भारतमा बस दुर्घटना हुँदा चार नेपालीको मृत्यु
भारतको उत्तर प्रदेशस्थित बाराबङ्कीमा आज भएको बस दुर्घटनामा चार जना नेपालीको मृत्यु भएको छ।
नेपालगञ्जको सीमावर्ती बजार रुपैडियाबाट गोवा जान लागेको यूपी ३२ पीटी ३९४४ नम्बरको यात्रुवाहक बसलाई तीव्र गतिमा आएको ट्रकले ठक्कर दिंदा दुर्घटना भएको जनाइएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन्। जसमा १४ जना नेपाली रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
भारतीय प्रहरीका अनुसार, डबलडेकरको बस बारबङ्की नजिकै टायर पञ्चर भएपछि परिवर्तन गर्न लाग्दा तीव्र गतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा बाँकेको राप्तीसोनारी गाउँपालिका बिनौना गाउँका प्रेम थारू, शीतल थारू र दाङ बेतालपुरका चक्रबहादुर वलीको मृत्यु भएको छ। एक मृतकको सनाखत हुन सकेको छैन।
दुर्घटनामा घाइते ६ जनाको अवस्था जटिल रहेको जनाइएको छ। उनीहरूलाई थप उपचारका लखनउस्थित ट्रमा सेन्टर पठाइएको छ।
अन्य आठ जना सामान्य घाइते छन्। उनीहरूको स्थानीय बाराबङ्कीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको भारतीय प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ।