सुनकोशी-मरिण डाइभर्सनको १३ किलोमिटर सुरूङ खन्न शुरू
![सुनकोशी-मरिण डाइभर्सनको १३ किलोमिटर सुरूङ खन्न शुरू](https://www.himalkhabar.com/uploads/posts/800X600/sunkosi_maridaivarsan_1665734383.jpg)
सुनकोशी-मरिण डाइभर्सन बहुउद्देशीय आयोजनाको सुरूङ खन्न शुरू गरिएको छ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी-मरिण डाइभर्सनको अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) बाट सुरूङ खन्न शुरू गरिएको आयोजना प्रमुख मित्र बरालले बताए। आगामी २२ महीनामा १३.३ किलोमिटर सुरुङ खनीसक्ने लक्ष्य राखिएको छ। भौगर्भिक रुपमा कुनै समस्या नआए समय तालिका भित्रै सुरुङ खन्ने काम सकिने बरालको भनाइ छ।
यो आयोजनाका लागि सरकारले चालु आर्थिक वर्षमा दुई अर्ब ७० करोड बजेट विनियोजन गरेको छ।
२०७७ फागुन २० गते आयोजनाको शिलान्यास भएको थियो। सुनकोशी गाउँपालिका-७ कानढुङग्रीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीमा डाइभर्सनको संरचना निर्माण गरी सुनकोशीको करीब ६७ क्युमेक पानीलाई १३.३ किलोमिटर लामो सुरूङमार्फत कमलामाई नगरपालिका-२ कुसुमटारस्थित मरिण खोलामा पानी खसाल्ने योजना रहेको छ।
त्यसपछि बागमती सिँचाइ आयोजनाको संरचनामार्फत तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाको करीब एक लाख २२ हजार हेक्टर जमीनमा सिंचाइ गर्ने लक्ष्य राखिएको छ। यससँगै ३१.०७ मेगावाट क्षमताको जलविद्युत उत्पादन हुने भएको छ।
यो आयोजनाको पहिलो चरणको कार्य अन्तर्गत सुरुङ निर्माणको लागि चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपसँग सम्झौता भएको छ।