एमालेका ७७ वटै जिल्ला अधिवेशनको ओलीले एकसाथ उद्घाटन गर्ने
नेकपा (एमाले)का ७७ वटै जिल्ला अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले एकसाथ भर्चुअल माध्यमबाट उद्घाटन गर्ने भएका छन्।
एमालेको राष्ट्रिय महाधिवेशन एक महीनाअघि सम्पन्न भए पनि जिल्ला अधिवेशन भने बाँकी नै थिए। एमालेले ७७ वटै जिल्लामा २३ पुसमा जिल्ला अधिवेशन गर्न लागेको छ।
त्यसको अध्यक्ष ओलीले एकसाथ उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए। केन्द्रीय कार्यालयको ‘एक्सन रुम’ बाट २३ पुस बिहान ११ बजे जिल्ला अधिवेशनको भर्चुअल उद्घाटन गर्ने तय भएको रिमालले जानकारी दिए।
एमालेको १०औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः अध्यक्ष निर्वाचित भएका थिए। सबै जिल्लाबाट महाधिवेशन प्रतिनिधि चयन गरिएको भए पनि जिल्ला अधिवेशन हुन सकेको थिएन।
जिल्ला अधिवेशनपछि एमालेले प्रदेश अधिवेशन गर्ने तयारी गरेको छ।