आम सञ्चार प्रतिष्ठानमा कृष्णप्रसाद भट्टराईको नाम जोडिएकोमा फोनिजको आपत्ति
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले सरकारले गठन गर्न लागेको आम सञ्चार प्रशिक्षण प्रतिष्ठानमा कृष्णप्रसाद भट्टराईको नाम जोडिएको भन्दै आपत्ति जनाएको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आम सञ्चार क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकासका लागि आम सञ्चार प्रतिष्ठान सञ्चालन गर्ने सरकारको नीति स्वागतयोग्य रहे पनि प्रतिष्ठानको नाममा व्यक्तिको नाम जोड्नु गलत रहेको फोनिजको दाबी छ। सरकारको नीति तथा कार्यक्रममा ‘कृष्णप्रसाद भट्टराई आम सञ्चार प्रशिक्षण प्रतिष्ठान’ सञ्चालनमा ल्याइने उल्लेख छ।
‘प्रतिष्ठान सञ्चालन गर्ने विषय स्वागतयोग्य विषय हो, तर व्यक्तिको नामबाट प्रतिष्ठान सञ्चालन गर्ने कुरा स्वीकार्य हुन सक्दैन‚’ फोनिजको विज्ञप्तिमा उल्लेख छ‚ ‘यदि व्यक्तिकै नामबाट प्रतिष्ठान सञ्चानल गर्ने हो भने नेपाल पत्रकार संघ (हाल महासंघ) का संस्थापक सभापति सत्यनारायणबहादुर श्रेष्ठको नाममा सञ्चालन गरिनुपर्ने फोनिजको धारणा छ।’
नेपाल पत्रकार महासंघको संस्थापक सभापति सत्यनारायणबहादुर श्रेष्ठ रहेको प्रमाणित भइसकेको दाबी गर्दै फोनिजले गलत तथ्यका आधारमा सरकारले कृष्णप्रसाद भट्टराईलाई नै पत्रकार महासंघको संस्थापक अध्यक्षका रूपमा प्रस्तुत गर्न खोज्नु गलत रहेको बताएको छ। निहित राजनीतिक आस्था र विचारका आधारमा कसैको इतिहास नामेट पार्ने सरकारी कदम निन्दनीय र भर्त्सनायोग्य रहेको भन्दै तत्काल उक्त निर्णय सच्याउन नेपाल सरकार र सम्बद्ध पक्षसँग फोनिजले माग गरेको छ।