नागरिकता विधेयकबारे संविधानविद् के भन्छन्?
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे संविधानविद् तथा कानून व्यवसायीले फरक फरक धारणा राखेका छन्।
मन्त्रिपरिषद् बैठकले जेठ १२ गते गरेको सिफारिशका आधारमा राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेका हुन्। २०७९ साउन १५ गते प्रमाणीकरणका लागि पठाएको विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देश सहित पुनर्विचारका लागि साउन २९ गते प्रतिनिधि सभामै फिर्ता पठाएकी थिइन्।
त्यसपछि संसद्ले फेरि पारित गरेको थियो। त्यसलाई प्रमाणीकरणका लागि दोस्रो पटक २०७९ भदौ २० गते राष्ट्रपति समक्ष पेश गरिएको थियो।
त्यसपछि आमनिर्वाचन घोषणा भएको थियो भने प्रतिनिधि सभाको म्याद सकिएकाले तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी थिइनन्। त्यही विधेयकलाई अहिले राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्।
संविधानविद् डा. विपिन अधिकारी अघिल्लो संसद्ले पारित गरेर पठाएको विधेयक अहिले आएर राष्ट्रपतिले प्रमाणीकरण गर्न नमिल्ने बताउँछन्।
मधेश प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा भने मन्त्रिपरिषद् बैठकले नयाँ जीवन दिएकाले विधेयक संविधानसम्मत रूपलै प्रमाणीकरण भएको बताउँछन्।
नेपाल बार एशोसिएशनकी पूर्व उपाध्यक्ष उषा मल्ल पाठक नयाँ म्याडेन्ट सहित आएको प्रतिनिधि सभाले नचिनेको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुनु असंवैधानिक भएको बताउँछिन्।
संविधानविद् तथा कानून व्यवसायीका धारणा उनीहरूकै शब्दमाः
डा. विपिन अधिकारी, संविधानविद्
अघिल्लो सदनले पारित गरेको विधेयकलाई प्रमाणीकरण गर्ने अधिकार राष्ट्रपतिले पाउनुभएको छैन। निष्क्रिय भइसकेको विधेयक ब्युँताउने अधिकार राष्ट्रपति र सरकार दुवैलाई थिएन। संसदीय प्रणालीमा सामान्यतया यस्तो हुँदैन।
राष्ट्रपतिले नागरिकता विधेयक सम्बन्धी ‘बल मेरो कोर्टमा छ’ भन्ने ठान्नुभयो। वास्तवमा बल उहाँको कोर्टमा थिएन। सदनले पारित गरेको १५ दिनमा प्रमाणीकरण नभएपछि नै बल राष्ट्रपतिको कोर्टमा थिएन।
दीपेन्द्र झा, पूर्व मुख्य न्यायाधिवक्ता, मधेश प्रदेश
नागरिकता विधेयक सदनबाट दुई पटक पारित भएको थियो। त्यो विधेयक राष्ट्रपतिका घर्रामा पुगेर बसेको थियो। अहिलेको मन्त्रिपरिषद् बैठकले विधेयकलाई नयाँ जीवन दियो। मन्त्रिपरिषद्ले संसद्को अधिकार प्रयोग गरेर विधेयकलाई नयाँ जीवन दिएको देखिन्छ।
राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयकलाई अन्यथा लिनुपर्ने केही कारण छैन। यसबाट जन्मसिद्धका आधारमा सन्तानको समस्या समाधान हुन्छ। चारदेखि साढे चार लाख जति नेपाली लाभान्वित हुन्छन्। प्रधानमन्त्रीको भारत भ्रमणसँग जोडेर गलत प्रचार गर्नुपर्ने कारण देख्दिनँ।
उषा मल्ल पाठक, पूर्व उपाध्यक्ष, नेपाल बार एशोसिएशन
वर्तमान राष्ट्रपतिज्यू नै शुरूमा यो विधेयक जस्ताको तस्तै प्रमाणीकरण गर्दिनँ भन्नुभएको थियो। नयाँ म्यान्डेट पाएको प्रतिनिधि सभाबाट विधेयक पारित भएको छैन। पहिलाकै संसद्ले पारित गरेको भनेर अहिले राष्ट्रपतिबाट प्रमाणीकरण हुनु संविधानसम्मत छैन।
प्रक्रिया असंवैधानिक भएपछि विधेयकको विषयवस्तुमा बहस गर्नुको अर्थ छैन। कसैले न्यायालय मार्फत चुनौती दिए यो विषयमा थप बहस र छलफल हुन्छ।