निर्वाचन क्षेत्र बाँडफाँडमा अल्झियो गठबन्धन
आगामी निर्वाचनका लागि प्रतिनिधि सभाको सीट संख्यामा लगभग सहमति नजिक पुगे पनि निर्वाचन क्षेत्र बाँडफाँडको विषयमा सत्तारूढ गठबन्धन निष्कर्षमा पुग्न सकेको छैन।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको गठबन्धनको बैठकमा सीट संख्याका विषयमा लगभग सहमति भएको कार्यदलका सदस्य एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। “आज सीट बाँडफाँडको विषयमा छलफल भएको छ। सहमति नजिक पुगेका छौं, अब दुई दिन पर्खनुपर्छ,” बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री कार्कीले भने, “अब बैठक बसेर सहमतिको पूर्ण निर्णय गर्छौं।”
आइतबारको गठबन्धनको बैठकमा कार्यदलले सीट बाँडफाँडको खाका प्रस्तुत गरेको थियो। त्यसमा शीर्ष नेताहरूले छलफल गरेका थिए।
प्रतिनिधि सभाका १६५ सीटमध्ये नेपाली कांग्रेसलाई ९०, नेकपा (माओवादी केन्द्र) लाई ४४, नेकपा (एकीकृत समाजवादी) लाई १८, जनता समाजवादी पार्टी (जसपा) लाई १२ र राष्ट्रिय जनमोर्चालाई एक सीट छुट्याइएको छ। कांग्रेसका ९० सीटमा महन्थ ठाकुर नेतृत्वका लोकतान्त्रिक समाजवादी (लोसपा) लाई पनि समावेश गर्नुपर्ने शर्त राखिएको छ। त्यस्तै, माओवादीका ४४ सीटमा नेपाल समाजवादी पार्टी (नेसपा) का बाबुराम भट्टराई र वामदेव गौतम लगायतका नेतालाई पनि समेट्नुपर्ने शर्त राखिएको छ।
चार पार्टीका नेता मन्जुर भए पनि जसपा अध्यक्ष उपेन्द्र यादवले सहमति जनाएका छैनन्। “मधेशमा १२ सीट त जसपा एक्लैले जित्छ,” यादवको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी कार्यदलका एक सदस्यले भने। उनले २० सीटसम्म हुनुुपर्ने दाबी गरेका छन्। जसले गर्दा सीट संख्याबारेको सहमति सार्वजनिक नगरिएको जनाइएको छ।
गठबन्धनका शीर्ष नेताको बैठकले यसलाई आधार बनाएर निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्यको सीट पनि बाँडफाँड गर्न कार्यदललाई निर्देशन दिएको छ। “सीट बाँडफाँडसँगै निर्वाचन क्षेत्र र प्रदेश पनि टुङ्ग्याउँछौं,” कार्यदलका सदस्य कार्कीले भने, “कुन निर्वाचन क्षेत्र कसलाई दिने र प्रदेशमा कति सीट कसलाई दिने भन्ने विषयमा दुई दिन छलफल गर्छौं।”
यसका लागि सोमबार दिउँसो १ बजे कार्यदलको बैठक बस्ने उनले जानकारी दिए। लगातार बैठक बसेर यसको टुङ्गो लगाउने उनको भनाइ छ। “दुई दिन लगातार बैठक बसेर सहमतिलाई पूर्णता दिन्छौं र शीर्षस्थ नेतालाई बुझाउँछौं।”
आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गरेर जाने गठबन्धनबीच यसअघि नै सहमति भइसकेको छ। त्यसका लागि सीट बाँडफाँड लगायत चुनावी तयारीको खाका तयार पार्न कार्यदल बनाइएको छ। कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा रहेको कार्यदलमा पाँचै पार्टीका ११ जना सदस्य छन्।