मैले गलत गरेको छैन, छानबिन होस्: डा. केसी
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफू विरुद्ध अफवाह फैलाएको जनाउँदै छानबिन गर्न सरकारसँग माग गरेका छन्।
उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उनी निकट मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू विरुद्ध तथ्यहीन आरोप लगाएर अफवाह फैलाएको जनाएका छन्। आफूले कुनै गलत काम नगरेको उल्लेख गर्दै डा. केसीले छानबिनको माग गरेका हुन्।
नेकपा (एमाले)का अध्यक्ष ओली तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पटक पटक डा. केसीलाई चिकित्सा शिक्षाको अध्ययनका लागि विदेशमा नेपाली विद्यार्थी पठाउने कार्यमा संलग्न भएको आरोप लगाउँदै आएका छन्। पछिल्लो पटक मेडिकल व्यवसायी प्रसाईंले टेलिभिजन कार्यक्रममा डा. केसीकै कारण विद्यार्थीले नेपालमा चिकित्सा शिक्षा पढ्न नपाएको बताएका थिए।
उनीहरूका आरोपको खण्डन गर्दै डा. केसीले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन्। उनले ती अफवाहहरूलाई नै उजुरी मानी आफूमाथि छानबिन गर्न आग्रह गरेका हुन्।
“त्यसरी छानबिन गर्दा कुनै पनि प्रमाणबाट त्यस्तो कार्यमा संलग्न रहेको देखिएमा जस्तोसुकै कठोर कानूनी कारबाही बेहोर्न हामी तयार रहेका छौं,” डा. केसीले विज्ञप्तिमा भनेका छन्।