भारतले विद्युतीय मुद्रा जारी गर्ने
भारतीय वित्त मन्त्री निर्मला सितारमणले भारतमा विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने घोषणा गरेकी छन्।
सन् २०२२–२३ को युनियन बजेट प्रस्तुत गर्दै वित्त मन्त्री सितारमणले भारतीय रिजर्भ ब्याङ्क (आरबीआई) ले आगामी वर्ष विद्युतीय मुद्रा ल्याउने घोषणा गरेकी हुन्।
क्रिप्टोकरेन्सीमा ठूलो रकम जोखिमपूर्ण तरीकाले लगानी बढिरहेका वेला भारतले विद्युतीय मुद्रा शुरू गर्ने भएको हो। यो केन्द्रीय ब्याङ्कको नियमनभित्र हुने र यसले डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ। भारतको केन्द्रीय ब्याङ्कले यसअघि नै विद्युतीय मुद्रा शुरू गर्न तयारी गरिसकेको छ।
बिटक्वाइन सहितका क्रिप्टोकरेन्सी केन्द्रीय ब्याङ्कहरूको नियमनभित्र छैनन्। यसको मूल्यको प्रत्याभूति सरकारहरूले गरेका हुँदैनन्।
विश्वभरिका कैयौं केन्द्रीय ब्याङ्कले विद्युतीय मुद्रा परीक्षणका रूपमा अघि बढाएका छन्।