सांसद चौधरीलाई रिहा गर्न नागरिक उन्मुक्ति पार्टीको माग
सांसद अरुणकुमार चौधरीलाई तत्काल रिहा गर्न नागरिक उन्मुक्ति पार्टीले माग गरेको छ।
नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले बिहीबार प्रेस विज्ञप्ति जारी २४ घण्टाभित्र सांसद चौधरीलाई रिहा गर्न सरकारलाई ‘अल्टिमेटम’ दिएको छ।
उन्मुक्ति पार्टीले भनेको छ ‘सांसद चौधरी २०६६ सालपछि स्थानीय र प्रदेश र संघ गरी चार पटकसम्म निर्वाचन लडेका छन्। त्यो बीचमा राज्य तथा निर्वाचन आयोग के हेरेर बसेका थिए? अहिले नागरिक उन्मुक्तिबाट विजय पश्चात् किन मुद्दा उठाइयो? पूर्वाग्रही आँखाले किन हेरियो?’
उन्मुक्ति पार्टीले सांसद चौधरीलाई रिहा नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। सरकार र सम्बन्धित निकायलाई २४ घण्टाभित्र रिहा नगरे त्यसपछि उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने विज्ञप्तिमा जनाइएको छ।
यस्तै, थारू कल्याणकारिणी समिति कैलाली र थारू राष्ट्रिय मुक्ति मोर्चाले पनि विज्ञप्ति जारी गर्दै घटनाबारे ध्यानाकर्षण भएको जनाएका छन्। साथै, आन्दोलनका क्रममा भएका राजनीतिक मुद्दालाई समाधान गर्न आग्रह गरेका छन्।