सुदूरको विपत् प्रभावित क्षेत्रमा डिग्निटी र किशोरी किट वितरण
_1664353166.JPG)
सुदूरपश्चिम प्रदेशको बाढी तथा पहिरोले प्रभावित क्षेत्रमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)ले डिग्निटी किट र किशोरी किट वितरण गरेको छ।
प्रदेश र स्थानीय सरकारसँगको साझेदारीमा यूएनएफपीएले विस्थापित महिला तथा किशोरीलाई सहजताका लागि अत्यावश्यक प्रजनन स्वास्थ्य सामग्री वितरण गरेको हो। बाढीपहिरो प्रभावित दार्चुलाको जिल्ला अस्पताललाई पाँच सेट र महाकाली नगरपालिका–२ स्थित स्वास्थ्य चौकीलाई दुई सेट प्रजनन स्वास्थ्य सामग्री प्रदान गरिएको छ।
जिल्ला अस्पताल, दार्चुलाका मेडिकल सुपरिटेन्डेन्ट आदर्श लिम्बूले विपत्का वेला महिला तथा किशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्य सेवालाई निरन्तरताका दिन यूएनएफपीएको सहयोगले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
दार्चुला अस्पताललाई डिग्निटी किट र किशोरी किट हस्तान्तरण गर्दै यूएनएफपीएको टोली।यूएनएफपीएले सुदूरपश्चिमका दार्चुला, अछाम र कैलालीमा महिला तथा किशोरीका लागि ४६२ डिग्निटी किट्स र २७० किशोरी किट्स वितरण गरेको छ। गर्भवती र सुत्केरी सहित महिला तथा किशोरीको महीनाबारी लगायत आधारभूत स्वच्छता तथा सुरक्षाको सुनिश्चितताका लागि डिग्निटी किट्स र किशोरी किट्स वितरण गरिएको यूएनएफपीएले जनाएको छ।
मानवीय विपत्का वेला विद्यमान लैङ्गिक विभेद, यौन तथा प्रजनन स्वास्थ्यमा गरिने बेवास्ताका कारण महिला तथा किशोरी सबैभन्दा बढी प्रभावित हुने भएकाले सहयोग गरिएको यूएनएफपीएका नेपाल प्रतिनिधि योङ्ग होङ्गले बताए। प्रभावितका लागि व्यवस्था गरिएका अस्थायी टहरा तथा आश्रयस्थलमा लैङ्गिक हिंसाको जोखिम बढी हुने भएकाले सरोकारवाला निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ।