नागरिक उन्मुक्तिबाट उपराष्ट्रपतिका उम्मेदवारको उमेरै पुगेन
नागरिक उन्मुक्ति पार्टीले उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको भए पनि अध्यक्ष रञ्जिता श्रेष्ठको उमेर नै नपुग्ने देखिएको छ।
नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी कैलाली-१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी थिइन्।
संविधानअनुसार, उपराष्ट्रपतिको उम्मेदवार हुन ४५ वर्ष उमेर पुगेको हुनुपर्छ। संविधानको धारा ६९ मा ‘उपराष्ट्रपतिको योग्यता, निर्वाचन प्रक्रिया, पदावधि सम्बन्धी व्यवस्था राष्ट्रपतिको सरह हुनेछ’ भनिएको छ।

राष्ट्रपतिको योग्यता सम्बन्धी धारा ६४ मा ‘संघीय संसदको सदस्य हुन योग्य भएको, कम्तीमा पैंतालिस वर्ष उमेर पूरा भएको र कुनै कानूनले अयोग्य नभएको’ व्यक्ति राष्ट्रपतिको उम्मेदवार हुन योग्य हुने उल्लेख छ। यसअनुसार, उपराष्ट्रपतिको उम्मेदवार हुन पनि ४५ वर्ष पुगेको हुनुपर्छ।
नागरिक उम्मुक्तिले उम्मेदवार बनाउने निर्णय गरेको श्रेष्ठको उमेर ४० वर्ष मात्रै पुगेको देखिन्छ। गत मंसीर ४ गते भएको प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता उनले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार, श्रेष्ठको जन्म २०३९ फागुन ११ गते भएको उल्लेख छ।
