नेपालमा पनि भइरहेको छ निज्जरको जस्तै हत्या?
नेपालमा भएका कतिपय हत्या घटनालाई सुरक्षा विश्लेषकहरूले खालिस्तान समर्थक हरदीप सिंह निज्जरको क्यानडामा भएको हत्यासँग तुलना गरेर हेर्ने गरेका छन्।
२०८० असार ३ गते क्यानडाको ब्रिटिश कोलम्बियास्थित एक गुरुद्वारामा सिख नेता हरदीप सिंह निज्जरको गोली हानेर हत्या भएपछि भारत र क्यानडाको सम्बन्धमा दरार सिर्जना भएको छ। हत्याको तीन महीनापछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडरले आफ्ना गुप्तचर संस्थाहरूको सूचना उल्लेख गर्दै सिंहको हत्या भारतीय राज्य प्रायोजित भएको संसद्मै दाबी गरेका थिए। त्यो आरोपलाई भारतले अस्वीकार गरे पनि दुई मुलुकको सम्बन्ध भने एकअर्काका कूटनीतिज्ञलाई आफ्नो देशबाट निकाला गर्ने तहसम्म पुगेको छ। यो विवाद कहाँ पुगेर टुङ्गिन्छ थाहा छैन।
भारतीय गुप्तचर संस्था मार्फत आफ्नो देशभित्रै सिंहको हत्या भएको क्यानडाको आरोपपछि यसअघि पाकिस्तानमा मारिएका र बेलायतमा मृत्यु भएका दुई सिख नेताको घटनालाई पनि शङ्कास्पद मानिएको छ। गत मेमा पन्जाबको खालिस्तान कमान्डो फोर्सका प्रमुख परमजित सिंहलाई पाकिस्तानमा गोली हानेर मारिएको थियो। परमजितको हत्याराको पहिचान अहिलेसम्म हुन सकेको छैन।
त्यस्तै, गत जूनमा खालिस्तान लिबरेशन फोर्सका प्रमुख भनिएका अवतार सिंह खण्डाको लन्डनमा ज्यान गएको थियो। त्यसमा पनि भारतीय जासूसी संस्थाको हात रहेको क्यानडाले आरोप लगाएको छ।
शिखहरूको पवित्र भूमिका रूपमा स्वतन्त्र मुलुक खालिस्तान निर्माण हुनुपर्ने माग राख्दै सन् १९७० देखि आन्दोलन चलिरहेको छ। यो आन्दोलन सशस्त्र संघर्षका रूपमा समेत विकसित भएको थियो, जुन असफल भयो।
अहिले हत्या भएका सिख नेतालाई भारतले आतङ्कवादीको सूचीमा राखेको थियो। क्यानडाका प्रधानमन्त्रीले भने हरदीप आफ्नो देशको नागरिक भएको बताएका छन्।
अन्य देशमा अजेन्ट पठाई आरोपित व्यक्तिको हत्या गराउने गरेको आरोप भारतलाई पहिलो पटक लागेको भने होइन। नेपालमा पनि भारतले आतङ्कवादी र नक्कली मुद्राको कारोबारीको सूचीमा राखेकाहरूको हत्या गर्ने गरेको आरोप लाग्दै आएको छ।
त्यस्ता घटनाको अनुसन्धान हुँदा दक्षिणी छिमेकी मुलुकको हात रहेको ‘क्लू’ फेला परेपछि अनुसन्धान नै रोकिने गरेका प्रशस्त उदाहरण छन्। यद्यपि नेपालले यस्ता घटनाप्रति न कूटनीतिक हिसाबले विरोध जनाएको पाइन्छ न त त्यसको प्रतिवाद नै गर्न सकेको छ। क्यानडाले भने मुखर रूपमा भारतीय सरकार संरक्षित हत्या भएको दाबी गरेको छ। त्यही कारणले दुई देशबीचको सम्बन्धमा दरार आएको हो।
नेपालमा हत्या हुन्छ, आवाज उठ्दैन
नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न भएको आरोपमा २०५५ सालमा सबैभन्दा पहिले नेपालीको हत्या भएको थियो। जाली नोट कारोबारको आरोप लागेका सांसद एवं पूर्व मन्त्री मिर्जा दिलसाद वेगलाई काठमाडौंको सिफलमा भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विंग (रअ)ले भूमिगत गिरोह छोटे राजन समूह प्रयोग गरेर हत्या गराएको आरोप छ।
