आजबाट ६४ जिल्लामा कांग्रेसको स्थानीय तह अधिवेशन
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा आजदेखि गाउँ र नगर अधिवेशन हुन लागेको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा आजदेखि गाउँ र नगर अधिवेशन शुरू भएको छ। काठमाडौंमा वडा अधिवेशनको अन्तिम मत परिणाम प्राप्त नभएका कारण स्थानीय तहको अधिवेशन १६ असोजका लागि तय गरिएको छ।
काठमाडौंको वडा अधिवेशन ५ असोजमा शुरू भएको थियो। एक महानगरपालिका र १० नगरपालिका रहेको काठमाडौंका सबै नगर र महानगरको वडा अधिवेशनको मत परिणाम प्राप्त नहुँदा आज स्थानीय तहको अधिवेशन आरम्भ गर्न नसकिएको जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यले बताए।
कांग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी १३ जिल्लामा वडा अधिवेशन शुरू हुन सकेको छैन। प्रदेश २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलालीमा क्रियाशील सदस्यता विवरण प्राप्त नहुँदा अधिवेशन प्रक्रिया प्रारम्भ गर्न नसकिएको समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।
कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको शुक्रबार बसेको बैठकले क्रियाशील सदस्यताको बाँकी विवाद चाँडै टुङ्ग्याएर दशैं अघि सबै जिल्लामा स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो। हिमाली जिल्लामा भने मौसमको प्रभावका कारण पूर्व निर्धारित कार्यतालिका अनुसार जिल्लाका सबै अधिवेशन सम्पन्न गर्ने कांग्रेसले निर्णय गरेको छ।
कांग्रेसको वडा अधिवेशन १८ भदौदेखि प्रारम्भ भएको थियो। यस अघि महाधिवेशन अन्तर्गत गाउँ र नगरपालिका अधिवेशन ९ असोजमा, प्रदेश सभा क्षेत्रीय अधिवेशन १२ असोजमा र र प्रतिनिधि सभा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला अधिवेशन १५ असोजमा तोकिएको थियो।
यस्तै, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १८ असोजमा, प्रदेश अधिवेशन १० देखि १२ कात्तिकमा र केन्द्रीय महाधिवेशन ९ देखि १३ मंसीरमा तय गरिएको छ। (रासस)