स्वास्थ्य बीमा बाेर्डका पाँच सदस्यकाे सामूहिक राजीनामा
![स्वास्थ्य बीमा बाेर्डका पाँच सदस्यकाे सामूहिक राजीनामा](https://www.himalkhabar.com/uploads/posts/800X600/health-insurance-1697546589.JPG)
स्वास्थ्य बीमा बोर्डबाट पाँच सदस्यले सामूहिक राजीनामा दिएका छन्।
राजीनामा दिनेहरूमा बोर्डका मनोनीत सदस्यहरू डा. सुरेश तिवारी, डा. तारा साह, चन्द्र थापा, टीका चापागाईं भट्टराई र इन्द्रकला राई रहेका छन्। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई उनीहरूले राजीनामा बुझाएका हुन्।
नौ महीनादेखि बाेर्ड अध्यक्ष नियुक्त नगरेकाे, बीमा कार्यक्रम गिजाेल्न गलत मनसायले कार्यकारी निर्देशकलाई निलम्बन गरेकाे, आवश्यक जनशक्ति व्यवस्थापन नगरेकाे भन्दै उनीहरूले राजीनामा दिएका हुन्। बीमालाई स्वायत्त बन्न नदिएकाे पनि उनीहरूकाे आराेप छ।
उनीहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेत र सरकार स्वास्थ्य बीमा सक्न लागिपरेको आरोप पनि लगाएका छन्। मन्त्री बस्नेतले यसअघि स्वास्थ्य बीमा ऐन विपरीत बोर्डका कार्यकारी प्रमुख डा. दामोदर बसौलालाई स्पष्टीकरण सोधेका थिए। त्यसको १५ दिनपछि मन्त्रिपरिषद्ले बसौलालाई तीन महीनाका लागि निलम्बन गर्दै एक साताभित्र स्पष्टीकरण पेश गर्न भनेको छ।
बीमा बोर्ड आठ महीनादेखि अध्यक्षविहीन छ। मन्त्री बस्नेतले हिजाे मात्रै मन्त्रालयका गुणस्तर मापन महाशाखा प्रमुख डा. मदन उपाध्यायलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेका थिए।
पाँच जना सदस्यले सामूहिक राजीनामा दिएपछि बोर्डमा निमित्त कार्यकारी निर्देशक र अर्थ मन्त्रालयका प्रतिनिधि गरी दुई जना मात्र सदस्य छन्। तर अर्थ मन्त्रालयका प्रतिनिधि लगातार तीन बैठकमा नआएपछि स्वास्थ्य बीमा ऐन अनुसार उनकाे पद रिक्त छ।