राष्ट्रिय सभा निर्वाचनको परिणाम प्रतिकूल आउन सक्छ: ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाको निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल आउन सक्ने बताएका छन्।
शुक्रबार एमाले जिल्ला अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले राष्ट्रिय सभाको निर्वाचनको परिणामलाई लिएर निराश नहुने नेता तथा कार्यकर्तालाई सचेत गराएका छन्। “राष्ट्रिय सभाको निर्वाचनको परिणाम हाम्रा निम्ति अलि प्रतिकूल आउन सक्छ,” अध्यक्ष ओलीले भने, “किनकि, यो आजको जनमत होइन, यथार्थ जनमत होइन। चार वर्षअघि हामीले पाएको जनमतलाई बिगार्ने, भत्काउने स्थितिबाट आएको जनमत हो।”
राष्ट्रिय सभाका १९ सीटका लागि १२ माघमा निर्वाचन हुँदै छ। एमालेले १९ वटै सीटमा उम्मेदवार बनाएको छ। सत्तारूढ गठबन्धनले मिलेर उम्मेदवारी दिएको छ।
अध्यक्ष ओलीले गठबन्धनले एमालेमाथि गर्ने प्रहार पनि अन्तिम भएको जिकिर गरे। “संसदीय क्षेत्रमा, संसदीय सङ्घर्षको मैदानमा र तीनै तहका निर्वाचनहरूमा नेकपा (एमाले)माथि गर्न सक्ने हानिकारक प्रहार, नोक्सानदायी प्रहारको अन्तिम किस्ता यो हो,” ओलीले थपे, “नेकपा (एमाले) फुटाउने तत्त्वहरूले गरेको प्रहारको अन्तिम किस्ता यो हो।”
यसपछि हुने निर्वाचनमा गठबन्धनले एमालेलाई कुनै असर नगर्ने उनको भनाइ थियो। ओलीले भने, “यसभन्दा पछि जनतामा जाँदा अब उप्रान्त उनीहरूसँग त्यो हैसियत रहँदैन।”
अहिले कमजोर पार्टीहरूले गठबन्धन बनाइरहेको जिकिर गर्दै उनले एमाले एक्लै सक्षम रहेको बताए। “जो जति कमजोर छ, त्यो त्यति बढ्ता चर्को गरी कराइरहेको छ, यो गठबन्धन निर्वाचनसम्मै जानुपर्छ भनेर। जो जति कमजोर छ, उसलाई गठबन्धन त्यति बढ्ता चाहिएको छ,” ओलीले भने, “नेकपा (एमाले)लाई गठबन्धन चाहिएको छैन, एमाले एक्लै चुनौतीहरूको सामना गर्न सक्षम छ।”
अध्यक्ष ओलीले जिल्लामा पनि सकभर सहमतिमा नेतृत्व चयन गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। सहमति हुन नसकेको ठाउँमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिएका छन्।