हुन्छन्। यसरी नेवार समुदायले धान्दै आएका यी जात्रापर्वहरूले शहरको पुरानो अस्तित्व कायम राख्न सघाएका छन्। उनीहरूले हिटी, मन्दिर, भवन, शिलालेख बचाएकाले नै हामीले अध्ययन गर्न पाएका छौं।
तर उपत्यकाका धार्मिक, सांस्कृतिक, पुरातात्विक विषयको चर्चा गर्नासाथ पाटन र भक्तपुरको बढी चर्चा हुन्छ। हाँडीगाउँको किन हुन सकेन?
हामीले अहिले मात्र संस्कृतिले पनि आर्थिक पर्यटन भित्र्याउन सक्छ भनेरे बुझ्न थालेका हौं। काठमाडौं उपत्यकामा सात वटा विश्वसम्पदा स्थल छन्। पर्यटकहरू पहिले तिनै ठाउँमा जान्छन्। पछिल्ला केही वर्षमा हाँडीगाउँले स्थानीय पर्यटकहरू राम्रै गरी भित्र्याएको छ। कतिपयले त पढे जस्तो बस्तीहरू नपाएको पनि भन्नुहुन्छ।
अहिले केही हदसम्म शहरीकरण हावी भएको छ। तर प्राचीनतालाई कसरी हेर्ने भन्ने प्रश्न मुख्य हो। प्राचीन सामग्रीको प्राचीनता कायम राखे मात्र यसको महत्त्व बच्छ। मानिसहरू पनि भ्रमण गर्न आउँछन्।
हाँडीगाउँमा त यहाँको इतिहास मात्रै बाँकी छ। माली गाउँमा पाइएको जय वर्माको मूर्ति अहिले छाउनी संग्रहालयमा छ। त्यसलाई त हाँडीगाउँमै उभ्याउनुपर्थ्यो। त्यो मूर्तिमा नाम, मिति सबै लेखिएको छ। त्यो मूर्ति सन् १८५ को भएको प्रमाणित भएको छ। त्यति वेलाका जय वर्माको अनुहार, पहिरन र हाउभाउ हेर्न सकिन्छ। त्यस्तै, हाँडीगाउँको सत्यनारायण मन्दिरमा तेस्रो शताब्दीको नारायणको मूर्ति छ। त्यसको प्रचार भइरहेको छैन।
हाँडीगाउँलाई मञ्जुपत्तन, विशालनगर भन्ने स्थान यही हो भनेर देखाउन सकिन्छ। शंकराचार्यको समयमा अमरवाणाले समाधि लिएको ठाउँ पनि यहीं छ। चारढुंगेमा चार वटा प्वाल छन्। ती प्वालमा अमरवाणा बसेको भन्छन्। ती अहिले पुरिन लागेका छन्।
गहना खोज्ने पोखरीको जात्रामा नरेन्द्रदेवले श्रीपेच देखाउँथे भन्ने कथाको प्रचार भएको छैन। मन्दिरहरू भए वर्षभरि देखाउन सकिन्छ। तर हाँडीगाउँका प्रसिद्ध जात्राहरू हरेक दिन देखाउन सकिंदैन। प्रचार र व्यवस्थापनको अभावले नै हाँडीगाउँको चर्चा कम भएको हो।
पुस्तकमा विभिन्न ठाउँमा हाँडीगाउँको जात्रा र परम्परा देखेर आफैं चकित पर्छु भन्नुभएको छ। तपाईंलाई चकित पार्ने जात्रा कुन कुन हुन्?
मलाई भाटभटेनी र टुँडालदेवीको जात्राले सबैभन्दा बढी चकित पार्छन्। भाटभाटेनी देउतालाई झुन्ड्याएर राखिएको छ। यसका कथा अनुसार उनीहरू बाहुन-बाहुनी हुन्, जसलाई झूट बोलेकाले भुइँमा टेक्न नपाउने श्राप दिइएको थियो। त्यसैले धर्ती नछोएर, झुन्डिएर रहेको भन्छन्। उनीहरूका छोरालाई पनि झुन्ड्याइएको छ।
कथा अनुसार एक दिन गहना खोज्ने पोखरीमा गहना खोज्न जाँदा हाँडीगाउँमा तीर्थ गर्न गएका वृद्धले आफ्नो सम्पत्ति सुन बनाएर लट्ठीमा राखेर तिनै भाटभटेनी बाहुन-बाहुनीलाई दिए। उनीहरू गरीब थिए। छोरा भएको थियो। १२ वर्षसम्म ती वृद्ध नआएपछि उनीहरूले त्यो सुन चलाएछन्।
वृद्ध फर्किएपछि भाटभटेनीले सुन राखिएको लट्ठी कीराले खायो भनेर झूट बोलेछन्। ‘मेरोे लट्ठी कीराले खान्छ भने तिम्रो छोरालाई पनि चिलले लान्छ’ भनेपछि चिलले बच्चा लगेछ। जसको आकृति मन्दिरमा बनाइएको छ।
बाल्यकालमा टुँडालदेवीको भातजात्रा पनि देखें। त्यसमा टुँडालदेवीलाई राँगो चढाइन्छ। त्यो राँगोको टाउको राति मृत्युकर्ममा बजाइने बाजा बजाउँदै हाँडीगाउँमा ल्याइन्छ। हाम्रा आमाहरूले बाल्यावस्थामा त्यो जात्रा हेर्न, सुन्न हुँदैन भन्नुहुन्थ्यो। पछि रातैभर बसेर पनि हेरियो। त्यो हेर्दा, यसका कथाहरू सुन्दा मानवीय र धार्मिक पक्ष एवं त्यसमा मानिसले गर्ने विश्वासले आह्लादित बनाउँछन्।
देशमा भएका राजनीतिक र सामाजिक परिवर्तनले यी जात्रापर्वलाई कत्तिको प्रभाव पारेका छन्?
