बालुवाटारमा बालुवा पेलेकापेल्यै छौं, तेल निस्किएको छैन: माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसले अहंकार देखाएकाले सीट बाँडफाँडमा सहमति जुट्न नसकेको बताएका छन्।
विराटनगरमा शनिबार आयोजित पेशागत महासंघको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कांग्रेसले अस्वाभाविक रूपमा सीट दाबी गरेका बताए। “हामीलाई एक सय सीट चाहियो, उब्रिएको तिमीहरू बाँड भनिरहेका छन्,” नेपालले भने, “कांग्रेसमा अहंकार देखिएको छ।”
कांग्रेसले हैसियतभन्दा बढी मागेकाले सहमति जुट्न नसकेको उनको भनाइ छ। “बालुवाटारमा बालुवा पेलेकापेल्यै छौं, त्यो बालुवाबाट तेल निस्किएको छैन,” नेपालले भने। फेरि पनि सहमतिका लागि प्रयास गर्ने उनको भनाइ थियो।
२०७४ सालको निर्वाचनमा कांग्रेसले २३ सीट जितेकाले त्यसको तीन गुणासम्म दिन खोजेको उनले बताए। “२३ को तीन गुणा ६९ सीट, त्यसमा एउटा थपिदिंदा ७० सीट हुन्छ। हामी ७० भन्दै छौं,” अध्यक्ष नेपालले भने, “उनीहरू १०० सीट भन्दै छन्, मिलाउने गाह्रो छ।”
कांग्रेस सहमतिमा नआए एक्लै लड्न तयार हुनुपर्ने उनको भनाइ थियो। त्यसका लागि चुनावी तयारी थाल्न उनले कार्यकर्तालाई निर्देशन दिए।