राष्ट्रपति निर्वाचनबारे राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि निर्णय गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय गर्ने भएको छ।
राष्ट्रपति निर्वाचनको सन्दर्भमा रास्वपाले फागुन २५ गते बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए। भोलि नै राष्ट्रपति निर्वाचन हुँदै छ।
बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने तय भएको छ। राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ उम्मेदवार छन्।
अन्य ठूला राजनीतिक दलले भने कसलाई मत दिने भन्ने निर्णय गरिसकेका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले पौडेललाई मतदान गर्ने निर्णय गरेका छन्।
त्यस्तै, एमालेले नेम्वाङलाई मतदान गर्ने निर्णय गरिसकेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।