एमालेको सचिवालय बैठक बस्दै, स्थानीय चुनावको तयारीबारे छलफल हुने
स्थानीय तहको निर्वाचनको तयारीका विषयमा छलफल गर्न नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन्। आज दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक बस्न लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जनाएका छन्।
निर्वाचन आयोगले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएको छ। त्यस अनुसार सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ। स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी ५ जेठमा सकिंदै छ।
सरकारले स्थानीय तहको चुनावको घोषणा गर्ने भएपछि त्यसको तयारीका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो।
यससँगै सचिवालय बैठकमा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशन लगायत विषयमा पनि छलफल गर्ने कार्यसूची रहेको प्रचार विभाग उपप्रमुख रिजालले जनाएका छन्।