भोलि साँझदेखि वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागले सोमबार साँझदेखि वर्षाको सम्भावना रहेको जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबार साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै सोमबार साँझदेखि वर्षा हुने जनाएको छ। सोमबार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने भएको छ।
देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहे पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यसैगरी, मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको आकलन छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ।
महाशाखाका अनुसार, मंगलबार राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही भागमा वर्षाको सम्भावना रहेको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाइएको छ।
तराईका केही भूभागमा बिहानीपख हुस्सु तथा कुहिरो लाग्ने जनाइएको छ। जसले गर्दा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ।