राष्ट्रिय सभाको निर्वाचन माघ ११ मा गर्ने सरकारको निर्णय
![राष्ट्रिय सभाको निर्वाचन माघ ११ मा गर्ने सरकारको निर्णय](https://www.himalkhabar.com/uploads/posts/800X600/election-1_1652439537.jpg)
राष्ट्रिय सभाका रिक्त सदस्य पदका लागि आउँदो माग ११ गते निर्वाचन हुने भएको छ।
बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको हो। यसअघि निर्वाचन आयोगले माघ ११ मा निर्वाचन गर्न सरकारलाई सिफारिश गरेको थियो। त्यसकै आधारमा निर्वाचनको मिति तोकिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले बताइन्।
आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ सदस्यको पदावधि सकिंदै छ। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार फागुनमा रिक्त हुने पदहरूको पूर्ति माघ १५ सम्म गरिसक्नुपर्ने हुन्छ।
अहिले नेपाली कांग्रेसबाट अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ र रमेशजङ रायमाझी, नेकपा (एमाले) बाट इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल, कुमार दसौँदी, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई, नेकपा (माओवादी केन्द्र) बाट बिना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी, जनता समाजवादी पार्टी (जसपा) बाट प्रमिला कुमारी, नेकपा (एकीकृत समाजवादी) बाट नन्दा चपाइँ र सिङबहादुर विश्वकर्मा, स्वतन्त्र डा. खिमलाल देवकोटा र मनोनित डा. विमला पौड्यालको कार्यकाल सकिन लागेको हो।