श्रेष्ठलाई माओवादी फुटाउने सोचमा पुर्याएको दाहालको त्यो अभिव्यक्ति
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेता नारायणकाजी श्रेष्ठलाई निवासमै पुगेर माओवादी नफुटाउन आग्रह गरेका छन्।
ललितपुरको हरिसिद्धिस्थित श्रेष्ठ निवासमा मंगलबार भएको भेटवार्तामा कुनै सहमति भने नजुटेको माओवादी स्रोतले जानकारी दिएको छ। श्रेष्ठ निकट एक नेताका अनुसार, दाहालसँग पुनः एक पटक छलफल गरेपछि मात्रै पार्टी विभाजन हुने/नहुने टुङ्गो लाग्छ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट प्रतिनिधि सभाबाट अनुमोदन गर्ने दाहालको निर्णयमा माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, कृष्णबहादुर महरा, देव गुरुङ र लीलामणि पोखरेलले असहमति जनाएका थिए।
“पाँच दलीय गठबन्धनमा अध्यक्ष क. प्रचण्डले व्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानकारी गराउनुभएको छ। यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ,” दाहालको निर्णयमा असहमति जनाउँदै श्रेष्ठले ट्वीटरमा लेखेका थिए, “आज बिहानको पार्टीको छलफलमा म लगायत केही कमरेडहरूले मतभेद राखिसकेका छौं। यो महाधिवेशनको विरुद्ध छ र गलत छ।”
एमसीसी अनुमोदन भएको भोलिपल्ट सोमबार असन्तुष्ट नेताहरूलाई ‘स्पष्ट’ पार्न भन्दै दाहालले पत्रकार सम्मेलन आयोजना गरे। पत्रकार सम्मेलनमा दाहालले राखेको धारणाकै कारण माओवादी फुटको सँघारमा पुगेको श्रेष्ठ निकट ती नेताको भनाइ छ।
सञ्चारकर्मीको प्रश्नको जवाफमा नारायणकाजी श्रेष्ठ लक्षित दाहालको भनाइः
नारायणकाजीजीलाई केन्द्रीय समितिको बैठकमा तपाईं विचार राख्नुस् भनेको हुँ। सबै एक मत पनि हुनुपर्छ भन्ने पनि छैन, फरक विचारलाई सम्मान गरिन्छ। केन्द्रीय समितिको बैठकमा व्यवस्थित तरीकाले राख्दा त्यसमा पनि केही आपत्ति हुँदैन भनेको हुँ।
मैले पनि अस्तिसम्म एमसीसी हुँदैन भनेकै हुँ। अहिले छ्याङ्ग भएँ। बाहिर नबोल्नुस् भन्ने भएको थियो। तर, उहाँ बाहिर जानुभयो। उहाँलाई लागेछ यो भनेपछि भएभरका कार्यकर्ता मैतिर केन्द्रित हुन्छन्। जनता जति ह्वार्रै मैतिर आउँछन् भन्ने ठान्नुभयो होला। तर, उहाँले त्यसो नगर्नु राम्रो हुन्थ्यो।
विरोध गर्ने बित्तिकै जनता आउने भए त बिचरा प्रेम सुवाल लगातार मूर्दावादका मूर्दावाद भनिरहनुभएको छ। नेपाल पूरै उहाँकै पछि जानुपर्ने!
महाकालीमा राष्ट्रघात भयो भनेर वामदेव गौतमजीले एमाले केन्द्रीय समितिको झण्डै आधा नेताहरू लिएर जानुभयो। तर, भोट आउने वेलामा जिरो। एउटा पनि सीट जित्नुभएन। त्यस कारण कोही पनि ‘सेन्टिमेन्ट’ मा आउनु जरुरी छैन भन्ने मेरो कुरा हो।
कसैले त्यो बाटोमा हिंड्न मन छ भन्छ भने कसले रोक्न सक्छ र? राजनीति त स्वयंसेवी काम हो नि। जबर्जस्ती कसैले कसैलाई बाध्य पार्न हुँदैन।