नेपालमा रहेका संस्कृतिहरू धर्ममा आधारित छन्। तर राजनीतिक विचारका आधारमा कति पटक भगवान् चाहिंदैन पनि भनियो। पुराना संस्कृति परिवर्तन हुनुपर्छ पनि भनियो। तर धर्मलाई सम्मान नगरे संस्कृतिको अर्थ छैन।
भाटभटेनीको सम्मान गर्न छाडे हाम्रो संस्कृतिको अर्थ छैन। संस्कृति परिवर्तनकारी त हुन्छ। प्राचीनकालको संस्कृति अहिले नरहन सक्छ। तर कुन हदसम्म भन्ने ख्याल गर्नुपर्छ।
जस्तै- लाखे नाच आमजनताको घर घरमा देखाउन जाने हो। तर अहिले त छानेर सांसदहरूको घरमा देखाइन्छ। देउसी-भैली पनि सांसद र व्यापारीहरूको घरमा गरिन्छ। खासमा यी सामाजिक परिवर्तन २००७ सालपछि भए। सांस्कृतिक गतिमा पश्चिमा संस्कृति हावी भयो।
केही अघि गुठी हटाउने चर्चा पनि भयो। अझ पञ्चायतकालदेखि नै गुठी मासेको आरोप पनि छ। सन् १९६४ मा गुठी संस्थान ऐन आएको हो। त्यति वेला बहालवाला बसेको जग्गा कसको नाममा दर्ता हुने भन्ने प्रश्न उठ्यो। त्यति वेला थकालीको नाममा दर्ता गर्ने कुरा आयो। नेपालीको सम्पत्ति त बाजेदेखि नातिसम्मै जान्छ। पछि बहालवालाहरू टुक्रिए।
गुठी जग्गा मासिएकोमा गुठी ऐनलाई दोष दिइन्छ। यहाँ गुठीभित्र मोहीयानी हक लाग्छ भनेर आधा गुठीको जग्गा खाएको पनि सम्झनुपर्छ। केही नियम-कानून सुधारका लागि पनि ल्याइन्छन्। तर सरकारका कतिपय निर्णय गलत पनि छन्।
पछिल्ला १५ वर्षमा संस्कृतिलाई पहिचानसँग जोडेर व्याख्या गरिएको छ। त्यसैले जात्रापर्वले महत्त्व पाएका छन्। राज्यले पनि यसका लागि बजेटको व्यवस्थापन गर्नुपर्छ।
इतिहास, संस्कृतिको खोज, अध्ययन र अनुसन्धानमा नेपाल धेरै पछि परेको छ भन्नुहुन्छ। हामीले के गर्न बाँकी नै छ?
