तीन दलबीच निर्वाचन मिति घोषणाबारे छलफल
प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख तीन दलका शीर्ष नेताबीच आज बिहान संविधान संशोधन, निर्वाचनलगायत विषयमा सकारात्मक छलफल भएको छ ।
तीन दलका नेताबीच छिट्टै अर्को बैठक बसी विद्यमान राजनीतिक समस्याबारे समाधान खोज्ने सहमति भएको बैठकपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताए । उनले संविधान संशोधन प्रस्ताव फिर्ता लिन लागिएको हो भन्ने पत्रकारको प्रश्नमा अहिले फिर्ता नहुने स्पष्ट पारे ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई निर्वाचनतर्फ केन्द्रित गराउने र निर्वाचनसम्बन्धी कानुनको तर्जुमा लगायत विषयमा गम्भीर छलफल भएको प्रतिक्रिया दिए ।
उनले निर्वाचन सम्बन्धी आवश्यक कानून बनाएर निर्वाचन मिति घोषणा गर्नेबारे सकारात्मक छलफल भएको र सकेसम्म चाँडै निर्वाचन गर्नुपर्छ भन्नेमा तीनवटै दल सहमत भएको जानकारी दिए ।
उनले भने, "यसबारे छिट्टै थप छलफल गरी टुंगो लगाइन्छ ।"
रासस