गङ्गालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठान बनाउनुपर्छ: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले बाँसबारीस्थित शहीद गङ्गालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको २७औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले भने, “तपाईंहरूले यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्ने चाहना र माग राख्नुभएको छ। यसको प्रक्रियाबारे सरकारले पनि गम्भीरतापूर्वक लिनेछ। तपाईंहरू पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मार्फत यसको प्रक्रिया बुझ्नुहोस्। सरकार यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्न प्रतिबद्ध छ।”
प्रधानमन्त्री दाहालले गङ्गालाल हृदय केन्द्र नेपाली जनताको आशा र भरोसाको केन्द्र भएको बताए। उनले भने, “गङ्गालाल हृदय केन्द्र देशभरिका नेपाली जनताको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित छ। जनताले यसलाई मुटुरोगको उपचार र आफ्नो भरोसाको केन्द्रका रूपमा बुझेका छन्।”
उनले शहीद गङ्गालाल सबैले सम्मान गर्ने नाम भएको भन्दै तानाशाही र निरङ्कुशताविरोधी आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने व्यक्तित्वका नाममा स्थापित हुनुको नाताले यस केन्द्रको भूमिका मुटुरोगका साथै लोकतन्त्रको सुदृढीकरण र सामाजिक न्यायसँग पनि जोडिएको बताए। “विपन्न वर्गलाई सहज स्वास्थ्य सेवा प्रवाह गरेर यहाँहरूले लोकतन्त्र र सामाजिक न्यायप्रतिको भूमिका पूरा गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,” दाहालले भने।
उनले नेपाली जनताको ठूलो बलिदान र संघर्षबाट संविधान जारी भएको र त्यसमा सामाजिक न्याय र समानतालाई उच्च महत्त्व दिइएको बताए। “संविधानमा नै स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा लिपिबद्ध गरिएको छ। तर, ती मौलिक हक कार्यान्वयन गर्ने प्रयोजनका लागि कानून बनाउन बाँकी नै छ। नेपाल सरकार संविधानले परिकल्पना गरे अनुसारका नयाँ ऐनहरू यथाशीघ्र संसद्मा पेस गर्ने प्रक्रियामा छ,” दाहालले भने।