महिला हिंसा अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले महिला विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानूनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने बताएकी छन्।
महिला विरूद्ध हुने हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले ‘घरैबाट सुरू गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ विभिन्न कार्यक्रम आयोजना गरी सञ्चालन गरिने अभियानको सफलताको कामना गरेकी छन्।
“नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ, परिवर्तित सन्दर्भमा जननिर्वाचित संस्थामा महिलाको उल्लेख्य सहभागिता सहित राजनीतिमा महिलाको सशक्तीकरणले तीव्रता पाएको छ,” सन्देशमा भनिएको छ, “यद्यपि कानूनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, तिलक, छुवाछूत जस्ता महिलाद्वेषी प्रथा, परम्परा र अन्धविश्वासका कारण धेरै महिला दिदीबहिनीहरू अझै पनि हिंसा, विभेद र अपमानजन्य पीडा खप्न बाध्य छन्।”
राष्ट्रपति भण्डारीले समाजमा विद्यमान यस प्रकारका विकृति र विसङ्गति विरुद्ध परिवार र समुदायस्तरमा व्यापक सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएकी छन्। उनले महिलालाई आर्थिक रूपले आत्मनिर्भर बनाउँदै महिला र पुरुषमा भएको असमान शक्ति संरचनामा परिवर्तन ल्याउनुपर्ने बताएकी छन्।
सन्देशमा लैङ्गिक हिंसा विरुद्ध ऐक्यबद्धता सहितको साझा प्रतिबद्धता जनाउँदै समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन सबैमा हार्दिक आह्वान गरेकी छन्। (रासस)