एमालेले भन्याे- ‘योजनाबद्ध धाँधली’ भयाे, तत्काल रोक्न माग गर्छौं
नेकपा (एमाले) ले स्थानीय निर्वाचनको मतगणना गर्दा निर्वाचन आयोग सत्ता गठबन्धनतर्फ ढल्किएको आरोप लगाएको छ।
आफूहरू विरुद्ध मोर्चाबन्दीले नपुगेर धाँधली भइरहेको उसको दाबी छ। मतदान सम्पन्न भएको तेस्रो दिन जेठ १ गते एमाले महासचिव शंकर पोखरेलद्वारा जारी वक्तव्यमा भनिएको छ, “मोर्चाबन्दीले नपुुगेर धाँधलीमा उत्रेको, ‘योजनाबद्ध धाँधली’ लाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको हुँदा यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गर्दछौं।”
पोखरेलले वक्तव्यमा भनेका छन्, “मतगणना गर्दा सत्ता गठबन्धनलाई फाइदा पुुग्ने गरी उम्मेदवार भएको र नभएको दुई निर्वाचन चिह्नमा मतदान गरेकोमा सो मतपत्रको सम्बन्धित मत बदर हुनुपर्नेमा सदर गर्ने कार्य समेत गरिएको छ।”
मतगणना स्थलमा कानून विपरीत सत्ता गठबन्धन पक्षधर उम्मेदवारको मतलाई सदर गर्ने र एमाले पक्षधर उम्मेदवारको मत बदर गर्ने गरी फरक फरक मानक बनाई पक्षपातपूर्ण व्यवहार गरेको, सोको प्रतिवाद गरी पुनः मतगणनाको निवेदन दिंदा लिन अस्वीकार गरेको, लमजुुङको मध्यनेपाल नगरपालिकाको मतगणना स्थलबाट मतगणना प्रतिनिधिलाई हटाई एकलौटी मतगणना गरिएको विज्ञप्तिमा उल्लेख छ।
निर्वाचन शुरू हुनुुभन्दा अगाडि चुनावलाई प्रभावित गर्न सत्ता गठबन्धनलाई सहयोग हुने गरी गृह प्रशासनद्वारा प्रहरी तथा कर्मचारीहरू खटाएको एमालेको आरोप छ।
मतदानको समयमा पनि आयोगको भूमिका निष्पक्ष हुन नसकेको महासचिव पोखरेलको भनाइ छ। निर्वाचन परिणामलाई सत्ता गठबन्धनको पक्षमा पार्न दोलखाको बैतेश्वर, तामाकोशी, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको सुनकोशी, काभ्रेको पाँचखाल, बाराको पचरौता, अछामका साँफेबगर, पञ्चदेवल विनायक, मंगलसेन, बझाङको छबिसपाथिभेरा, सर्लाहीका धनकौल, बलरा, रामनगर, बागमती, बरहथवा, रौतहटको करुनिया लगायत दर्जनौं स्थानमा बूथ कब्जा गर्ने कार्य भएको विज्ञप्तिमा उल्लेख छ।