यो घटनाको जाँचबुझ गर्न २०५५ मा गठित आयोगले नै मिर्जाको हत्या हुनुभन्दा अघि भारतीय सुरक्षाकर्मी आएको भन्दै ‘रअ’ को भूमिका हुन सक्ने इंगित गरेको थियो। आयोगको प्रतिवेदनमा भनिएको छ, ‘भारतीय प्रहरीहरू हतियार सहित राजधानीको बस्तीमा पसी नेपाली नागरिकको घरमा अनधिकृत प्रवेश र खानतलासी लिएको जस्ता उदाहरणलाई दृष्टिगत गर्ने हो भने कुनै विदेशी शक्ति वा जासूसी संस्था समेतको संलग्नतामा यो हत्याकाण्ड भएको हुन सक्ने सम्भावनालाई उपेक्षा गर्न सकिंदैन।’
यो घटनामा भारतीय आपराधिक गिरोह छोटा राजन समूहका बब्लु श्रीवास्तव काठमाडौं आएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। घटना लगत्तै छोटा राजनले मिर्जाको हत्या आफ्नो समूहले गरेको भन्दै इन्डिया टुडे म्यागेजिनमा अन्तर्वार्ता छापिएको थियो।
त्यस्तै, २०६३ मा नेपालगन्जमा कमलसिंह नेपालीको हत्या भारतीय आपराधिक गिरोहबाट भएको थियो। घटना हुनुभन्दा केही दिनअघि मात्रै आफूलाई भारतीय प्रहरी बताउने डीके शाहीले कमलको कोठा खानतलासी गरेको पत्रकार सरोजराज अधिकारीको पुस्तक चक्रव्यूहमा चन्द्रसूर्य पुस्तकमा उल्लेख छ। कमल भारतीय अन्डरवर्ल्ड छोटा राजन समूहबाट अलग्गिएर दाउद इब्राहिमको गिरोहमा सामेल भएका थिए। भारतले दाउद समूहले भारत विरोधी गतिविधि गर्ने आरोप लगाउँदै आएको छ।
२०६६ सालमा जाली भारतीय रुपैयाँ कारोबारमा संलग्न भनिएका तीन जना नेपाली चार महीनामै मारिए। २०६६ असोज १९ मा नेपालगन्जको लालीगुँरास होटलमा अब्दुल मदिज मनिहारको हत्या भएको थियो। २०६० चैतमा भेटिएको नक्कली भारतीय नोटको विषयमा मनिहार विरुद्ध मुद्दा चलेको थियो। शुरूमा पुर्पक्षका लागि थुनामा पुगेका मनिहार पछि धरौटीमा छुटेका थिए।
मनिहारको हत्या गर्न मनमित सिंह परिचालित भएको प्रहरी अनुसन्धानमा देखिएको थियो। पछि युनुस अन्सारीलाई कारागारभित्रै पसेर गोली हानेको घटनामा मनमित पक्राउ परेपछि यो तथ्य खुलेको थियो।
मनिहार हत्याको घटनाको अनुसन्धानमा सहयोग गर्न नेपालले आग्रह गर्दा भारतले शङ्कास्पद व्यक्ति भन्दै इन्कार गरको थियो। नेपाल-भारत सीमा सुरक्षा संयुक्त बैठकमा बाँकेका तत्कालीन प्रमुख जिल्ला अधिकारी वीरेन्द्रबहादुर बानियाँले भारतीय पक्षको सहयोग खोज्दा त्यस्तो प्रतिक्रिया आएको चक्रव्यूहमा चन्द्रसूर्य पुस्तकमा उल्लेख छ।
२०६६ पुसमा बुटवलको मैना बगरमा सौकात वेगको हत्या भयो। भारतीय मोटरसाइकलमा आएर उनको हत्या भएको थियो। प्रहरीले देखाएको शङ्कास्पद व्यक्तिको तस्वीर मोहम्मद वाकर सइनको भएको सनाखत वेगकी श्रीमतीले गरेकी थिइन्। तर, त्यसपछि प्रहरी अनुसन्धान अघि बढेन।
२०६६ सालमा जमिम शाहको हत्यापछि गठित छानबिन आयोगले भने सौकात हत्या पनि मिर्जा हत्याकै अर्को शृङ्खला रहेको ठहर गरेको थियो। रुपन्देहीको तत्कालीन प्रमुख जिल्ला अधिकारी नगेन्द्र झाले आयोग समक्ष भनेका छन्, “स्थानीय भारतीय प्रहरीले सौकात लगायतलाई भारत समक्ष बुझाउन आग्रह गरेका थिए, नबुझाएपछि भारतले छानीछानी मारिरहेको छ।”
