मधेशका कांग्रेस मन्त्रीले राजीनामा नदिने
![मधेशका कांग्रेस मन्त्रीले राजीनामा नदिने](https://www.himalkhabar.com/uploads/posts/800X600/madhesh_1658986631.jpg)
मधेश प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीले राजीनामा नदिने भएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई बर्खास्त गरेपछि मधेश सररकामा सहभागी कांग्रेसका मन्त्रीलाई राजीनामा दिन मुख्यमन्त्री लालबाबु राउतले आग्रह गरेका थिए। बिहीबार राति फोन गरी मुख्यमन्त्री राउतले राजीनामा दिएर मार्ग प्रस्तत गर्न आग्रह गरेका थिए। तर, कांग्रेसका मन्त्रीले आफूहरूसँग मात्रै राजीनामा मागिएकाले नदिने निश्कर्षमा पुगेका हुन्।
कांग्रेसबाट मधेश सरकारमा सहभागी भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवले राजीनामाको विषयमा पार्टीसँग छलफल गरेको बताए। पार्टीले राजीनामा नदिन निर्देशन दिएको उनले बताए। “पार्टीले राजीनामा नदिन भनेको छ। मुख्यमन्त्रीले हटाएमा ठीक छैन,” यादवले भने।
कांग्रेसबाट तीन जना मन्त्री सरकारमा सहभागी छन्। भौतिक पूर्वाधार मन्त्री यादव, महिला बालबालिका मन्त्री वीरेन्द्र सिंह र उर्ना तथा खानेपानी मन्त्री ओम प्रकाश शर्मा छन्।
नेकपा (एकीकृत समाजवादी) बाट उद्योग, पर्यटन तथा वन मन्त्री शुत्रधन महतोले मुख्यमन्त्रीले आफूसँग राजीनामा नमागेको बताए। त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट गृह तथा संचार मन्त्री भरतप्रसाद साहले पनि आफ्नो पार्टीका मन्त्रीसँग राजीनामा नमागेको बताए।
मधेशका मुख्यमन्त्री राउतले केन्द्रमा आफ्नो पार्टीका मन्त्रीलाई हटाएकाले प्रदेश सरकारबाट पनि हटाउने सकिने प्रतिक्रिया दिएका थिए। सत्तारुढ गठबन्धनमा रहेको जसपाले नेकपा (एमाले)सँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले बिहीबार चार मन्त्रीलाई हटाएका थिए।