रूसी आक्रमणले त्रस्त युक्रेन
रुसले सैन्य आक्रमण शुरू गरेपछि युक्रेनको राजधानी किइभका बासिन्दा घर छोडेर मेट्रोस्टेशन तथा भूमिगत स्थलमा आश्रय लिन थालेका छन्।
पश्चिमा राष्ट्रहरूको आग्रहलाई बेवास्ता गदै रसियाले युक्रेनमाथि सैन्य आक्रमण थालेको छ। रसियन राष्ट्रपति भ्लादिमिर पुटिनले एकाबिहानै टेलिभिजन सन्देश मार्फत युक्रेनमाथि हमला शुरू भएको घोषणा गरेका थिए।
राष्ट्रपति पुटिनले आफ्नो देशले युक्रेनमाथि गरेको हमलालाई ‘विशेष सैन्य कारबाही’ को संज्ञा दिंदै यो युक्रेनको नि:शस्त्रीकरणका लागि गरिएको बताएका छन्। उनले पश्चिमा राष्ट्रहरूको निन्दा गर्दै युक्रेनले रसिया विरोधी भावनालाई विस्तार गर्दै आधुनिक हतियार एकत्र गरेकाले हमला गर्नुपरेको जिकिर गरेका छन्। उनको आशय थियो- युक्रेनलाई पश्चिमा राष्ट्रहरूले भड्काएका छन्।
राजधानी किइभमा रुसी आक्रमणमा निस्केको ज्वाला।
“युक्रेनी भूमिबाट रसियालाई आइरहेको निरन्तरको चेतावनी हामी सहन सक्दैनौं,” बीबीसीका मस्कोस्थित संवाददाता स्टिभ रोजेनवर्गले पुटिनलाई उद्धृत गरे। पुटिनले युक्रेनी सेनालाई हतियार बिसाएर घर जान आग्रह पनि गरेका थिए। उनले रक्तपातपूर्ण अवस्था आएमा त्यसको दोषी युक्रेनी नेतृत्व हुने जनाएका थिए।
कुनै तेस्रो शक्तिले हस्तक्षेप गरेमा रसियाले तत्काल प्रतिक्रिया दिने चेतावनी पनि पुटिनले दिएका थिए।
उता, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रसियाले आफ्नो देशमा युद्ध गरे पनि ‘मार्शल ल’ लागू गरेको घोषणा गरेका छन्। सामाजिक सञ्जालमा प्रसारित भिडिओमा राष्ट्रपति जेलेन्स्कीले आफूहरू जस्तोसुकै कदम उठाउन तयार भएको जनाउँदै सर्वसाधारणलाई दुःखी नहुन आग्रह गर्दै आफूहरू विजयी हुने बताएका छन्। नागरिकहरूलाई हवाई आक्रमणबाट बच्न घरमै बस्न पनि उनले आग्रह गरेका छन्।
घाइते सर्वसाधारण।
युक्रेनले अन्तर्राष्ट्रिय समुदायबाट पनि सहयोग पाएको चर्चा गर्दै राष्ट्रपति जेलेन्स्कीले आफूहरूले सैन्य तथा सम्पूर्ण सुरक्षा निकायलाई प्रतिरक्षाका लागि तैनाथ गरेको बताएको बीबीसीले उद्धृत गरेको छ। युक्रेनको राजधानी किइभ लगायत क्रामाटोस र मेरिपलमा पनि विस्फोटको आवाज सुनिएको छ। पहिलो विस्फोट बिहान पाँच बजेको आसपास सुनिएको थियो। त्यस लगत्तै अन्य विस्फोटका आवाज सुनिएका छन्।
टेलिभिजन सम्बोधनका क्रममा राष्ट्रपति पुटिनले युक्रेनमाथि कब्जा गर्ने आफ्नो ‘कुनै योजना नरहेको’ बताएका छन्। आफ्नो टेलिभिजन सन्देशमा राष्ट्रपति पुटिनले युक्रेनको शासन कसले गर्ने भन्ने छनोट गर्ने अधिकार युक्रेनी जनतालाई भएको स्पष्ट पारेका छन्। उनले आफ्नो देशले गरेको आक्रमणलाई ‘आत्मरक्षा’ को कदमका रूपमा खण्डन गरेका छन्।
घर छाडेर मेट्रोलाइनमा सर्वसाधारण। तस्वीर: एएफपी
‘युद्धको जिम्मेदार रूस हो’
अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसले युक्रेनमाथि गरेका हमलालाई ‘औचित्यहीन’ भन्दै सारा विश्वको कामना युक्रेनीहरूको साथमा रहेको बताएका छन्। राष्ट्रपति पटिनले दुर्भाग्यपूर्ण ढङ्गमा मानवीय क्षति र पीडालाई निम्त्याउने योजना रोजेको बताउँदै बाइडेनले रूपमाथि थप नियन्त्रणकारी कदम चालिने र यसका लागि जी–सेभेन राष्ट्रहरूले छलफल गर्ने बताएका छन्।
“यस हमलामा हुने मृत्यु र क्षतिका लागि रूस मात्र जिम्मेवार छ र अमेरिका तथा साझेदार राष्ट्रले यस मामिलामा निर्णायक कदम चाल्नेछ,” बाइडेनले भनेका छन्।
मेट्रोस्टेशनमा आश्रय लिँदै युक्रेनका नागरिक। तस्वीर: रोयटर्स
सैन्य परिचालन रोक : संयुक्त राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले रुसी सेनालाई सैन्य आक्रमणबाट रोक्न पुटिनलाई आग्रह गरेका छन्। महासचिव गुटेरसले जारी गरेको सन्देशमा ‘शान्तिका लागि मौका दिन’ राष्ट्रपति पुटिनलाई आग्रह गरिएको छ।
(बीबीसीको सहयोगमा)