भूकम्पले भत्किएका स्वास्थ्य संस्था अझै अलपत्र
सात वर्षअघि गएको भूकम्पका कारण भत्किएका स्वास्थ्य संस्थाको पुनःनिर्माणको काम अझै सकिएको छैन।
महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको ६०औ प्रतिवेदनमा बिरामीले उपचार गराउनुपर्ने स्वास्थ्य संस्था पुनःनिर्माण नगरेर अलपत्र रहेको उल्लेख गरेको छ। भूकम्पले एक हजार १६४ वटा स्वास्थ्य संस्थाका भवन भत्किएका थिए। तर, अहिलेसम्म ८०२ वटा संस्था मात्र पुनःनिर्माण भएका छन्।
महालेखा परीक्षकको प्रतिवेदनले भूकम्पले भत्किएका ४१७ सरकारी भवनमध्ये ४०१ वटा भवन पुनःनिर्माण भएको जनाएको छ। त्यस्तै, ९२० वटा पुरातात्विक सम्पदा पुनःनिर्माण गर्नुपर्नेमा ५८६ वटा मात्र निर्माण भएको जनाएको छ।
भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सुरक्षित बस्ती खोज्दै १०६ वटा वस्ती निर्माण गर्ने योजना बनाएको थियो। त्यसमध्ये हालसम्म ६२ वटा मात्र निर्माण भएका छन्। पुरात्विक सम्पदा र एकीकृत वस्तीजस्ता योजना समयमै सक्नुपर्ने महालेखा परीक्षकले सुझाएको छ।