पाँच दलीय गठबन्धन चुनावसम्म जान्छ: माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्मै जाने बताएका छन्।
दाङको भालुवाङमा शनिबार भएको एकीकृत समाजवादीको लुम्बिनी प्रदेश बृहत् कार्यकर्ता भेलालाई सम्बोधन नेपालले भने, “हामी पाँच दलीय गठबन्धले नै राष्ट्रिय सभामा साझा उम्मेदवार बनाएर जानेछौं। स्थानीय तहदेखि अन्य निर्वाचनमा पनि सँगै जानेछौं।”
कुनै पनि एक दलको एकल बहुमत आउने सम्भावना कम रहेको भन्दै गठबन्धन गर्न आवश्यक रहेको उनको भनाइ थियो। अहिले एकीकृत समाजवादीलाई माओवादीमा विलय हुने भनी आरोप लाग्ने गरेको उल्लेख गर्दै त्यो कुरा सत्य नभएको उनले बताए।
उनले अबको केही समयमा स-साना वामपन्थी पार्टीबीच एकता हुने समेत बताए। “तत्काल कुनै पनि ठूला कम्युनिष्ट पार्टीसँग एकताको सम्भावना छैन,” नेपालले भने, “तर, साना केही दलसँग केही दिनमा एकता भएको सुन्नुहुनेछ, हामीले यही १३ गते काठमाडौँमा विभिन्न साना पार्टीसँग एकताको घोषणा गर्दै छौं।”
उनले एमसीसी हुबहु पारित गर्न नहुने समेत बताए। “हामी कुनै पनि यस्ता कुरालाई स्वीकार गर्न सक्दैनौं, देशको स्वाभिमानमा आँच पुगोस्, जसले नेपालको आन्तरिक मामिलामा अरूले हस्तक्षेप गर्ने ढोको खोलोस्, छिमेकीलाई सशङ्कित बनाओस्, अरूको सैन्य गठबन्धनमा बाँध्ने स्थिति बनोस्,” नेपालले भने, “हामी स्वतन्त्र ढङ्गले बाँच्न चहान्छौं।” उनले निशर्त, सैन्य र सुरक्षाका कुरासँग नजोडिने विषय मात्रै स्वीकार्य हुने समेत बताए।