सौकात नक्कली भारतीय रुपैयाँ र आतङ्कवादी गतिविधिमा संलग्न रहेको भन्दै भारतले २० हजार रुपैयाँ इनाम सहित ‘मोस्ट वान्टेड’ सूचीमा राखेको थियो।
त्यही वर्षको माघमा सञ्चार उद्यमी जमिम शाह जाली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमै मारिए। लाजिम्पाट-महाराजगन्जको सडकखण्डमा गाडीभित्र सवार जमिमको हत्या भएको थियो। उनको हत्यामा पनि बब्लु श्रीवास्तव प्रत्यक्ष जोडिएको यो घटनाको छानबिन गर्न गठित आयोगले उल्लेख गरेको छ।
आयोगले हत्या योजनामा सामेल भनिएका नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) प्रकाश क्षेत्रीलाई उद्धृत गर्दै जमिम हत्याको योजना केशरमहलस्थित द प्यालेस रेस्टुराँमा बनेको उल्लेख गरेको छ। यो घटनामा नेपाल प्रहरीका डीएसपी जगदीश चन्दले समेत सघाएका थिए। घटना लगत्तै भागेका चन्द अझै फरार छन्।
बब्लुले पनि अधुरा ख्वाब पुस्तकमा आफूलाई जाली भारतीय रुपैयाँको कारोबारमा संलग्नहरूको हत्या गर्न भारतीय प्रहरीले गोप्य ‘मिसन’ दिएको उल्लेख गरेका छन्।
त्यसको दुई वर्षपछि २०६८ असोजमा काठमाडौंको घण्टाघरस्थित मस्जिदबाट मूल सडकमा निस्कने बित्तिकै इस्लामिक संघ नेपालका महासचिव फैजान अहमदको हत्या भयो। यो घटनाको दुई वर्षपछि मोहम्मद फोहद भनिने विपिन यादवले फैजानको हत्या गरेको प्रहरीले खुलायो। यादवलाई बब्लु श्रीवास्तवले फैजानको ‘सफाया’ गर्न खटाएको पाइएको थियो।
सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित छानबिन आयोगले पनि विदेशी आपराधिक गिरोहले फैजानको हत्या गरेको प्रतिवेदन सरकारलाई बुझाएको थियो। प्रतिवेदनमा गोली हान्ने व्यक्तिलाई भारतीय घटना अघि र पछि भारतीय नम्बरबाट टेलिफोन आएको देखिए पनि त्यसबारे विस्तृत विवरण भारतले दिन नमान्नुलाई आयोगले शङ्कास्पद मानेको छ। प्रतिवेदनमा भनिएको छ, ‘भारतीय पक्षबाट टेलिफोन कलहरूको विषयमा जानकारी नदिएबाट भारतीय पक्षकै संलग्नतामा घटना भएको हो भन्न सकिने थप आधारहरू संस्थापित भएका छन्।’
२०७५ असोजमा सुनसरीमा खुर्सिद आलमको हत्या भयो। भारतले खुर्सिद इन्डियन मुजाहिद्दीन (आईएम)का लागि काम गर्ने पाकिस्तानी अजेन्ट भएको आरोप लगाउँदै आएको थियो। आईएमका सदस्यलाई नेपाली नागरिकता दिलाउन र जाली भारतीय मुद्राको कारोबारमा खुर्सिदको संलग्न रहेको भन्दै भारतीय सञ्चारमाध्यमले समाचार समेत प्रकाशन गरेका थिए।
२०७० सालमा बाराको जितपुरमा गोली हानी आफताब अन्सारीको हत्या भएको थियो। गोली हानेर भाग्दाभाग्दै पक्राउ परेका फैद आलमबाट यो घटनामा समेत भारतीय भूमिगत गिरोह जोडिएको खुलेको थियो।
२०७९ असोज ३ गते काठमाडौंको मनोहरा नगरपालिकास्थित गोठाटारमा गोली हानी लाल मोहम्मदको हत्या भयो। यो घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परे। प्रहरीले २१ वर्षीय महोरम मियाँ, १९ वर्षीय रेहान मियाँ र २१ वर्षीया सुस्मिता स्याङतानलाई पक्राउ गरेको थियो।
वीरगन्जवासी मियाद्वयलाई प्रहरीले मुख्य योजनाकार भनी सार्वजनिक गरे पनि घटनाको उद्देश्य र कारण भने खुलाउन सकेको छैन। तर, अनुसन्धानमा संलग्न प्रहरीका अनुसार विगतमा जाली भारतीय रुपैयाँको कारोबार संलग्न मोहम्मदले फेरि पुरानो काम थालेको भन्दै भारतले आपराधिक समूहको सहयोगमा हत्या गरेको हो।
यस बाहेक हत्या प्रयासका घटना पनि छन्। २०६८ वैशाखमा नेपालस्थित पाकिस्तानी दूतावासको भिसा शाखाका कर्मचारी महबुब असिफमाथि महाराजगन्जमा गोली प्रहार भएको थियो। पेट र हातमा गोली लागेका उनी बाँच्न सफल भए। मोटरसाइकल चढेर आएका दुई जनाले उनलाई गोली हानेको भनिए यस घटनामा संलग्न कोही पक्राउ परेनन्। पाकिस्तानले भने घटनामा भारतको हात रहेको दाबी गरेको थियो।
२०६७ फागुनमा जाली भारतीय रुपैयाँ मुद्दामा जेल सजाय भोगिरहेका युनुस अन्सारीको हत्या प्रयास भएको थियो। भारतीय नागरिक मनमित सिंह (विजय सिंह भनिने जसजित सिंह)ले गोली हानेको खुलेको थियो। गोली नपड्किएपछि अन्सारी बाँचेका थिए।
पक्राउ परेका सिंहले प्रहरीलाई दिएको बयान अनुसार अली अध्यक्ष नाम गरेका व्यक्तिले सिंहलाई युनुसको हत्या गर्न नेपाल पठाएका थिए। तत्कालीन एसएसपी हेमन्त मल्ल ठकुरीको संयोजकत्वमा गठित अनुसन्धान समितिको प्रतिवेदनमा मनमितलाई उद्धृत गर्दै भनिएको छ, ‘युनुस अन्सारी आईएसआई (पाकिस्तानी गुप्तचर संस्था)को अजेन्ट भएको र युनुसले भारतमा नक्कली नोट पठाई देशको अर्थतन्त्र ध्वस्त बनाएकाले युनुसलाई मार्न पठाएको।’
पूर्व डीआईजी हेमन्त मल्ल भारतीयले नक्कली भारतीय मुद्रा वा आतङ्कवादमा संलग्न भएका आरोपीबारे दुई किसिमले जानकारी दिने गरेको बताउँछन्। पहिलो, सञ्चारमाध्यम मार्फत। दोस्रो, समकक्षी निकायबीचका दुई पक्षीय बैठकमा अजेन्डामै राखेर। “यी कुरालाई नेपाल सरकारले कहिले पनि गम्भीर रूपमा लिएको देखिंदैन,” मल्ल भन्छन्, “नेपालमा हत्याका घटना भएपछि न्यायिक छानबिन बनेका छन्। ती समितिले समस्या छ भनेको छ र समाधानका उपाय पनि दिएको छ। तर, हेर्ने फुर्सद कसलाई?”
आरोप लागेकाहरूको विषयमा नेपालले भारतीय पक्षको सहयोगमै प्रमाण जम्मा पारेर कम्तीमा पनि न्यायिक कारबाहीको प्रक्रियामा लैजानुपर्ने मल्लको भनाइ छ। “उनीहरूसँग भएको प्रमाण पठाउन लगाएर समन्वयमा यो काम गर्न सकिन्छ,” मल्ल भन्छन्, “प्रमाण भेटिएन भने तिमीहरूको आरोप मात्रै रहेछ भनेर उनीहरूलाई भन्न पनि सजिलो हुन्छ। हाम्रो नागरिकको ज्यान पनि जोगिन्छ।”
आफ्नो जागीरे जीवनको दुई दशक नेपाल प्रहरीको प्रतिआतङ्कवाद हेर्ने एकाइ विशेष ब्यूरोमा बिताएका एआईजी टेकप्रसाद राई भारतीय पक्षले आरोप लगाएकाहरूलाई दुई देशका प्रहरीको समन्वय र सुरक्षा कूटनीति मार्फत दीर्घकालीन समाधान खोज्नुपर्ने बताउँछन्। “अन्तर्देशीय मामिला भएकाले माथिल्लो तहबाटै नै यसको हल खोजिनुपर्छ,” राई भन्छन्, “प्रहरी प्रहरीबीच त समन्वयमा काम भइरहेकै हुन्छ।”
तर, नेपालले आफ्नै भूमिमा आफ्नै नागरिक एकपछि अर्का मारिंदा न भारतीय पक्षसँग प्रतिवाद गर्न सकेको छ न त कूटनीतिक पहल नै। मल्ल भन्छन्, “सरकार त यस्ता घटना हुँदा रमिते मात्र हो।”