मदन पुरस्कार स्थापनाकालदेखि क्रियाशील रेग्मीको निधन
मदन पुरस्कार गुठी तथा पुस्तकालयको स्थापनाकालदेखि निरन्तर सक्रिय गजेन्द्रनाथ रेग्मीको निधन भएको छ।
विगत तीन महीनादेखि घरमै उपचाररत रेग्मीको जेठ २४ गते निधन भएको गुठीका दीपक अर्यालले जानकारी दिए। अर्यालका अनुसार, रेग्मीले २०१२ सालदेखि मदन पुरस्कार गुठीको प्रशासनिक जिम्मेवारी निभाएका थिए। पुस्तकालयका लागि उनले ६ दशकदेखि पुस्तक, रेकर्डिङ सामग्री लगायत सङ्कलन र संरक्षण गर्न योगदान दिएका थिए।
लेखक तथा पत्रकार कनकमणि दीक्षितले रेग्मीको निधनमा दुःख व्यक्त गर्दै विरह छाएको प्रतिक्रिया जनाएका छन्। उनले ट्वीटरमा लेखेका छन्, “मलाई अक्षर सिकाउने गजेन्द्रनाथ रेग्मी, मदन पुरस्कार र मदन पुरस्कार पुस्तकालयका खम्बा, मेरा पिताजी कमलमणि दीक्षितको दशकौंको सहयोगी 'गजेन्द्रबाजे' को आज देहान्त भयो। विरह छायो।”