यस्ता छन् माओवादी संसदीय दलका तीन निर्णय
नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने लगायत तीन वटा निर्णय गरेको छ।
संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख सचेतक देव गुरुङले तीन वटा निर्णय भएको बताए। पहिलो, अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसद्मा पेश भएमा विपक्षमा मतदान गर्ने निर्णय भएको छ।
“एमसीसी सम्झौता संशोधन तथा परिमार्जन नगरी अगाडि बढाउन सकिंदैन। सरकारले जबर्जस्ती ल्यायो भने विपक्षमा मतदान गर्ने निर्णय भएको छ,” गुरुङले भने।
त्यस्तै, संसद् सञ्चालनमा सहयोग गर्न प्रमुख प्रतिपक्ष नेकपा (एमाले) लाई आग्रह गर्ने निर्णय गरेको छ। “अहिले एमालेले सदन अवरुद्ध गरिरहेको छ। संसद् सुचारू गर्न एमालेलाई आग्रह गर्ने र त्यसका लागि संवाद अघि बढाउने निर्णय भएको छ,” गुरुङले भने।
यससँगै तेस्रो निर्णयमा एमसीसी सम्झौताका विषयमा राष्ट्रिय सहमति नजुट्दासम्म अगाडि नबढाउने निर्णय गरेको छ। “एमसीसीका विषयमा राष्ट्रिय सहमति जुट्नुपर्छ। कम्तीमा सत्तारूढ गठबन्धनमा रहेका पाँच दलबीच सहमति हुनुपर्छ,” गुरुङले भने, “राष्ट्रिय सहमति वा गठबन्धनमा सहमति नगरी एमसीसी अगाडि बढाउन नहुने निर्णय भएको छ।”
सरकारले जबर्जस्ती एमसीसी सम्झौता अगाडि बढाएमा माओवादी सरकारबाट बाहिरिन सक्ने गुरुङले बताए। “पाँच दलको सहमति विना एमसीसी अगाडि बढ्दैन। गठबन्धनले गरेको निर्णय नै सरकारको निर्णय हुन्छ,” गुरुङले भने, “गठबन्धनको निर्णय विना सरकारले एमसीसीलाई जबर्जस्ती संसद्मा पेश गरेमा शायद सरकारबाट बाहिरिन सक्छौं।”
सरकारले आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौता पेश गर्ने तयारी गरेको छ। त्यसका लागि प्रतिनिधि सभाको कार्यसूची तयार गर्न आज बस्न लागेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा कानून‚ न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसद्मा पेश गर्न प्रस्ताव राख्ने भएका छन्।