हैजा पनि बढ्दै, काठमाडौंमा ४२ जनामा पुष्टि

काठमाडौं उपत्यकामा केही दिनयता हैजाका बिरामी पनि बढ्दै गएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, आजसम्म ४२ जनामा हैजा पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप तीन जनामा हैजा देखिएको छ।
पछिल्लो समय ताहाचल, त्रिपुरेश्वर, टेकु र ढल्खुमा हैजा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। टेकुका दुई जनामा तथा ताहाचल, त्रिपुरेश्वर र ढल्खुका एक–एक जनामा हैजा देखिएको हो।
पहिलो पटक असार २ गते बागबजारका दुई जनामा हैजा देखिएको थियो। त्यसयता डिल्लीबजार, सानेपा, कपन, बोहराटार, गोकर्णेश्वर, मनहरा, ढल्कु, टेकु, त्रिपुरेश्वर र ताहाचलमा हैजा देखिएको हो।
अहिलेसम्म हैजा देखिएकामध्ये तीन जना पाँच वर्षभन्दा मुनिका बालबालिका छन्। त्यस्तै, ६५ वर्षभन्दा माथिका एक ज्येष्ठ नागरिकमा पनि हैजा देखिएको छ।