पहिरो खस्दा रुबी भ्यालीमा तीन मजदूर सम्पर्कविहीन
धादिङको रुबी भ्यालीमा पहिरो खस्दा स्काभेटर सहित तीन जना मजदूर हराएका छन्।
रुबीभ्याली गाउँपालिका–१ तिप्लिङको पुरु नजिकै गएराति सडक खन्ने क्रममा पहिरो खसेको हो। पहिरोमा परेर स्काभेटरसँगै तीन जना मजदूर हराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
धादिङबेसी सदरमुकामबाट दुई दिनको पैदल दूरीमा पर्ने तिप्लिङमा सडक निर्माण भइरहेको छ। पहिरोमा स्काभेटर चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय अनिश तामाङ हराएको तिप्लिङका शिक्षक नरबहादुर घलेले बताए।
स्थानीय बासिन्दा र प्रहरीको टोली घटनास्थलतर्फ गएको छ। केही समयपछि विस्तृत जानकारी आउने धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए।