ओडिसा रेल दुर्घटनाः आफन्तको शव खोज्दै नेपाली
रेल दुर्घटनामा मारिएका भाइ र बहिनीको छोराको शव खोज्न दुई दिदीबहिनी सहित चार जना आफन्त भुवनेश्वरका अस्पतालमा भौंतारिइरहेका छन्।
भारतको ओडिसा राज्यको बालासोर जिल्लामा तीन दिनअघि भएको रेल दुर्घटनाले अवरुद्ध रेलसेवा शुरू भएपछि २७५ जनाको ज्यान लिएको शताब्दीकै घातक भनिएको दुर्घटनाको पीडाले मृतकका आफन्तजनलाई पिरोलिरहेकै छ।
दुर्घटनामा ज्यान गुमाउनेका आफन्तहरू अहिले भुवनेश्वरका अस्पतालमा आफन्तको शव खोज्न भौंतारिइरहेका छन्। यसरी भौंतारिनेमा नेपालबाट आएका दुई दिदीबहिनी सहित चार जना आफन्त पनि छन्। उनीहरूलाई कहाँ जाने र कसलाई सम्पर्क गर्दा आफन्तको शव पाउन सकिएला भन्ने अन्योल छ। जेठ २२ गते भुवनेश्वर आइपुगेका उनीहरू आफन्तको शव खोज्दै त्यहाँ तीन वटा अस्पताल पुगिसके। तर, कहीं पनि उनीहरूले आफन्तको पत्तो पाउन सकेका छैनन्।
उनीहरूले बताए अनुसार उनीहरूका दुई जना आफन्त ‘कोरोमण्डल एक्सप्रेस’ मा यात्रा गरिरहेका थिए। उनीहरूले एक जना आफन्तको शवको पहिचान गरे पनि अर्को शवको खोजीमा किम्स अस्पताल, त्यसपछि क्यापिटल अस्पताल र अन्त्यमा एम्स अस्पताल पुगे। त्यहाँ उनीहरूले रात बिताएर फेरि शव खोजी कार्य जारी राखे।
“मेरा भाइ र बहिनीका छोरा नेपालबाट आएका थिए। उनीहरू शुक्रबार साँझ ७ बजेतिर रेल चढेका थिए जुन रेल पछि दुर्घटनामा पर्यो। हामीले एक जनाको शवलाई त चिन्यौं, तर अर्को शवको खोजीमा भौंतारिइरहेका छौं। हामीसँग भएको फोटो लगायत सबै कुरा अधिकारीहरूलाई देखाए पनि हाम्रा सबै प्रयास व्यर्थ भइरहेका छन्। उनीहरू हामीलाई अर्को अस्पतालमा जानू भन्छन्,” दुई मध्ये एक दिदीले आँखाभरि आँसु पार्दै भनिन्।
“शुक्रबार साँझ उद्धार कार्यमा लागेका एक स्थानीयले भाइको मोबाइलबाट हामीलाई फोन गरेर ‘तपाईंको आफन्तको रेल दुर्घटनामा मृत्यु भयो’ भन्ने समाचार दिए। त्यसपछि हामी बालासोर आयौं। यहाँका अस्पतालहरूमा गयौं, तर शव पाउन सकेनौं। भुवनेश्वर पनि गयौं। त्यहाँका तीनवटै अस्पतालमा जाँदा पनि शव पाउन सकेका छैनौं। अब के गर्ने हो, तपाईं नै भन्नुस्,” एक जना आफन्तले भने।
ओडिसा टिभीको अनलाइन संस्करणमा प्रकाशित प्रदीप पटनायकको रिपोर्टको नेपाली रूपान्तर।