मन्त्री हेरफेरको विरोध गर्ने प्रेम आले सहित ६ सांसदले लिए हस्ताक्षर फिर्ता
नेकपा (एकीकृत समाजवादी)मा मन्त्री फेरबदलका विषयमा असहमति जनाउँदै अध्यक्ष माधवकुमार नेपाललाई पत्र पठाएका ६ सांसदले हस्ताक्षर फिर्ता लिएका छन्।
उनीहरूले शनिबार अध्यक्ष नेपाललाई अर्को पत्र पठाएर हस्ताक्षर फिर्ता लिएको जनाएका छन्। उनीहरूले आज पठाएको पत्रमा भनेका छन्, ‘२०७९ असार ९ गतेका दिन कमरेड अध्यक्ष माधवकुमार नेपाललाई आठ बुँदे माग सहित दलको बैठक समेत बोलाइयोस् भनी पेश गरेको पत्रमा हामी तपशिलका सांसदको समेत हस्ताक्षर रहेकोमा उक्त हस्ताक्षर फिर्ता लिएका छौं।’
हस्ताक्षर फिर्ता लिनेमा सांसदहरू प्रेमबहादुर आले, धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र विनादेवी बुढाथोकी रहेका छन्।
यसअघि असार ९ गते चार मन्त्री सहित १० सांसदले पत्र पठाएर मन्त्री फेरबदलमा असहमति जनाएका थिए। उनीहरूले यस विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाउन पनि माग गरेका थिए।
अब चार जना मात्रै बाँकी रहेका छन्। उनीहरूमा विरोध खतिवडा, रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ र निरा जैरू छन्।