एमसीसी राष्ट्रको हितमा छ, भ्रम छर्ने काम नगरौं: प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना एमसीसी राष्ट्रको हितमा भएकाले भ्रम नछर्न आग्रह गरेका छन्।
नुवाकोटको किस्पाङ गाउँपालिकाको नयाँ प्रशासकीय भवनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता अघिल्लो सरकारले संसद्मा दर्ता गरेको प्रस्तावलाई नै अहिले अनुमोदन गरिएको बताए।
“एमसीसीलाई एमालेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री भीम रावलले मन्त्रिपरिषद्को सिफारिशमा संसद्बाट पास गराउन पेस गर्नुभएको हो,” प्रधानमन्त्री देउवाले सांसद रावलप्रति टिप्पणी गर्दै भने, “एमसीसी राष्ट्रघाती भन्दै हिंड्ने उहाँ (रावल) रक्षामन्त्री हुँदा अनुमोदनका लागि संसद्मा लैजान हस्ताक्षर गर्ने अनि अहिले विरोध गर्दै हिंड्नेले त्यो समयमा किन राजीनामा नदिएको?”
सरकारमा हुँदा एमसीसी चाहिन्छ भनेर संसद्बाट पास गर्नुपर्छ भनेर लाग्नेहरू अहिले सत्ताबाट बाहिर हुँदा विरोध गरेर दोहोरो चरित्र देखाइरहेको उनको भनाइ थियो। अब कार्यान्वयनमा केही आशङ्का देखाइएको छ भन्दै प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर नेपालको कानून अनुसार सञ्चालन हुने हुँदा अफवाह फैलाउनेको पछि नलाग्न आग्रह गरे।
“एमसीसी कार्यक्रम अन्तर्गत निर्माण गरिने प्रसारण लाइनबाट बम आउँछ भन्नेदेखि पशुपतिमा समेत अमेरिकी सेना भित्रिन्छ भनेर भ्रम छरेर केही हुन्न,” प्रधानमन्त्री देउवाले भने, “देशको विकासका लागि यसले फाइदा पुग्छ, रोजगारी सिर्जना हुन्छ, प्रतिस्पर्धामा यहींका निर्माण व्यवसायीले नै बनाउने जिम्मा लिन पाउँछन्।”