माओवादीको सम्मेलनको तालिका हेरफेर
नेकपा (माओवादी केन्द्र)ले पार्टीका तल्ला निकायको सम्मेलनको तालिका हेरफेर गरेको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मङ्गलबार बिहान बसेको बैठकले प्रदेश, स्थानीय तह, वडा र टोल सम्मेलनको कार्यतालिका हेरफेर गरेको हो। अब टोल सम्मेलन २७ कात्तिकसम्म, वडा सम्मेलन ४ मंसीरसम्म, स्थानीय तहको सम्मेलन ११ मंसीरसम्म र प्रदेश सम्मेलन २५ मंसीरसम्म सम्पन्न गर्ने गरी म्याद थप गरिएको माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
यसअघि टोल सम्मेलन ६ कात्तिकमा, वडा सम्मेलन १३ कात्तिकमा, स्थानीय तहका सम्मेलन ४ मंसीरमा सम्पन्न गर्ने तालिका बनाइएको थियो। तोकिएको समयभित्र सम्बन्धित निकायका सम्मेलन सम्पन्न गर्न समय अभाव भएपछि माओवादीले कार्यतालिका हेरफेर गरेको जनाएको छ।
यस्तै, बैठकले पार्टी सदस्यता नवीकरणको म्याद २७ कात्तिकसम्म थप गरेको छ। यसअघि पार्टी सदस्यता नवीकरणको म्याद असोज मसान्तसम्म तोकिएको थियो।
राष्ट्रिय सम्मेलनको कार्यतालिकामा भने कुनै हेरफेर नभएको महराले बताए। आगामी पुसको दोस्रो साता माओवादीको राष्ट्रिय सम्मेलन तय भएको छ।
बैठकले केही कमिटी र आयोगलाई पूर्णता दिएको छ। बैठकले १४९ सदस्यीय सल्लाहकार समिति र ९९ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ।
यस्तै, बैठकले पेशलकुमार पोखरेलको अध्यक्षतामा २५ सदस्यीय लेखा आयोग, टङ्क राईको अध्यक्षतामा २५ सदस्यीय अनुशासन आयोग गठन गरेको प्रवक्ता महराले जानकारी दिए। माओवादीले यसअघि नै विष्णुपुकार श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय निर्वाचन आयोग गठन गरिसकेको छ।
बैठकले भूगोलभन्दा बाहिर पार्टी काममा संलग्न सदस्यलाई समेटेर १७५ सदस्यीय विशेष कमिटी गठन गर्ने निर्णय समेत गरेको छ। स्थायी कमिटीको अर्को बैठक ४ कात्तिकमा बस्ने उनले बताए।