पार्टी फुटाएर कसैको भलो हुँदैन : भीम रावल
नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले पार्टी फुटाएर कसैको भलो नहुने बताएका छन्।
प्रतिनिधि सभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएपछि सामाजिक सञ्जाल ट्वीटर मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उपाध्यक्ष रावलले आफू पार्टी एकताको पक्षमा उभिएको बताएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा असहमति जनाउँदै रावलले ३ साउनमा सांसदबाट राजीनामा दिएका थिए। तर, नेता र कार्यकर्ताको दबाब आएको भन्दै ८ साउनमा सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका थिए।
त्यसयता चुपचाप रहेका नेता रावलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिपछि सामाजिक सञ्जाल मार्फत बोलेका हुन्। शनिबार एक कार्यक्रममा बोल्दै दाहालले पाँच दलीय गठबन्धन भत्काउन खोजिएको र त्यसको सिलसिलामा रावल पनि ढलेको बताएका थिए।
त्यसको जवाफ दिँदै रावलले भनेका छन्, ''प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको हुँ, पुष्पकमल दाहाल 'प्रचण्ड'जीले भन्नुभएझैं 'ढलेको' होइन।''
राजीनामा दिनुअघिसम्म एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिँदै आएका रावलले आफू अझै पनि एमाले एकताको पक्षमा रहेको जिकिर गरेका छन्। ''मैले स्वच्छ राजनीति र पार्टी एकताको पक्षपोषण गर्दा त्यसलाई नेताहरूबीच फाटो ल्याउने काम ठान्नु विग्रहकारी चिन्तन हो,'' राजीनामा फिर्ता लिएपछि रावलले भनेका छन्, ''पार्टी फुटाएर देश, जनता र वामपन्थी आन्दोलनले कसैको भलो नहुने स्पष्ट छ।''
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन वरिष्ठ नेता नेपालले निर्देशन दिएको उल्लेख गर्दै त्यसमा पनि असहमति जनाएका छन्। रावलले भनेका छन्, ''एमसीसी, नागरिकता, लिम्पियाधुरा-लिपुलेक-कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रम देउवासँग कुरा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो?''
स्वार्थ मिल्दा पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै अब त्यसमा सामेल नहुने संकेत गरेका छन्। पछिल्लो समय वरिष्ठ नेता नेपाललाई छाडेर अध्यक्ष केपी शर्मा ओली पक्षमा उभिन खोजेको समाचार आइरहेका वेला उपाध्यक्ष रावलले आफ्नो पार्टी फुटाएर गठबन्धनमा सामेल नहुने बताएका छन्।
रावलले भनेका छन्, ''कोही पनि आफ्नो पार्टी फुटाएर अरू कसैको सामु लम्पसार पर्न गठबन्धनमा सामेल भएका होइनन्। साझा स्वार्थ मिल्दासम्म सहयात्रा गर्ने कुरा मात्र हो।''