काठमाडौं बाहिर खोजी गर्न पूरा देश नै बाँकी छ। किनभने नेपाल सानो भए पनि हिमाल र महाभारत शृंखलादेखि नै नदीहरूले उत्तर-दक्षिण काटेकाले यहाँ सयौं जाति रहने सम्भावना बने। अहिले पनि सयभन्दा बढी भाषा बोलिन्छन्। नेपाल त सभ्यताको ‘क्रस रूट’ हो, जसबारे अध्ययन नै भएको छैन।
सिन्ध उपत्यकाबाट गोपालहरू आए भनिएको छ। शास्त्रहरूबाट मात्रै इतिहासको अध्ययन भएको छ। पण्डितहरूले मात्रै इतिहास लेखेकाले संस्कृति नआउँदासम्म इतिहास नै आएन भन्ने गरिन्छ। इतिहासको खोज गर्दा ठ्यासफू, अभिलेख आदि ‘शास्त्रीय’ सामग्रीका साथै स्थानीय ज्ञानलाई पनि स्रोतका रूपमा लिनुपर्छ। जुन हाम्रा समाजमा रहेका ज्येष्ठ नागरिकहरूको अनुभव र भोगाइ पनि स्रोत हो।
वर्षमा एक पटक गर्ने जात्रापर्वहरू पनि स्रोत हुन्। यी स्रोतको अध्ययन कम भएको छ। फेरि, संस्कृतिको अध्ययन मात्रै गरेर पनि इतिहासको अध्ययन पूरा हुँदैन। समाज र स्थानका आधारमा पनि अध्ययन गरिनुपर्छ।
राजा, राज्य र सत्ताको आधारमा इतिहास हेरेर पुग्दैन। मानिस र स्थानका आधारमा पनि अध्ययन गर्नुपर्छ। कोही इच्छुक भए पहिलो अध्ययन किरात शब्दबाटै गर्न सक्छ। यो शब्द कहाँबाट र कसरी आयो भन्नेबाटै थाले हुन्छ। यसरी नेपालभरका जात्रा, मठमन्दिर र अभिलेखहरूको अध्ययन र खोज बढाए नेपालको इतिहास अझै बलियो बन्छ।
(सम्पादन : लक्ष्मण श्रेष्ठ, भाषा : प्रद्युम्न खनाल)
किताबका कुराका थप सामग्री :
- ‘आप्रवासनले छुट्याएका दम्पतीको यौन-भोक र छटपटी जस्तो देखें, त्यस्तै लेखें’
- ‘संगीत विरोधी थिएनन् पृथ्वीनारायण शाह’
- ‘यौन, प्रेम र अपराध जनावरको संसारमा पनि छ’
- ‘डोरबहादुर विष्ट फर्केपछि पुस्तकको अनुवाद देखाउँला भनेको, फर्कनु नै भएन’
- ‘क्षमता छ भने कसैले पनि रोक्न सक्दैन’
- “म ‘पर्फेक्सनिस्ट’ होइन, छरिएको लेखक हुँ”
- ‘अभिभावक आफूलाई किताब किन्छन्, छोराछोरीलाई चटक्कै बिर्सन्छन्’
- “पाठकले ‘साला देशमें क्या है’ लेख्नुस् भन्न थालेका छन्”
- ‘बाँच्ने काइदा राउटेबाट सिक्नुपर्छ’
- ‘बीपीको जस्तोसुकै व्यस्त समयमा पनि किताब पढ्ने बानी रहेछ’
- ‘हजुरआमा पुस्ताले संघर्ष नगरेको भए नातिनी पुस्ताले यत्तिको स्वतन्त्रता पाउँदैनथ्यो’
- ‘प्रेम विनाको यौन अपराध हो’
- ‘बुद्ध जातिवाद विरोधी थिए, समान आर्थिक अधिकार हुनुपर्छ भन्ने मान्यता राख्थे’
- ‘सुवर्णशमशेरको पैसा नभएको भए प्रजातन्त्र ढिलो आउन सक्थ्यो’
- ‘गाउँदेखि शहरसम्म विकासको मानक नै उल्टो भयो’
- ‘उपचारको व्यवस्था नहुँदा थुप्रै वन्यजन्तु गुमाइरहेका छौं’
- ‘समुदायलाई वन हस्तान्तरण गर्दा पुरस्कार होइन, तिरस्कार पाएँ’
- ‘बीपीको साहित्य उच्च कोटिको छ, राजनीति असफल’
- ‘सबैभन्दा धेरै पढ्नुपर्ने शिक्षकले हो, तर पढ्दैनन्’
- ‘हाम्रा शासक थेत्तरो होइन, पाखण्डी छन्’
- ‘भैरव अर्यालको छुटेको जीवनी भग्न भैरवमा छ’
- ‘युवराज दीपेन्द्रले हाम्रो घरमा आउँदा धानका बोरा बोकेर भित्र राखेछन्’
- ‘भविष्यमा बाआमा अझै एक्ला हुनेछन्’
- ‘फरुवा बोकेर जनतासँगै पहाड फोड्ने नेताको खाँचाे छ’
- ‘नतीजा खोज्न राजनीतिमै घुस्नुपर्छ’
- ‘सामाजिक पागलपन झन् झन् चुलिंदै गएको छ’
- ‘प्रेम र यौन मानिसबाट अलग गर्न सकिंदैन’
- २५ वर्ष लगाएर लेखिएको पुस्तकमा के छ?
- ‘ढिलोचाँडो समाज पुस्तकमै फर्किन्छ’
- ‘किताब पढ्नु मेरो लागि ध्यान गर्नु जस्तै हो’
- ‘निकुञ्ज क्षेत्रमा भएको बाटो सूर्योदयदेखि सूर्यास्तसम्म मात्रै खोल्नुपर्छ’
- ‘लुकीछिपी विदेश गइरहेका मान्छेलाई जिउँदै समुद्रमा फालेको पनि देखें’
- ‘नेपाल र भारतमा विद्यापति जस्ता कवि अर्का जन्मिएका छैनन्’
- ‘द्वन्द्वका दागबारे लेख्न र बोल्न छाड्नु हुन्न’
- ‘उमेर जति बढ्दै गयो त्यति नै बीपीको लेखनले प्रभावित पार्दै गयो’
- ‘मुन्धुम मानव सभ्यताको इतिहास हो’