मन्त्रीलाई नियम पालना गराउँदा सुरक्षा गार्ड प्रहरीको हिरासतमा
संघीय सरकारका मन्त्रीलाई नियम पालना गराउन लगाउँदा एक जना सुरक्षा गार्ड प्रहरीको हिरासतमा पुगेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ भदौ १७ गते मध्याह्न काठमाडौंको ठमेलस्थित छाया सेन्टर पुगे। क्यानाडाको भिसाका लागि बायोमेट्रिक विवरण दिन उनी त्यहाँ पुगेका थिए।
निजी सुरक्षा अधिकृत (पीएसओ) सहित पुगेका मन्त्री श्रेष्ठले लाइन नबसी बायोमेट्रिक दिन खोजेपछि नियमन गर्न बसेका सुरक्षा गार्डसँग विवाद भयो। नियम पालना गराउने तिनै सुरक्षा गार्ड शेरजंग गुरुङ मन्त्रीको निर्देशनमा पक्राउ परेका छन्। घटना भएको तेस्रो दिन आइतबार उनलाई पक्राउ गरिएको हो।
मन्त्रीका पीएसओले ‘उहाँ मन्त्री हो भन्दा उल्टै मन्त्रीसन्त्री चिन्दिनँ, सबैले लाइन बस्नुपर्छ’ भनेपछि विवाद लम्बिएको पर्यटन मन्त्रालय स्रोतले बतायो। मन्त्रीका पीएसओसँग केहीबेर घम्साघम्सी भएको थियो। “म पनि पहिले मन्त्री, प्रधानमन्त्रीको सुरक्षामा बसेको हुँ,” सुरक्षागार्डको भनाइ उद्धृत गर्दै मन्त्रालय स्रोतले भन्यो।
पर्यटन मन्त्रालयले मन्त्रीमाथि दुर्व्यवहार भएको भन्दै आइतबार गृह मन्त्रालयलाई कारबाही गर्न पत्र काटेको थियो। गृहको पत्र प्रहरी प्रधान कार्यालय हुँदै काठमाडौं परिसर पुगेको थियो। परिसरले घटना भएको क्षेत्र हेर्ने दरबारमार्ग वृत्तमा पठाएपछि गुरुङलाई सोही वृत्तले पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
“कसैले कसैलाई दुर्व्यवहार गर्नु हुँदैन,” काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनाली भन्छन्, “मन्त्रीज्यूको टोलीमाथि नै अभद्र व्यवहार भएको उजुरी परेपछि अनुसन्धान भइरहेको छ। कसको गल्ती थियो भन्ने हामी हेर्ने क्रममै छौं।”
सुरक्षा गार्ड गुरुङमाथि अभद्र व्यवहारको कसूरमा मुद्दा चलाउने प्रहरीको तयारी छ। अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल सबै संस्थाको आ-आफ्ना नियम र जिम्मेवारी हुने भएकाले त्यहाँ आउने सबैलाई त्यसको पालना गराउने उनीहरूको दायित्व हुने बताउँछन्। “एकातिर मन्त्री हुँदैमा सबैले चिन्छन् भन्ने छैन,” उनी भन्छन्, “फेरि संस्थाहरूको आफ्नै नियम हुन्छ। अमेरिकी राष्ट्रपति पनि त्यस्ता रुलका कारण लाइनमा बस्नुपरेको उदाहरण छ। वातावरण मिलाउने काम पीएसओको हो।”
घटनाको उठान कसरी भयो भन्नेबाट मात्र को दोषी भन्ने टुङ्गोमा पुग्न सकिने मल्ल बताउँछन्।
सुरक्षागार्ड गुरुङ गरुड सेक्युरिटिज सर्भिसबाट खटिएका सुरक्षागार्ड हुन्। मुलुकी अपराध संहिताको दफा ११८ मा अभद्र व्यवहारको कसूर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा यी दुवै सजाय हुने व्यवस्था छ।
मन्त्रीलाई नियम अनुसार लाइनमा बसाल्न खोज्ने सुरक्षा गार्डलाई नै कारबाही गरेमा प्रहरी आलोचित हुने जोखिम छ। यसअघि कमेडियन अपूर्व क्षितिज सिंहलाई एउटा समुदायको आस्थामा चोट पुग्ने गरी व्यङ्ग्य गरेको आरोपमा पक्राउ गर्दा पनि प्रहरीले अभिव्यक्ति स्वतन्त्रतामा बाधा पुर्याउन खोजेको भन्दै आलोचना भएको थियो। झन् यस घटनामा त मन्त्रीलाई नियम पालना गर्न लगाउँदा उनी पक्राउ परेका छन्।