भोलिदेखि अर्को न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्दै, सोमबारसम्म पानी पर्ने
जल तथा मौसम विज्ञान विभागले आगामी सोमबारसम्मै मौसममा सुधार नआउने बताएको छ।
विभागले शुक्रबार दिउँसो विशेष मौसम बुलेटिन जारी गर्दै भोलि शनिबारदेखि नेपालमा अर्को अर्को न्यून चापीय प्रणाली प्रवेश गर्न लागेकाले विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको आकलन गरेको हो।
विभागका अनुसार, पश्चिम नेपालबाट छिर्ने यो न्यून चापीय प्रणालीका कारण शनिबार, आइतबार र सोमबार देशभरिको मौसममा प्रभाव पर्नेछ। यो मौसमी प्रणालीका कारण सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी तीन प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ।
विभागले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च भागमा हल्कादेखि मध्यम हिमपात तथा यी प्रदेशका पहाडी र तराईका भागमा मेघ गर्जन सहित मध्यम स्तरसम्मको वर्षा हुनेछ।
न्यून चापीय प्रणालीका कारण बागमती र प्रदेश १ का उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुने र बागमती, मधेश र प्रदेश १ का पहाडी र तराईका भूभागमा हल्का पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ।
यो न्यून चापीय प्रणाली मंगलबारबाट कमजोर हुँदै जाने र त्यसपछि मात्रै आकाश पूर्ण रूपमा खुल्नेछ।
विभागले सोमबारसम्म अत्यधिक चिसो बढ्ने पनि अनुमान गरेको छ। चिसोबाट बच्न र हिमपातबाट जोगिन सतर्क गराएको छ।