कार्टूनिस्ट रविन सायमीले विभूषण नलिने
कार्टूनिस्ट रविन सायमीले राष्ट्रपतिले प्रदान गर्ने घोषणा गरिएको विभूषण नलिने जनाएका छन्।
संविधान दिवसको अवसरमा सरकारले उनलाई ‘प्रबल जनसेवा श्री’ बाट विभूषित गर्ने निर्णय गरेको छ। उनले त्यसलाई नलिने जनाएका हुन्।
पञ्चायतकालमा जस्तै विभूषण वितरण गरिएको उनको भनाइ छ। “पञ्चायतकालमा जस्तै आसेपासेलाई विभूषण वितरण गरिएको छ,” सायमीले हिमालखबरसँग भने।
आफूले यस्तो प्रवृतिका विरुद्ध कार्टुन बनाउँदै आएको जनाउँदै उनले विभूषण नलिने निष्कर्षमा पुगेको बताए। “कार्टूनका माध्यमबाट यो प्रवृतिको विरोध गर्दै आएको छु। त्यसैले मलाई दिने घोषणा गरिएको विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु,” सायमीले भने।
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्ने भएकी छन्। नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम सरकारको सिफारिशमा विभूषण प्रदान गर्न लागिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
नेपाल रत्न एक जनालाई, राष्ट्र गौरव दुई जनालाई, महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी पाँच जनालाई, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणी पाँच जनालाई, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी एक जनालाई, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणी २४ जनालाई, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी ३९ जनालाई, सुप्रबल जनसेवाश्री तृतीय श्रेणी १६१ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी आठ जनालाई, प्रबल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी १९० जनालाई प्रदान गरिने राष्ट्रपतिको कार्यालयले जनाएको छ।
त्यस्तै, राष्ट्र यशोवर्द्धक अलङ्कार चार जनालाई, नेपाल सेवा प्रवीण दुई जनालाई, समाजसेवा रत्न २१ जनालाई, नेपाल प्रताप सुभूषण ३४ जनालाई, अतिपौरख भास्कर सात जनालाई, नेपाल प्रताप आभूषण २४ जनालाई, महापौरख भास्कर तीन जनालाई र नेपालप्रताप भूषण १६ जनालाई प्रदान गरिने भएको छ।
राष्ट्रपतिले राष्ट्रसेवा पदक प्रथम श्रेणी तीनजनालाई, सुकीर्ति पदक १० जनालाई, सगरमाथा पदक सात जनालाई, वीरता पदक सात जनालाई, विकासरत्न पदक एकजनालाई र प्राकृतिक प्रकोप पीडितोद्धार पदक नौ जनालाई प्रदान गर्ने भएकी छन्।