दोब्बरले बढ्यो च्याङ्ग्राको मूल्य
दशैंको लागि मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको मूल्य गत वर्षभन्दा दोब्बरले बढेको छ।
सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी चौरमा दुई हजार पाँच सय च्याङ्ग्रा र करीब दुई हजार खसीबोका बिक्रीका लागि ल्याइएका छन्। आज बिहानैदेखि च्याङ्ग्रा, खसी र बोका खरीद गर्न ग्राहकको भीड लागेको छ।
जिल्लाका मात्रै नभई काठमाडौं र काभ्रेदेखिका बासिन्दा च्याङ्ग्रा लिन भक्तपुर आएपछि व्यापारीले प्रति किलो जिउँदो च्याङ्ग्रा एक हजार दुई सयमा बिक्री गरेका छन्। आजबाट भने अझै एक सय मूल्य बढ्न सक्ने व्यापारी बताउँछन्।
यो मूल्य गत वर्षको भन्दा दोब्बर हो। यहाँका व्यापारीले गत वर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो ७५० देखि ८०० सम्म बिक्री गरेका थिए।
रामेछापका च्याङ्ग्रा व्यापारी हिमलाल श्रेष्ठ गत वर्षभन्दा यस वर्ष मुस्ताङको घरमै महँगो तिर्नुपरेकाले मूल्य बढेको बताउँछन्। सल्लाघारी चौरमा च्याङ्ग्रा बिक्री गर्दै उनले भने, “चीनबाट मुस्ताङसम्म ल्याइएको च्याङ्ग्रा नेपाली व्यापारीले मुस्ताङबाट खरीद गर्दा च्याङ्ग्रा प्रति गोटा ४० हजार तिर्न परेकाले यस वर्ष च्याङ्ग्रा महँगो भएको हो।”
च्याङ्ग्रा ल्याउँदा मासु जोखेर नभई सानो–ठूलो मिलाएर गोटा गन्तीबाट खरीद गरेर ल्याउनुपरेको बताउँदै उनले सानो र ठूलोको एउटै मूल्य तिरेर ल्याउनुपर्ने र यहाँ किलोमा बिक्री गर्नुपर्दा च्याङ्ग्रा महँगो परेको बताए।
अर्का व्यापारी रमेश खड्काले पनि च्याङ्ग्रा प्रति किलो १२ सयसम्ममा बिक्री गरेको जनाउँदै मुस्ताङमै च्याङ्ग्राको मूल्य बढेको बताए। सानो च्याङ्ग्रा ३६ हजार र ठूलो च्याङ्ग्रा ४० हजारमा व्यापारीले खरीद गरेर ल्याएको बताएका छन्।
च्याङ्ग्राको तयारी मासुको मूल्य भने दुई हजार ६०० छ। सल्लाघारीमा च्याङ्ग्राको तयारी मासु दुई हजार ६०० मा बिक्री गरेको बताउँदै व्यापारी सुमन शाहीले गत वर्ष तयारी एक हजार ७०० मा बिक्री गरेको बताए।
भेडा बिक्री हुन छाडेपछि यस वर्ष व्यापारीले काठमाडौं उपत्यकामै करीब ५० वटा मात्रै ल्याएको र भक्तपुरमा सात वटा मात्रै भेडा ल्याएको जानकारी दिए। भेडा पनि मुस्ताङमै ३५ हजारका दरले ल्याएका व्यापारीले यहाँ भने प्रति किलो एक हजार १०० मा बिक्री मूल्य राखेका छन्।
च्याङ्ग्रा ल्याउँदा यस वर्ष विभिन्न ठाउँमा २५ हजार कर तिरेको र सल्लाघारीमा ठाउँ लिए बापत भक्तपुर नगरपालिकालाई २५ हजार कर तिरेको उनीहरुले बताए। भक्तपुर नगरपालिकालाई कर तिरे पनि नगरपालिकाले एउटा अस्थायी शौचालयसम्मको व्यवस्था नगरेको व्यापारीको गुनासो रहेको छ। च्याङ्ग्रा व्यवसायी राजाराम श्रेष्ठले भक्तपुर नगरपालिकाले एउटा गोठबाट २५ हजार भाडा लिए पनि शौचालयसम्म नदिएको गुनासो गरे।
नगरपालिकाले व्यापारीलाई बत्ती समेत दिएको छैन। शुल्क लिएपछि अस्थायी विद्युत्को व्यवस्था समेत नगरेको भन्दै व्यापारीले कतिपय अँध्यारोमा टुकी बालेर बस्नुपरेको त कतिपयले इमर्जेन्सी लाइट बालेर बस्नुपरेको बताएका छन्।
नगरपालिकाले तयारी मासु बिक्री गर्ने प्रत्येक व्यापारीसँग १० हजारका दरले भाडा लिएको छ। चौरमा १४ वटा तयारी मासु बिक्री गर्ने अस्थायी मासु पसल छन्।
सल्लाघारीमा खसी प्रति किलो ६५७ देखि ७५० सम्ममा बिक्री भएको छ। खसी व्यापारी सिन्धुपाल्चोकका मङ्गल श्रेष्ठले खसीको जात र ठाउँ अनुसार मूल्य फरक परेको बताए। यहाँ २२ किलोदेखि ९० किलोसम्मका खसी आफूले बिक्री गरेको जनाउँदै सरकारले निर्धारण गरेको ६५० मा सबै जातका खसी बिक्री गर्न नसकिएको बताए।
भक्तपुरको हनुमानघाट र ठिमीको कमेरोटारमा राँगो बिक्री भइरहेको छ। त्यस्तै, भेलुखेल, च्यामासिंह लगायत ठाउँमा बोका र खसी बिक्री भइरहेका छन्। हनुमानघाट र कमेरोटारमा एक हजारभन्दा बढी राँगा बिक्रीका लागि राखिएका छन्। रामेछाप, पश्चिमका तराई जिल्लाबाट र भारतबाट ल्याएको राँगा २५ हजारदेखि ८५ हजारसम्म बिक्री भएकोे व्यापारी बताउँछन्। (रासस)