मन्त्रीबाट बिदा भए प्रेम आले र रामकुमारी झाँक्री
![मन्त्रीबाट बिदा भए प्रेम आले र रामकुमारी झाँक्री](https://www.himalkhabar.com/uploads/posts/800X600/ramkumari_prem_ale_1656248142.jpg)
नेकपा (एकीकृत समाजवादी)बाट सरकारमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र शहरी विकास मन्त्री रामकुमारी झाँक्री सरकारबाट बाहिरिएका छन्।
उनीहरू आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयबाट बिदा भएका हुन्। दुवै जनाले आफ्नो पदबाट राजीनामा दिएको बताएका छन्।
मन्त्री आलेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका छन्। उनले दुई दिनअघि नै राजीनामा बुझाएको बताए। पार्टी अध्यक्ष मार्फत नै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिएको आलेको भनाइ छ।
त्यस्तै, शहरी विकास मन्त्री झाँक्रीले प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएकी छन्। आइतबार बेलुकी बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएपछि उनले मन्त्रालयमा पत्रकार सम्मेलन गरेकी थिइन्।
पत्रकार सम्मेलनमा दुवै जनाले आफ्नो कार्यकालमा गरेका कामबारे जानकारी दिएका छन्। झण्डै नौ महीनाको अवधिमा सुधारका थुप्रै काम गरेको उनीहरूको भनाइ छ।
एकीकृत समाजवादीबाट चार जना मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी छन्। उनीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने पार्टीले निर्णय गरेपछि आले र झाँक्रीले राजीनामा दिएका हुन्।