हिउँद लागेसँगै भारतबाट बिजुली आयात शुरू
![हिउँद लागेसँगै भारतबाट बिजुली आयात शुरू](https://www.himalkhabar.com/uploads/posts/1596202945electric-line.jpg)
वर्षायाममा भारतमा बिजुली निर्यात गरेको नेपालले हिउँद लागेसँगै भारतबाटै खरीद गर्न शुरू गरेको छ।
यो वर्षको वर्षायाममा नेपालले १५ अर्ब रुपैयाँको बिजुली भारतलाई बेचेको थियो। नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् गत जेठ २८ गतेबाट भारतीय बजारमा बिक्री शुरू गरेको थियो।
प्राधिकरणले जेठदेखि मंसीर २० सम्म एक अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख रुपैयाँ आर्जन गरेको जनाएको छ। प्राधिकरणले यो अवधिमा दैनिक रुपमा अधिकतम ७०० मेगावाटसम्म विद्युत् निर्यात गरेको थियो। निर्यात गरिएको विद्युत्ंको औसत बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ७७ पैसा छ।
चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि मंसीर २० सम्म १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ। यसअवधिमा एक अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको हो। निर्यात गरिएको विद्युत्ंको औसत बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ९६ पैसा छ।
सुख्खायाम शुरू भएसँग खोला तथा नदीमा पानीको बहाव घटी देशभित्रका जलविद्युत्ंगृहबाट उत्पादन घट्न थालेको छ। जाडो याम शुरू भएसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत् आयात पनि शुरू भएको प्राधिकरणले जनाएको। शुक्रबार रातिबाट विद्युत् निर्यात बन्द हुनेछ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रुपमा विद्युत्ंको अधिकतम माग एक हजार ७०० मेगावाटको हाराहारीमा रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले मात्र नधान्ने हुँदा थोरै परिमाणमा विद्युत् आयात शुरू गरिएको बताए।
“अहिले विद्युत् उत्पादन र माग करीब करीब बराबरी छ। अर्धजलाशययुक्त विद्युतगृहमा दिउँसो र राति पानी जम्मा गरी साँझ र बिहानको पिक सययमा चलाइरहेका छौं,” घिसिङले भने।
पिक समयमा आयात गर्दा विद्युत्ंको दर महंगो पर्छ भने दिउँसो र रातिको दर सस्तो पर्छ। त्यसैले देशभित्रका अर्धजलाशययुक्त आयोजनामा दिउँसो र राति पानी जम्मा गरी उक्त समयमा आयात गर्दा सस्तो दरमा पाइने विद्युत् थोरै परिमाणमा मात्र आयात शुरू गरिएको घिसिङले बताए।
उनले चैत र वैशाखमा विद्युत् आयातको परिणाम केही बढे पनि यसवर्ष आयातभन्दा निर्यात बढी भई खूद निर्यातकर्ता बन्ने अवस्था प्रक्षेपण गरिएको बताए। “आगामी वैशाखको दोस्रो साताबाट विद्युत् निर्यात पुनः शुरू हुने छ, यस वर्ष करीब ९०० मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा थपिंदै छ, त्यसैले अर्को वर्ष २५-३० अर्ब रुपैयाँको विद्युत् निर्यात हुनेछ,” घिसिङले भने।
उनले दुई देशबीचको प्रसारण सञ्जाल सुधारका लागि ठूलो क्षमताका लाइनहरू बनिरहेको तथा देशभित्र पनि जलविद्युत् आयोजनाहरूको निर्माण भइरहेकाले आगामी पाँच वर्षभित्रमा वार्षिक रुपमा करीब एक खर्ब रुपैयाँको विद्युत् निर्यात हुने अवस्था बनेको दाबी गरे।
प्राधिकरणले जेठमा २१ करोड ६० लाख, असारमा एक अर्ब ७८ करोड ५३ लाख, साउनमा दुई अर्ब १४ करोड ७६ लाख र भदौमा तीन अर्ब ४७ करोड ८५ लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ। यसैगरी, असोजमा चार अर्ब १७ करोड ७७ लाख, कात्तिकमा दुई अर्ब ६९ करोड ७० लाख र मंसीर २० सम्म ७३ करोड ५९ लाख रुपैयाँ विद्युत् निर्यात गरी आर्जन भएको छ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ। प्रााधिकरणले आइएक्सको डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम करीब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लि-एनभीभीएनलाई बिक्री गरिरहेको थियो। एनभीएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरेको थियो।
भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करीब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ। नेपाल विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५४७ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६५७ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ।