महेन्द्र पी. लामाको ‘ओ दार्जीलिङ!’ बजारमा
दार्जीलिङका सुपरिचित लेखक एवं प्राध्यापक महेन्द्र पी. लामाले लेखेको पुस्तक ओ दार्जीलिङ! सीमा वारिपारिका परिवेश र मन्थन बजारमा आएको छ।
यो पुस्तक भारतका नेपालीभाषी र उनीहरूले माग गर्दै आएको गोर्खाल्यान्डका मुद्दा लगायत विषयमा केन्द्रित छ। दार्जीलिङले आफ्नो स्वाभिमानका निम्ति सय वर्षदेखि गर्दै आएको सङ्घर्षको झलक यसमा पढ्न पाइने पुस्तकको प्रकाशक किताब पब्लिसर्सले जनाएको छ। सँगैको अर्को राज्य सिक्किमसँग जोडिएका प्रसङ्गहरू पनि पुस्तकमा प्रशस्त आउँछन्।
४३० पृष्ठ लामो पुस्तक ‘पहाडकी रानी’, ‘हाम्रो आवाज र स्वाभिमान’, ‘नेपाललाई नियाल्दा’, ‘चीनतिर चियाउँदा’, ‘कूटनीति र यताउति’ तथा ‘अनुभूति र अवलोकन’ गरी ६ भिन्न खण्डमा विभाजित छ। यो किताब विभिन्न कालखण्डमा लेखिएका र छापिएका यस्ता ४९ वटा फरक–फरक आलेखको सङ्ग्रह हो।
‘ओ दार्जीलिङ!’ का लेखक लामा नयाँ दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयको स्कूल अफ इन्टरनेशनल स्टडीजका वरिष्ठ प्राध्यापक एवं विकास अर्थशास्त्री हुन्।
उनी भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार परिषद् सदस्य, सिक्किम सरकारको प्रमुख आर्थिक सल्लाहकार एवं भारत सरकारका विभिन्न राष्ट्रिय-अन्तर्राष्ट्रिय कमिटीहरूमा प्रतिनिधि रहिसकेका छन्। उनले यसअघि करीब दुई दर्जन पुस्तकको लेखन एवं सम्पादन गरिसकेका छन्।