जुन मत पाएँ, त्यसलाई टुट्न दिनेछैन: रवीन्द्र मिश्र
काठमाडौं-१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले थोरै मतान्तरले पराजित हुनुपर्दा अलिकति दुःखी भएको बताएका छन्।
मंगलबार प्रेस विज्ञप्ति जारी गरी काठमाडौं-१ बाट निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई बधाई दिएका छन्। उनले भनेका छन्, “निर्वाचनमा विजयी हुनुभएका प्रकाशमान सिंहलाई बधाई तथा शुभकामना अर्पण गर्दै आगामी कार्यकालमा तपाईंलाई यो समाज र देशलाई शिरमा राखेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रेरणा र शक्ति मिलोस् भन्ने कामना गर्दछु।”
उनले पराजित भए पनि झन् दृढ भएर लाग्ने वाचा गरेका छन्। “१२५ मतको झिनो अन्तरबाट पराजित हुनुपरेकोमा अलिकति दुःखी छु, तर म समाज र देश रूपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएको जानकारी गराउन चाहन्छु,” मिश्रले भनेका छन्, “गत पाँच वर्षको मेरो उतार-चढावपूर्ण राजनीति, चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीका बीच पनि जुन मत पाएँ, त्यसलाई म टुट्न दिनेछैन।”
रवीन्द्र मिश्रको प्रेस विज्ञप्ति:
एक सय पच्चीस मतको झिनो अन्तरबाट पराजित हुनुपरेकोमा अलिकति दु:खी छु, तर म समाज र देश रूपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएको जानकारी गराउन चाहन्छु। गत पाँच वर्षको मेरो उतार-चढावपूर्ण राजनीति, चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीका बीच पनि जुन मत पाएँ, त्यसलाई म टुट्न दिनेछैन।
‘झूट बोलेर मत माग्दिनँ’ र ‘चुनाव जित्ने देश हार्ने राजनीति गर्दिनँ’ भन्ने मेरो दृढताको जगमा प्राप्त यो विश्वासका लागि म मतदाता तथा सबै शुभेच्छुकहरूप्रति गहिरो आभार प्रकट गर्न चाहन्छु। म त्यो शब्दमा व्यक्त गर्न सक्दिनँ। यस पटक काठमाडौं क्षेत्र नं १ मा ‘चुनावी संग्राम’ मात्र भएको थिएन, त्यो ‘चुनावी महासंग्राम’ थियो।
धेरै साथीहरूले निर्वाचन परिणामबारे चिन्ता गर्दै मप्रति गहिरो सहानुभूति व्यक्त गरिरहनुभएको छ। अलि आध्यात्मिक प्रकृतिको व्यक्ति हुनाले म “कर्म गर फलको ‘भर’ नपर” भन्ने मान्यता राख्दछु। कर्मको फल आफ्नो नियन्त्रणमा छैन भन्ने विश्वास गर्दछु। तसर्थ, म जीवनका प्रतिकूलताहरूलाई सहज रूपमा ग्रहण गर्न सक्छु।
म मेरा शुभेच्छुक मतदाता र सहयोगी साथीहरूबारे सोचेर भावुक छु, जसमध्ये कतिपयको आँखामा मैले २०७४ साल र हालको निर्वाचन प्रचारको क्रममा स्नेह मात्र होइन, टलपलाएको आँसु पनि देखेको छु। राजनीति यस्तो क्षेत्र हो जहाँ जिम्मेवारीमै नपुगी ठोस काम गरेर देखाउन नसकिने रहेछ। म २०७४ साल र यस पटकको निर्वाचन दुवैमा झिनो मतले पराजित भएँ। तर, ममाथि यति ठूलो विश्वास व्यक्त गर्ने काठमाडौं क्षेत्र नं १ का मतदाताका लागि मैले केही गर्न सकेको छैन।
मेरो पृष्ठभूमि पत्रकारिता र परोपकारसँग जोडिएको छ। मैले पत्रकारितामा फर्किने या पत्रकारिता मार्फत आफ्नो निर्वाचन क्षेत्रलाई योगदान गर्ने सम्भावना म देख्दिनँ। तर, व्यापक प्रतिकूलतामाझ पनि ममाथि विश्वास गर्ने काठमाडौं क्षेत्र नं १ का मतदाताप्रति आभार प्रकट गर्न मैले मेरा पछिल्ला दुई पुस्तक (विचारभन्दा माथि देश र राजनीतिसँगै राजकाज)बाट प्राप्त हुने लेखकस्व र त्यसमा थप रकम जोडेर रु.२५ लाखको ‘सीड मनि (बीज पैसा)’ बाट ‘काठमाडौं क्षेत्र नं १ सरोकार कोष’ स्थापना गर्ने निर्णय गरेको छु। त्यसले मलाई मनमा अलिकति भए पनि शान्ति दिनेछ।
मेरै अग्रसरतामा स्थापित परोपकारी संस्था हेल्प नेपाल नेटवर्क पनि यस्तै सानो रकमबाट शुरू गरिएको थियो र विश्वभरिका नेपाली नेपाली मिलेर त्यसले आज सयौं परोपकारी काम गरिसकेको छ। त्यसै गरी ‘काठमाडौं क्षेत्र नं १ सरोकार कोष’ ले पनि भविष्यमा यो क्षेत्र (वडा नं १०, ११, २९ र ३१) भित्र धेरै राम्रा कामहरू गर्न सक्नेछ भन्नेमा म विश्वस्त छु। विश्वका विभिन्न मुलुकमा बस्नुहुने काठमाडौं क्षेत्र नं १ का तथा अन्य शुभेच्छुकहरूले सो कोषमा सहयोग गर्न सक्नुहुनेछ। सो कोषलाई कसरी औपचारिक बनाउने, कसरी सञ्चालन गर्ने र के कस्ता काममा केन्द्रित गर्ने भन्नेबारे म केही समयभित्र जानकारी गराउनेछु।
निर्वाचनमा विजयी हुनुभएका प्रकाशमान सिंहलाई बधाई तथा शुभकामना अर्पण गर्दै आगामी कार्यकालमा तपाईंलाई यो समाज र देशलाई शिरमा राखेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रेरणा र शक्ति मिलोस् भन्ने कामना गर्दछु।